म पनि यहाँको ज्यापूजस्तै हुँ : मेयर साह

म पनि यहाँको ज्यापूजस्तै हुँ : मेयर साह

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले आफूलाई पनि काठमाडौँकै रैथानेको रुपमा व्यवहार गर्न आग्रह गर्नुभएको छ । गत स्थानीय तहको निर्वाचनमा यहिँका स्थानीयको अमूल्य मतका कारण विजयी हुन सफल भएकाले आफूलाई परपुरुषको व्यवहार नगर्न उहाँको आग्रह आएको हो ।

आज आयोजित कार्यक्रममा साहले काठमाडौँ महानगरका ६३ वटा टोल गुठीका थकाली र गुरुहरूलाई सम्मान गर्दै उक्त कुरा बताउनुभएको हो ।

ज्यापू संस्कृति विकास कोषद्वारा गुरु पूर्णिमाको उपलक्ष्यमा क्षेत्रपाटीमा आयोजित कार्यक्रममा उहाँले नेवारी परम्पराअनुसारको सगुन,फूलमाला,टीका र टोपी लगाइदिएर अग्रजहरूलाई सम्मान गर्नुभएको हो ।

कोषले साहसहितका जनप्रतिनिधिलाई पनि सम्मान गरेको छ । कार्यक्रममा १९ औँ राष्ट्रिय ज्यापू दिवस र योमरी पुन्हि आयोजना गर्न परम्परागत ग्वफः नायपाचोका अध्यक्ष पञ्चनारायण महर्जनलाई दिवसको तयारीको निम्ति एक लाख रुपैयाँको नगद र जिम्मेवारी हस्तान्तरण गरिएको छ ।

कोषले परम्परागत बाजागाजा संरक्षण र मर्मतको निम्ति ६३ वटै टोललाई जनही १० हजार रुपैयाँको दरले नगद अनुदान दिएको छ ।

टिप्पणीहरू