मध्यराति बालकोटमा खुश्बु र रेखाको प्रसंग
मध्यरातको बालकोट, राजेन्द्र लिङ्देनसँग विद्रोह गर्ने राप्रपा नेताहरूको जमघट ! केपी ओलीकी नातिनी खुश्बुदेखि ‘गाउँठाउँकै केटो’ सम्मको चर्चा ! विद्रोही राप्रपाका नेता भन्दै थिए, ‘अध्यक्षलाई रेखा थापा बोकेर देशभरि घुम्न पाए पुग्यो, महामन्त्री धवलसमशेर राणालाई खुश्बु ओली चाहियो !’ अनि, खुश्बुका हजुरबा केपी भन्दै हुनुहुन्थ्यो, ‘त्यो मेरी नातिनी पनि राजा ल्याउँछु भनेर हिँडिछ…!’ राप्रपामा दिलनाथ गिरी, दिलविकास राजभण्डारी, दमन बस्नेतसहितका नेताले लिङ्देनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै साथ छोडेपछि उनीहरू १६ गते बिहीबार राति ९ बजे बालकोट पुगेका थिए । फर्किंदा बिहानको २ बजेको थियो । उक्त भेटमा ओली राप्रपा नेताहरूसँग निकै बेर गफिनुभयो । उहाँले लिङ्देनले चुनावी तालमेलका लागि १५ सीट मागेकोदेखि उनको सीमा वारिपारिको कारोबारसम्म आफूलाई थाहा भएको खुलासा गर्नुभयो । एक राप्रपा नेताले ओलीलाई सुनाए, ‘हामीले एउटा सद्दाम हुसेनलाई ढालेर अर्को सद्दाम हुसेन जन्माउन खोजेका थिएनौँ तर अर्को त जन्मिँदै सद्दाम हुसेन भइदियो ।’
यति कुरा सुनेपछि ओली पनि उनीहरूसँग निकै खुल्नुभयो । भन्नुभयो, ‘०७४ मा कमल थापाले कांग्रेससँग गठबन्धन गरेको । कतै नजित्ने भएपछि बीउ जोगाइदिनुप¥यो भनेर देशभरिमा एउटामात्र सीट चाहियो भन्न आयो र झापाबाट राजेन्द्रलाई मैले जिताइदिएँ ।’ रिसाउँदै अगाडि भन्नुभयो, ‘ऊ मेरै गाउँको भाइ हो । कुमाई बाहुनहरूलाई घुमाएर खाएको छ । यिनको सीमा वारी के हो, सीमा पारी के हो मलाई छर्लंगै थाहा छ ।’ राप्रपासँग हिन्दूवादी र राजाप्रति आस्थावानहरूको मत पाउने हक भएको भन्दै पूर्वराजालाई चाहिनेभन्दा बढी उकास्ने ‘जोगीहरूको’ ओलीले आलोचना गर्नुभयो । ‘जोगी’, अर्थात् भारत, उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथप्रति उहाँको त्यो रिस हो । भन्नुभयो, ‘तिनीहरूले बोल्दैमा केही हुँदैन ।’ तर, ज्ञानेन्द्रबारे कुरा हुँदा उहाँले ‘राजा फर्किने सम्भावना छैन, हिन्दूको भोट आउँछ, राजाको पनि धेरै भोट आउँछ, ती भोट अरुलाई जानुभन्दा राप्रपालाई जाओस्’ नै भन्नुभयो ।
लिङ्देनले पार्टीको अध्यक्ष हुनासाथ कांग्रेस महाधिवेशनमा भृकुटीमण्डप पुगेर ‘नेता भनेका चोर हुन्’ भन्दै भाषण गरेपछि राजनीतिक वृत्तमा लिङ्देनप्रतिको दृष्टिकोण बिग्रिएको राप्रपा नेताहरूको ठहर थियो । ‘सहयोगीहरूलाई बाइपास गर्दै कोही केही होइनन्, बूढाखाडालाई बाइपास गर्छु भन्छ’ लिङ्देनबारे उनीहरूले सुनाए, ‘अहिले खुश्बु ओली गएकी छन् ।’ अनि, ओलीले भन्नुभयो, ‘ए, त्यो मेरी नातिनी पनि राजा ल्याउँछु भनेर हिँडिछ †’ स्मरणीय छ, खुश्बु ०७१ सालमा मारिएका एमालेनिकट गुण्डानाइके चरीकी प्रेमिका हुन् ।
राजेन्द्र लिङ्देनचाहिँ अहिले धवल समशेरबाट धोका भयो भन्नेमा पुगेका छन् । त्यसैले लिङ्देनविरोधी मोर्चा बन्न थालेको हो । लिङ्देनको पार्टीबाट हालै राजनीतिक पृष्ठभूमि नै नभएकी युट्युबर ज्वाला संग्रौलादेखि कराँतेका अन्तर्राष्ट्रिय प्रशिक्षक दमन बस्नेतसम्मले राजीनामा दिएका छन् । ज्वाला सामाजिक संघसंस्था प्रमुख थिइन्, जसलाई भुँईबाट टिपेर ल्याइएको थियो । दमन कमल थापासँग विद्रोह गरेर लिङ्देनलाई जिताउने अभियानका मुख्य सूत्रधार थिए । भनिन्छ, साउनको ५, ६ र ७ गते बस्ने केन्द्रीय समिति बैठकमा विशेष महाधिवेशनको माग गरिँदैछ । त्यसका लागि पशुपतिसमशेर राणा, डा.प्रकाशचन्द्र लोहनी, विक्रम पाण्डेहरू सक्रिय छन् । विद्रोही नेताहरू भन्छन्, ‘यदि माग पूरा नभए पार्टी विभाजन हुँदैछ ।’ लिङ्देनचाहिँ ‘मलाई विश्वभरिका नेपालीले जिताएका हुन्, म समाप्त हुन तयार छु, तर कोहीसँग झुक्दिनँ’ भन्ने गर्दछन् ।
राष्ट्रिय राजनीतिभित्र राप्रपा अहिले जटिल अवस्थामा रहेको ती नेताहरूले ठहर गरेका छन् । एकातिर पाँचदलीय गठबन्धन छ, अर्कातिर एमाले सिंगै छ । दुवैतिर राप्रपाको तालमेल हुने अवस्था छैन । राप्रपाका पनि केही राष्ट्रवादी भोट छन् तर दुवै खेमाले राजेन्द्र लिङ्देनलाई स्वीकार गरेका छैनन् । यो परिस्थिति उनको कार्यशैलीका कारण उत्पन्न भएको बताइन्छ । कारण हो, महाधिवेशन सकिएबित्तिकै चुनाव हारेका मोहन श्रेष्ठदेखि रेखा थापासम्मलाई मनोनीत गर्नु ।
टिप्पणीहरू