पर्यटनमन्त्री श्रेष्ठ पशुपतिनाथमा प्रकट
संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपति क्षेत्रको पूर्वाधार विकास तथा भौतिक संरचना निर्माणसम्बन्धी गुरुयोजनामा सरोकारवाला सवैको अपनत्व हुनुपर्ने बताउनुभएको छ । पशुपति क्षेत्रको निरीक्षण तथा अनुगमनका साथै पशुपति क्षेत्र विकास कोषको ब्रिफिङ लिन हिजो पशुपति क्षेत्र पुग्नुभएका मन्त्री श्रेष्ठले पशुपति विकास सम्बन्धी गुरुयोजना निर्माण अन्तिम चरणमा रहेकाले सबै सरोकारवालाको भावना समेटिने प्रतिबद्धता जनाउनुभएको हो ।
धार्मिक र आध्यात्मिक तीर्थस्थलको रुपमा रहेको पशुपति क्षेत्र विकास कोषमा अनियमितताको सन्देश जानु दुःखद रहेको मन्त्री श्रेष्ठको भनाइ थियो । कोषका कर्मचारीहरुलाई सेवा भावले काम गर्न उहाँले निर्देशनसमेत दिनुभयो ।
कोष सञ्चालक परिषद्का अध्यक्ष रहनुभएका मन्त्री श्रेष्ठले सो क्षेत्रका अतिक्रमित संरचनाहरु हटाउनुपर्नेमा जोड दिनुभएको छ । मन्दिर क्षेत्रको फोहोर व्यवस्थापनमा ध्यान दिन कोषका पदाधिकारीहरुलाई उहाँले कडा निर्देशन दिनुभयो ।
मन्त्री श्रेष्ठले निर्देशनसँगै पशुपतिनाथ मन्दिरमा हिजो पूजाआजा पनि गर्नुभएको छ ।
टिप्पणीहरू