बैंकहरूमा रमिता विविध
देशको राजनीति र व्युरोक्रेसी एकैसाथ भाइ–भतिजामा गएर अड्किएपछि कस्तो रमिता देखिन्छ भन्ने कुरा दुई बैंकलाई हेरे पुग्छ । राष्ट्रिय राजनीतिमा एक जना शीर्ष नेताका भाइ हुन्, अनिल उपाध्याय ।
कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत । सादगी दाजुको जोडबलमा त्यस्तो नियुक्ति पाएका उनले चाहिँ कतिसम्मको काम गरे भने, ‘पानी खाने निहुँले तिम्रो घरमा आउँला’ भनेजस्तो । मित्र भेट्ने निहुँ बनाउन बैंकको शाखा नै उनको घरमा सारिदिए, महंगो भाडा तिरेर ।
उक्त बैंकको पुल्चोक शाखा कुपण्डोलस्थित कानदेउता थानबाट थोरै भित्रतिर थियो– महिनावारी ८० हजार रुपैयाँ भाडामा । अहिले सर्वाङ्ग नरसिंग होमतिरको घरमा सरेको छ । भाडा हो, दुई लाख रुपैयाँ । खासमा त्यो घर अनिलकी मित्रको हो ।
भेट्न गइरहनुपर्ने, मान्छेले सोधखोज गर्लान् भन्ने पनि पीर । त्यहीँ लगेर बैंकको शाखा राखिदिएपछि साथी भेट्न हैन, शाखाको अनुगमन गर्न गएको भन्न पाइने । घरधनीलाई कसैले केही भन्यो भने ‘माथि भन्दिऊँ’ भन्दै थर्काउने गर्छिन् । उक्त बैंकको सञ्चालक समितिका अध्यक्ष डा.बलराम पाठक झलनाथनिकट मानिन्छन् ।
उता, पहिला निश्चित तहसम्मको जागिर खाएको बैंकमा एकपल्ट डाइरेक्टर हुन पाइयोस् भनी आफ्नै दाजुसँग बिन्ती गरेर भाइको हालिमुहाली चलेको छ । राष्ट्रिय बाणिज्य बैंकको सञ्चालक समिति सदस्यमा हालै नियुक्त भएका शम्भुप्रसाद मरासिनी अर्थसचिव मधुका भाइ हुन् । बबरमहलस्थित मध्यमस्तरीय करदाता सेवा कार्यालयमा हाकिम छन् ।
मन्त्रालयको तर्फबाट बाणिज्य बैंकको सञ्चालक बनाइनुपर्ने कोटाका केदारप्रसाद शर्माको कार्यकाल बाँकी नै थियो । तर, पहिला चार–पाँच तहसम्म जागिर खाएको उक्त बैंकमा दाजु अर्थ सचिव भएको मौका पारी एकपल्ट डाइरेक्टर भइखाने उनको रहर पूरा गराउन भएका केदारप्रसादलाई त्यहाँबाट हटाएर नेपाल बैंक लिमिटेडको सञ्चालक बनाइएको गुनासो छ ।
टिप्पणीहरू