गभर्नरको विरोधमा नेविसंघको प्रदर्शन
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै नेपाल विद्यार्थी संघले पनि आन्दोलन थालेको छ । आज बिहान नेविसंघले माइतीघर मण्डलामा गभर्नरविरुद्ध प्रदर्शन गरेको हो ।
गभर्नर अधिकारी प्रमुख प्रतिपक्ष दल एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको चर्चा भएपछि उनको सर्वत्र आलोचना भइरहँदा दुई दिनदेखि मौन नेविसंघ आजदेखि सडकमा उत्रिएको हो । सत्तारुढ माओवादी केन्द्रका भातृ संगठनहरु अस्तिदेखि नै सडकमा छन् ।
माइतीघरको प्रदर्शनमा नेविसंघका नेता मदन उपाध्यायले राष्ट्र बैंकको गभर्नर कुनै पार्टीको कार्यकर्ता हुनु राष्ट्रकै लज्जाको विषय भएको बताए । ‘राष्ट्र बैंकका गभर्नर कुनै पार्टीको कार्यकर्ता हुन पाउँदैनन् । नेपालको अर्थतन्त्रलाई रेगुलेसन गर्ने संस्थाको प्रमुख पार्टीको झोले भएर हिँड्नु निन्दाजनक हुन्छ,’ उनले भने । उनले गभर्नर अधिकारीको राजीनामा नआए आन्दोलनलाई थप सशक्त बनाइने चेतावनी दिएका छन् ।
प्रदर्शनमा नेविसंघ एनसीसी कलेजका नेता अन्सुल केसी, त्रिविका नेता विष्णु बडैला, श्याम पाण्डे, राज ठकुराठी, टिकेष भट्ट, सदीक्षा आचार्यलगायत छन् । उनीहरूले एक घण्टा धर्ना दिएका हुन् ।
गभर्नर अधिकारी ‘एम अधिकारी’ को नामबाट एमालेको विभागीय जिम्मेवारीमा रहेको भन्दै सडकदेखि संसदसम्म विरोध भैरहेको छ । नेपाल राष्ट्र बैंक ऐनमा कुनै पनि राजनीतिक दलको सदस्य रहेको व्यक्ति बैंकको गभर्नर, डेपुटी गभर्नर, सञ्चालक हुन नपाउने व्यवस्था छ ।
टिप्पणीहरू