सबै श्रेणीहरू

ईभी गाडीको ठक्करले भूपू सैनिक ठहरै

ईभी गाडीको ठक्करले भूपू सैनिक ठहरै

सुर्खेतको वीरेन्द्रनगरमा ईभी गाडी र मोटरसाइकल ठोक्किँदा एक भूपू सैनिकको निधन भएको छ । आज बिहान वीरेन्द्रनगर नगरपालिका–११, भाङ्घारीमा भएको दुर्घटनामा पूर्वसैनिक ४२ वर्षीय पदमबहादुर बिसीको मृत्यु भएको हो । 

उनी वीरेन्द्रनगर–३, लाटीकोइलीमा बस्दै आएका थिए । बिहान पौने १० बजे सुर्खेतबाट नेपालगञ्जतर्फ जाँदै गरेको क.प्र.०२००१ ज ०६२३ नम्बरको गाडी र बिसीले चलाएको विपरीत दिशाबाट आउँदै भे.६ प ३३२१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको थियो । 

दुर्घटनापछि टाउको,खुट्टा र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका बिसीलाई तुरुन्तै प्रदेश अस्पताल पुर्याइएकोमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । 

मृतक बिसी अवकाशअघि नेपाली सेनाको रुद्रध्वज गणमा कार्यरत थिए । प्रहरीका अनुसार ईभी गाडी चालक वीरेन्द्रनगर–७, बस्ने ४४ वर्षीय बालकृष्ण रिजाललाई नियन्त्रणमा लिइएको छ । यससम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।