बालकोटले भन्यो,‘दिनेश होइन हिजो राति आएको रामप्रसाद हो’

बालकोटले भन्यो,‘दिनेश होइन हिजो राति आएको रामप्रसाद हो’

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा हिजो राति पुगेका निर्वाचन आयोगका पदाधिकारीमा आयुुक्त रामप्रसाद भण्डारी रहेको बालकोट स्रोतले स्पष्ट पारेको छ । हिजो राती ८ देखि १० बजेसम्म बालकोटस्थित अध्यक्ष ओलीको निवासमा बा.२ झ ३२३१ नम्बरको गाडी चढेर पुगेका खाइलाग्दो ज्यानका सरकारी अधिकारी निर्वाचन आयोगका आयुक्त तथा वरिष्ठ अधिवक्ता राम्रप्रसाद भण्डारी भएको ओलीका निजी सचिव राजेश बज्राचार्यले बताए ।

यता,आयोग स्रोतले पनि उक्त नम्बरको सवारी साधन आयुक्त भण्डारीकै भएको पुष्टि गरेको छ । प्रमुख आयुक्त दिनेश थपलियाले भने हिजो साँझ त्यसबेला आफू बृद्ध आमासँग भलाकुसारी गर्दै कपनको घरमै टिभी हेरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘म कसैकोमा जान परे दिउँसो झलमल्ल घाम लागेकै बेलामा जान्छु,राति राति जानु छैन । निर्वाचनको मिति तोकेपछि एक पटक सबै शीर्ष नेताहरुलाई भेट्नुपर्ने चलन छ,त्यो काम अब निर्वाचनको मिति घोषणा गरेपछि हुन्छ ।’

उहाँले आफूले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीलाई नभेटेको झण्डै एक वर्ष भएको पनि जानकारी दिनुभएको छ । गत वर्ष असारमा तत्कालीन सरकारको विकल्पमा वर्तमान सरकार बन्ने ‘एक्सरसाइज’ भइरहँदा प्रधानमन्त्रीको रुपमा उहाँलाई बालुवाटारमा भेटेपछि अहिलेसम्म एमाले अध्यक्षलाई नभेटेको थपलियाको दाबी छ ।

भण्डारीलाई अघिल्लो वर्ष केपी ओली सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको जोडबलमा आयुक्तमा नियुक्त गरेको हो । उनी पनि अघिल्लो सरकारले संवैधानिक निकायमा नियुक्त गरेका ५२ भाइमध्ये पर्छन् । उक्त नियुक्तिलाई लिएर मुद्दा बिचाराधीन छ ।

टिप्पणीहरू