चिनियाँ राष्ट्रपति बुलेट ट्रेनमा हङकङ

चिनियाँ राष्ट्रपति बुलेट ट्रेनमा हङकङ

हङकङ मातृभूमि चीनमा समाहित भएको २५ वर्षको उपलक्ष्यमा हिजो विशेष समारोहको आयोजना गरियो । विशेष समारोहमा प्रमुख अतिथि चीनका राष्ट्रपति सि जिनपिङ हुनुहुन्थ्यो । बेलायतको औपचारिक ९९ वर्षको अधिनबाट उक्त टापु शान्तिपूर्ण रुपमा सन् १९९७ जुलाई १ का दिन चीनलाई हस्तान्तरण गरिएको थियो ।

कोरोना महामारीपछि चीनको भूभागबाट बाहिर नजानुभएका राष्ट्रपति यस पटक दुई वर्षमा पहिलो पटक मुख्यभूमि छाडेर त्यहाँ पुग्नुभएको हो । उहाँ बेइजिङबाट हङकङसम्म बुलेट ट्रेनमा जानुभएको थियो । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा चिनियाँ केन्द्रीय सैन्य आयोगको अध्यक्षसमेत रहनुभएका उहाँलाई त्यहाँकी प्रमुख कार्यकारी क्यारी लाम र उनका श्रीमानले रेल स्टेशनमा स्वागत गरेका थिए । राष्ट्रपति सि धर्मपत्नी फङ लिउआहसँगै हङकङ पुग्नुभएको हो ।

राष्ट्रपतिलाई हङकङको सडकमा हजारौं स्थानीयले झण्डा र फूलले स्वागत गरेका थिए । त्यसैगरी त्यहाँको प्रहरीले ब्याण्डबाजा बजाएको थियो भने प्रख्यात सिंह नाच देखाइएको थियो ।

हङकङको काउलुन रेल स्टेशनमा ओर्लेदेखि हिजो औपचारिक कार्यक्रममा उपस्थित हुँदासम्म उहाँले एउटै कुरा दोहोर्याउनुभयो, ‘हङकङ र यहाँका जनता मेरो मुटुमा छन् । केन्द्र सरकार पनि हङकङको साथमा छ ।’

बितेको अढाइ दशकमा हङकङ सारा चुनौतिलाई पार लगाउँदै अझ बढी शक्तिशाली भएको उहाँले पटक पटक दोहोर्याउनुभएको छ । विगतमा एक देश,दुई प्रणालीको सिद्धान्तप्रति विश्वका धेरैले अचम्म मानेका थिए । तर आज आएर त्यो आश्चर्य यथार्थमा परिणत भएको सन्दर्भलाई पनि राष्ट्रपतिले धेरै पटक उल्लेख गर्नुभएको छ ।

आज त्यसैको जगमा हङकङको चम्किलो र नयाँ भविष्य देखिएको उहाँको भनाइ छ । यो चीनको राष्ट्रिय एकताको निम्ति एउटा महान उपलब्धि हुने पनि सिले आफ्ना भनाइहरुमा उल्लेख गर्नुभयो । २५ वर्षपछि आयोजित अर्को विशेष समारोहले चीनको मुख्यभूमि मात्र होइन, पूरै विश्वलाई नयाँ सन्देश दिएको छ,‘चीन र हङकङ दुवै पहिलेको तुलनामा समृद्ध र विकसित भएका छन् । यो क्रम आगामी दिन झन् छिटो अघि बढ्ने छ ।’

टिप्पणीहरू