हिजो पनि सिंहदरबार, खुमलटार र बालकोटतिर कुदाकुद

हिजो पनि सिंहदरबार, खुमलटार र बालकोटतिर कुदाकुद

राजनीतिक दलका शीर्ष नेता र मन्त्रीहरुवीच भेटघाटको क्रम ह्वात्तै बढेको छ । भेलाको अवसर पारेर नेतृत्व चयननिम्ति पछिल्ला दिनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास पुग्ने नेता,कार्यकर्ता तथा पाहुना सबैभन्दा धेरै हुने गरेका छन् ।

हिजो खुमलटारमा उहाँलाई भेट्न अर्थमन्त्री जनार्दन शर्मा बिहानै जानुभयो । रुटिन नै जसरी उहाँ बिहानको चिया पिउने समयमा त्यहाँ पुग्नुभएको र अध्यक्षसँग करिब आधा घण्टा कुराकानी गरेर त्यहाँबाट निस्कनुभएको हो ।

अर्थमन्त्री शर्मा अध्यक्ष दाहालको निवासमा सिसिटिभी काण्डदेखि दिन नबिराएर जानेमध्येका एक हुनुहुन्छ । उहाँले बजेट निर्माणको क्रममा असम्बन्धित व्यक्तिलाई मन्त्रालयमा छिराएर करका दर हेरफेर गरेको आरोप लागेपछि अहिले सिसिटिभी फुटेजको माग गरिएको छ ।

तर,सिसिटिभीको रेकर्ड मेटिएको खबर बाहिरिएपछि उहाँविरुद्ध सत्तारुढ गठबन्धन दलका नेता तथा कार्यकर्ता,विपक्षी एमाले र नागरिक समाज चर्कोसङ्ग उभिएका छन् । उता भक्तपुरको बालकोटस्थित ओली निवासमा पनि नेता तथा कार्यकर्ताको नियमित उपस्थिति देखिन्छ ।

हिजो नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नेता आनन्द पोखरेल,शेरबहादुर तामाङले साँझ झण्डै एक घण्टा भेटवार्ता गरेको बताइएको छ । पोखरेल निस्किएपछि अध्यक्ष ओलीसँग भेट्न शेरबहादुर तामाङ र निर्वाचन आयुक्त रामप्रसाद भण्डारी छुट्टाछुट्टै पुगी राति अबेरसम्म छलफल गर्नुभएको थियो ।

यता सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिहान कार्यालय खुल्ने बित्तिक्कै कुराकानी गर्नुभएको थियो भने दिउँसो राजदूत श्रीवास्तवले श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरसँग भेटवार्ता गर्नुभएको थियो ।

हिजै बिहान दूतावासभित्र ड्युटीमा खटिएका एक जना भारतीय सुरक्षाकर्मीले आत्महत्या गरेका थिए ।

टिप्पणीहरू