निजामतीमा भद्रगोल,महिला कामदारलाई विदेश पठाउन अनेक रोल
राजनीतिक अस्थिरतासँगै स्थायी प्रशासनको रुपमा चिनिएको निजामतीमा भद्रगोलको अवस्था देखिएको छ । पछिल्लो समय बढुवा भएका धेरैजसो सहसचिवलाई एउटा बस्ने कुर्सी दिन पनि मुश्किल हुनेगरी सामान्य प्रशासन मन्त्रालयमा हाजिर गराइएको छ । अरुको पनि हालत उस्तै हो ।
सहसचिवहरुलाई सामान्य प्रशासन मन्त्रालयमा डम्पिङ गराएपछि अहिले निजामतीमा जताततै लठिभद्रको अवस्था सिर्जना भएको छ । त्यसरी थुपारिएका सहसचिवको संख्या दुई दर्जनको हाराहारी छ । उपसचिवलाई पनि त्यसै गरिएको छ ।
आफ्नो मान्छेलाई तान्न मन्त्रीले अरुलाई सोझै हटाउने र आवश्यकताअनुसार नाम किटानीका साथ मगाउने गरेको देखिन्छ । सरुवाको सामान्य सिद्धान्तलाई पनि कुल्चिएपछि उनीहरु निराश मुद्रामा देखिन्छन् ।
अहिले सामान्य प्रशासनमा थुपारिएका एक जना सहसचिवले भने, ‘प्रशासनमा हस्तक्षेप चरम छ । यस्तो काम सबै पक्षले गरेका छन् ।’ उनका अनुसार निजामतीमा जतासुकै भ्वाङ परेको छ ।
हालै जिम्मेवारीमुक्त श्रममन्त्री किसान श्रेष्ठले कार्यकालको अन्तिम समयमा अनावश्यक फाइल उठाउन लगाउनुभएको विषयमा पार्टीतिर चर्चा चर्को छ । गलत ढंगले महिला कामदारलाई वैदेशिक रोजगारीमा पठाउने सम्बन्धमा फाइल उठाएर निश्चित म्यानपावरको निम्ति काम गर्न खोजिएको आरोप लागेको हो ।
शुरुमा मन्त्रीको आलोचना भएपछि मन्त्रालयका कर्मचारीले ‘कन्भिन्स’ गराएका थिए । नीतिगत निर्णय गर्नुपर्ने भन्दै कर्मचारीले सम्झाएपछि मन्त्री पदबाट हट्नुअघि उहाँ उक्त निर्णयबाट पछि हट्नुभएको बताइन्छ ।
टिप्पणीहरू