कर्मचारीको कसरी आउँछ काल र कमाल
तीन साताअघि मात्र प्रधानमन्त्री कार्यालय मातहत राजश्व अनुसन्धान विभागको हाकिम फेरिएकोमा अर्काे शक्तिशाली निकाय सम्पत्ति शुद्धिकरणको डिजीलाईसमेत तान्ने गृहकार्य प्रारम्भ भएको छ ।
झण्डै पाँच महिना सामान्य प्रशासनमा रहेका झलकराम अधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हुँदै राजश्व अनुसन्धानतिर खटाइएको छ । आठ महिनासम्म त्यहाँ रहेका प्रकाश पौडेल भने सामान्य प्रशासनको अतिरिक्त समूहमा पुगेका छन् । प्रकाश सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा जाने चाँजोपाँजो मिलाइरहेका छन् ।
निजामती सेवा नियमावलीले भन्छ,कुनै पनि कर्मचारीलाई दुई महिनाभन्दा बढी अतिरिक्त समूहमा राख्न मिल्दैन तर सरकारले नियमविपरीत ५ महिनासम्म बिना काम राखेको छ ।
यसैबीच, प्राविधिक सहसचिव गणेशराज वस्तीलाई चार महिनासम्म भूमिकाबिहिन बनाएर अस्ति शुक्रवार मात्र गण्डकी प्रदेशको भौतिक मन्त्रालयतिर खटाइएको छ । यातायातका हाकिम नमराज घिमिरे वन तथा वातावरण मन्त्रालयतिर हुत्याइँदा अर्थका सहसचिव महेश आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालय बागमती प्रदेशमा पठाइएको छ भने धनीराम शर्मालाई राष्ट्रिय योजना आयोगमा तानिएको छ ।
यस्तै सबैभन्दा छिटो छिटो सरुवा हुने सहसचिवमा पर्दछन्् शिवराम गेलाल । उनलाई राष्ट्रिय दलित आयोगबाट मुख्यमन्त्रीको कार्यालय बाग्मती प्रदेशमा खटाइएको छ । चार महिनामै नेत्र सुवेदी बाग्मतीबाट लुम्बिनी प्रदेशतिर हुत्याइनेमा परेका छन् । अझैं पनि सामान्यको जगेडामा एक दर्जन कर्मचारी छन् ।
अचेल सरुवा, बढुवाको काम र सूची होटलमा बन्ने गरेको सामान्य प्रशासनका अधिकारीहरू बताउँछन् । सहसचिव यामप्रसाद भुसाल, सेवन्तकराज दाहाल, विश्वनाथ अर्यालहरूको दैनिकी अहिले दैनिक मन्त्रालय जाने र हाजिर गरेर फर्कनेमा सीमित छ ।
यता काठमाडौंमा मेयर परिवर्तन भएसँगै सहसचिव विष्णुप्रसाद कोइराला त्यहाँ जान कस्सिएका छन् । काठमाडौंको सिडिओ बन्न फणिन्द्र पोखरेल जुर्मुराएका छन् ।
टिप्पणीहरू