विश्वविद्यालयका पूर्व निर्देशक क्यासिनोमा, अरुसँग भारतीय नक्कली कार्ड

विश्वविद्यालयका पूर्व निर्देशक क्यासिनोमा, अरुसँग भारतीय नक्कली कार्ड

क्यासिनोमा जुवा खेलेको अवस्थामा विश्वविद्यालयका पूर्व निर्देशकसहित झण्डै दुई दर्जन पक्राउ परेका छन् । मोरङको विराटनगरमा सञ्चालित दुई वटा क्यासिनोबाट २० जना जुवाडेलाई प्रहरीले पक्रेपछि उनीहरुको पहिचान खुलाइएको छ । 

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गएराति विराटनगर बसपार्कस्थित बिग होटलभित्र सञ्चालित च्याम्पियन जोन क्यासिनो र रत्न होटलभित्र सञ्चालनमा रहेको गोल्डेन क्यासिनोमा छापा मारेको थियो । 

त्यसक्रममा च्याम्पियन जोनबाट १४ जना र गोल्डेन क्यासिनोबाट ६ जना जुवाडे पक्राउ परेका हुन् । जसमा रत्न होटलका डाइरेक्टर तथा पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका पूर्वनिर्देशक हरि भट्टराईसमेत समातिएका छन् । 

त्यस्तै, गोल्डेन क्यासिनोका महाप्रबन्धक लोकेन्द्रबहादुर बस्नेत, च्याम्पियन जोड क्यासिनोका व्यवस्थापक रामकृष्ण गौतम र क्यासिनोमा जुवा खेलिरहेका विवेककुमार मण्डल, कृष्ण कुर्मी, राज लामा, रुपेश दाहाल, आदेश विक, महोमद जागिर हुसेन, घनश्याम शर्मा, सुरज राय, सान्तोष बस्नेत, प्रमोद घिमिरे, पवन गोस्वामी, साजन साह, सुरेन्द्रबहादुर चन्दलगायतलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

उनीहरुमाथि जुवा ऐनसम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ । विदेशी पर्यटकलाई मात्रै प्रवेश गराउने अनुमतिमा सञ्चालित विराटनगरका क्यासिनोहरुमा नेपालीहरु पनि निर्वाध रुपमा जुवा खेल्दै आएको गुनासो स्थानीले गर्दै आएका थिए । क्यासिनोमा प्रवेश गर्न कसैले नक्कली भारतीय आधारकार्डसमेत बनाएको पाइएको छ ।

टिप्पणीहरू