चिनियाँ पाहुनालाई चिनियाँकै रात्रिभोज

चिनियाँ पाहुनालाई चिनियाँकै रात्रिभोज

चार दिने औपचारिक भ्रमणका लागि नेपाल आएको चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ नेतृत्वको टोली आज स्वदेश फर्कदैछ । आइतबार काठमाडौँ ओर्लिएलगत्तै उच्चस्तरीय राजनीतिक भेटघाटमा जुटेको पाहुना टोलीले सरकार र प्रमुख राजनीतिक नेतृत्वसहित राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेट गरेको छ ।

आइतबार अपराह्न प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्री डा. नारायण खड्कासँग भेटेको जियान्चाओको टोली साँझ काँग्रेसको रात्रिभोजमा सहभागी भएको थियो । काँग्रेस केन्द्रीय सदस्यको हैसियतमा डा. खड्काले चिनियाँ नेताको सम्मानमा रात्रिभोज आयोजना गर्नुभएको हो ।

चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुलाई नेपालका प्रमुख दुई कम्युनिष्ट पार्टी माओवादी केन्द्र र एमालेले पनि खाना खुवायो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्ति खुमलटारमा चार घण्टा भेटवार्ता गरेर साँझ सोल्टी होटलमा पाहुनाको सम्मानमा रात्रिभोज दिनुभएको थियो । हिजो बिहान आफ्नै निवास बालकोटमा एमाले अध्यक्ष ओलीले लन्च खुवाउनुभयो ।

हिजै अपराह्न एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितको टोलीलाई बानेश्वरको एभरेष्ट होटलमा भेटेको चिनियाँ नेताको सम्मानमा काठमाडौँस्थित चिनियाँ दूतावासले पनि रात्रिभोज आयोजना गरेको थियो । रात्रिभोजमा सहभागी हुन जियान्चाओसहितको टोली साँझ बालुवाटारस्थित दूतावास पुगेको थियो ।

टिप्पणीहरू