डोरमणिले हुँदैन भनेको बाटो तीन वर्षभित्र पिच गरिने, काठमाडौं छिर्न नयाँ मार्ग बन्ने

डोरमणिले हुँदैन भनेको बाटो तीन वर्षभित्र पिच गरिने, काठमाडौं छिर्न नयाँ मार्ग बन्ने

बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले बजेट व्यवस्था गर्न नदिएको मकवानपुरको राक्सिराङ गाउँपालिका ४, परेवाभीर सडक खण्ड तीन वर्षमा पिच हुने भएको छ । बागमती प्रदेशका तीन जना मन्त्रीले एकसाथ हिजो परेवाभीर खण्ड पुगी अवलोकन गर्दै उक्त कार्य अघि बढ्ने प्रतिबद्धता जनाएका हुन् ।

स्थानीय सरकार प्रमुख, राजनीतिक पार्टी र पत्रकारसमेतलाई साक्षी राखी मनहरी बजारदेखि धादिङको आदमघाट जोड्ने ५६ किलोमिटर लामो सडक बनाउन लागिएको जानकारी दिइएको हो । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमकट्टेल, भौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाल भँडेल र वन तथा वातावरणमन्त्री विशाल खड्काले उक्त जानकारी दिएका हुन् ।

मन्त्रीहरुले आगामी आर्थिक वर्ष २०७९/८० मा ३४ करोड रुपैयाँ विनियोजन भएको उल्लेख गर्दै धादिङ र मकवानपुर दुबै तर्फबाट सडक निर्माणको काम अघि बढ्ने बताए । ‘परेवाभीर नै फुटाएर बाटो बनाउन खोजिएको हो कि भन्ने भ्रम धेरैलाई छ’, आर्थिक मामिला तथा योजना मन्त्री जमकट्टेलले भने, ‘अहिले राक्सिराङ गाउँपालिकाले गरिरहे झैँ परेवाभीरको भुँईंतहबाटै उठाएर सडक निर्माणलाई निरन्तरता दिनेछौँ ।’

राजनीतिक छिनाझम्टीका कारण मनहरीबाट धादिङ जोड्ने बाटो टुंगिने स्थानहरु गल्छी, मलेखु र आदमघाट भनेर अन्यौल रहेको स्मरण गर्दै भने, ‘अब हामी स्पष्ट भएका छौँ, मनहरीदेखि आदमघाट सडक तीन वर्षभित्र पिच हुने गरी काम अघि बढ्छ ।’ मनहरीदेखि आदमघाट सडक बनिरहँदा परेवाभीरको विकल्प नरहेको र परेवाभीरलाई उतिसारो हाइलाइट गरिरहनु नपर्ने पनि उनले बताए ।

भौतिक पूर्वाधार विकासमन्त्री भँडेलले पनि आफ्नो क्षेत्रको योजना कटौती गरेर मनहरी–आदमघाट सडक खण्डलाई बजेट विनियोजन गरिएको सुनाए । उनले धादिङ, रसुवा, नुवाकोटलाई प्रदेशको राजधानी हेटौँडा जोड्ने उपयुक्त बाटोको रुपमा मनहरी–आदमघाट सडकलाई अघि बढाइएको बताए ।

असार महिनामासमेत मनहरी बजार हुँदै राक्सिराङ गाउँपालिका पुगी मन्त्रीहरुले त्यहिँ भोजन गरेका थिए । त्यसलगत्तै मन्त्रीहरुसहित सांसद ओमबहादुर ग्लान, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष बनस्तम थिङ, वडाध्यक्ष सञ्जय कोइराला, कैलाश गाउँपालिका निवर्तमान अध्यक्ष टंकबहादुर मुक्तानलगायत टोली राक्सिराङ गाउँपालिकाबाट डेढ किलोमिटर उत्तरतर्फ रहेको परेवाभीर खण्डमा पुगेका हुन् ।

प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री पौडेलले परेवारभीर सडक खण्ड निर्माण गर्न नसकिने भनेर निराश बनाएपछि स्थानीय सरकार (राक्सिराङ गाउँपालिका) र संघीय सरकार (निवर्तमान स्वास्थ्यमन्त्री विरोध खतिवडाको अगुगाई) को सशर्त अनुदानमा परेवाभीर खण्डमा सडक निर्माण भइरहेको छ । मनहरीबाट आदमघाट जोड्ने ५६ किलोमिटरको बाटो निर्माण सम्पन्न हुन परेवाभीर खण्डमा मात्रै बाँकी छ । अन्यथा धादिङबाट मनहरी हुँदै हेटौँडा सजिलै यात्रा गर्न सकिने अवस्था छ ।

‘यो बाटो सफल हुँदा धादिङबाट रामनगर आइपुग्दा लाग्ने समयमा परेवाभीर हुँदै मनहरी बजार नै पुग्न सकिने अबस्था छ’, सांसद ओमबहादुर ग्लानले भने, ‘यो बाटो बनिसकेपछि पूर्वका सवारी साधनहरु किन नारायणगढ हुँदै काठमाडौँ जान्छन् र ?, यही बाटो भएर सोझै मलेखु निस्किएर काठमाडौँ पुग्छन् ।’

टिप्पणीहरू