सबै श्रेणीहरू

आगलागीबाट डान्स बार भष्म, आधा करोड खरानी

आगलागीबाट डान्स बार भष्म, आधा करोड खरानी

काठमाडौँको दरबारमार्गस्थित ब्ल्याक आउट डान्स बारमा लागेको आगो पूर्णरूपमा नियन्त्रणमा आएको छ । चार वटा दमकलको सहायतामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले करिब २ घण्टापछि आगो नियन्त्रणमा लिएको हो । 

आगलागीबाट मानवीय क्षति नभए पनि ठूलो मात्रामा भौतिक संरचना नष्ट भएको छ । डान्स क्लबको तेस्रो तलामा अचानक विद्युत सट भई आगो लाग्दा अन्दाजी ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

आगो निभाउन काठमाडौँ महानगरपालिकाको २, बालाजुको १, बौद्ध रामहिटीको १ गरी ४ वटा दमकल प्रयोग भएको थियो । सशस्त्र प्रहरी बल नेपाल १८ नम्बर गणका इन्स्पेक्टर रामहरी खडकाको नेतृत्वमा ४५, नेपाल प्रहरीको दरबार मार्ग वृत्तका डिएसपी नारायण डाँगी नेतृत्वमा ३० र डिएसपी चन्दन श्रेष्ठको नेतृत्वमा २० जना नगर प्रहरी खटिएका थिए । 

काठमाडौं महानगरपालिका-१ दरबार मार्गस्थित इन्द्रराज श्रेष्ठको घरमा श्रवणकुमार कुँवरले वुडल्याण्ड होटेलभित्र संचालन गरेको डान्स बार हो यो । यसअघि यहाँबाट प्रहरीले आधा दर्जन युवायुवतीलाई नियन्त्रणमा लिएको थियो । 

उक्त डान्सबारमा ग्राहकमाथि हातपात भएको घटनासमेत सार्वजनिक भएका छन् ।