एमाले अध्यक्ष र गभर्नर अधिकारीबीच नाता सम्बन्ध रहेको सांसद महतको दाबी
प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच नाता सम्बन्ध रहेको बताएका छन् । संसद बैठकमा बोल्ने क्रममा मनोरञ्जनात्मक अभिव्यक्ति दिँदै उनले भने, ‘यी दुई जनामा नाता पर्छ कि जस्तो लाग्या थियो, मलाई । नभन्दै यीनी बा र छोरा रहेछन् ।’
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद महतले गभर्नर अधिकारी एमाले अध्यक्ष ओलीको हनुमान भएको पनि आरोप लगाएका छन् । ‘एकजना बार्दलीबाट यो देशलाई श्रीलंका बनाइदिऊँ ? भन्दै थिए । अर्का एकजना ढुकुटीमाथि बसेर म पनि यो देशलाई श्रीलंका बनाइदिऊँ भन्दै छन्,’ सांसद महतले भने ।
गभर्नर अधिकारीलाई सरकारले नियम र कानुनले बाँधेर राख्नुपर्ने महतको भनाइ छ । ‘बार्दलीका हनुमान जस्तो पनि लाग्थ्यो । नभन्दै हनुमान नै रहेछन् । द्वापर युगमा यस्तैले श्रीलंका जलाएका थिए, अहिले पनि श्रीलंका जलिराख्या छ । त्यसैले यता आगो झोस्न नदिन सरकारले बाँधेर राख्नुपर्छ, नत्र नेपाल जलाउँछन्,’ सांसद महतले भने ।
टिप्पणीहरू