इन्धनका लागि रुससँग श्रीलङ्काको हारगुहार

इन्धनका लागि रुससँग श्रीलङ्काको हारगुहार

लामो समयदेखि आर्थिक सङ्कटमा रहेको श्रीलङ्काले इन्धन आयातको लागि रुससँग आग्रह गरेको छ । इन्धन सञ्चितको चरम अभावले मुलुक अस्तव्यस्त भैरहेका बेला राष्ट्रपति गोटाबाय राजापाक्षेले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सहयोग याचना गरेका हुन् ।

दुई दिनअघि मात्र श्रीलङ्काका ऊर्जा मन्त्रीले देशमा तेल अभाव भएको बताएका थिए । तेल अभावले स्थानीय विद्यालयहरू ठप्प रहेछन् । हिजो सरकारको विरोध गर्दै सयौँ मानिसहरू सडक प्रदर्शनमा निस्किएका थिए ।

राष्ट्रपति राजापाक्षेले रुसी नेतासँग कुराकानी भएको जनाउँदै ट्विटमा भनेका छन् ,‘मैले इन्धन आयात गर्न रुससँग ऋण सहयोगको प्रस्ताव गरेको छु ।’ उनले पुटिनसँग धेरै फलदायी छलफल भएको समेत बताएका छन् ।

गत महिना रुसी ध्वजवाहक एरोफ्लोटले सेवा निलम्बन गरेपछि राष्ट्रपति राजापाक्षेले मस्को र कोलम्बोबीचको उडान पुनः सुचारु गर्नका लागि पनि अनुरोध गरेका थिए । श्रीलङ्का सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि अहिले सबैभन्दा नराम्रो आर्थिक सङ्कटको सामना गरिरहेको छ ।

टिप्पणीहरू