उपेन्द्र र डा. बाबुराम आगामी साता वार कि पारको लाइनमा
अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भटराईबीच ‘हात मिलाएर’ पार्टी फुटाउने सहमति भएको चर्चाबीच सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) मा केन्द्रीय समिति बैठकलाई लिएर विवाद बल्झिएको छ । संस्थापन (उपेन्द्र) र बाबुराम खेमाले एकैदिन अलग–अलग बैठक बोलाएपछि औपचारिक विभाजनतर्फ अघि बढेको जसपामा बैठकको वैधानिकतालाई लिएर विवाद चर्किएको हो ।
जसपाको संस्थापन पक्षले असार २९ र ३० गते वीरगञ्जमा बैठक राखेको छ भने बाबुराम पक्षले सोही दिन काठमाडौँमा बिस्तारित भेला बोलाएको छ । बाबुराम खेमाको भेलालाई अध्यक्ष यादव पक्षले अवैधानिक र अनधिकृत भन्दै सहभागी नहुन केन्द्रीय सदस्यहरुलाई आग्रह गरेको छ ।
जसपाका कार्यालय प्रमुख प्रकाश अधिकारीले आज विज्ञप्ति जारी गरी असार १३ गते बसेको कार्यकारिणी समितिको बैठकले पार्टीको केन्द्रीय समिति बैठक २९ र ३० असारमा वीरगञ्जमा बस्ने निर्णय गरेको जानकारी दिँदै बाबुराम समूहको समानान्तर बैठकले भ्रम फैलाएको भनेका छन् । उनले बाबुराम खेमालाई अराजक समूहको संज्ञासमेत दिएका छन् ।
‘केही अराजक एवं गैरजिम्मेवार व्यक्तिहरुले पार्टीका विधान र निर्णय विपरित अवैधानिक तथा अनधिकृत रुपमा सोही दिन जसपा नेपालको केन्द्रीय समितिको विस्तारित बैठक काठमाडौँमा बस्ने भनि सामाजिक सञ्जाललगायत केही सञ्चारमाध्यमबाट भ्रम फैलाइरहेको बुझिन आएको हुँदा काठमाडौँमा सोही दिन यस प्रकारको कुनै आधिकारिक बैठक नरहेको हुँदा यसै वक्तव्यमार्फत् सबैमा जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ ।
जसपामा दुईपक्षीय विवाद चर्किरहेका बेला केही दिनअघि अध्यक्ष यादव र भट्टराईबीच आपसमा आरोप–प्रत्यारोप नगरी सहमतिमै आ–आफ्नो बाटो लाग्ने समझदारी बनेको चर्चा थियो । त्यसलगत्तै यादवले केन्द्रीय समिति बैठक बोलाएका थिए । आफूहरुसँग सल्लाह नै नगरी एकलौटीरुपमा बैठक बोलाएको आरोप लगाइरहेको भट्टराई खेमाले ‘काउण्टर बैठक’ डाकेको हो ।
भट्टराई समूहको विस्तारित बैठकले जसपामा बस्ने कि अलग हुने विषयको निर्णय गर्ने बताइएको छ ।
टिप्पणीहरू