श्रीलंकाजस्तै गरौँ न
केही दिन भयो, नेपालका नेताहरू अचानक कराउन थालेका छन्– अब नेपाल पनि श्रीलंकाको बाटोमा जाँदै छ ! नेपाल पनि श्रीलंकाजस्तै हुँदै छ !
नेताहरूले यो कुरा जनता तर्साउनलाई भनेको हो कि खुशी पार्न भनेको हो थाहा छैन । किनभने श्रीलंकामा हालै जे–जस्तो घटना भयो, त्यो देखेर नेपाली जनता त खुशी पो भइरहेका छन् । दुःखी होइन ।
श्रीलंकामा अहिले जे भयो, नेपालमा पनि त्यस्तै भइदिए त गज्जबै हुने हो भनिरहेका छन् । अहिले हामीले समाचारमा देखिहाल्यौं, श्रीलंकाली जनताले राष्ट्रपति भवनमा घुसेर उत्पात मच्चाइरहेका छन् । अनि राष्ट्रपतिचाहिँ बेपत्ता छन् ।
त्यस्तै प्रधानमन्त्रीको घरमा आगो लगाएका छन् । प्रधानमन्त्री पनि भागिसकेका छन् । अहिले राष्ट्रपति कहाँ छ, प्रधानमन्त्री कहाँ छ, कसैलाई थाहा छैन । राष्ट्रपति र प्रधानमन्त्रीको हविगत थाहा भएपछि मन्त्रीहरू पनि भागाभाग छन् । भागेकोले बेस भयो । भेट्टाएको के गर्ने थिए । कति ठाउँमा उच्चस्तरीय कर्मचारीलाई समातेर नांगै पारेका छन् ।
यो देखेर अहिले नेपाली जनता भनिरहेका छन्, नेपालमा पनि गर्नुपर्नेचाहिँ यही हो । यति गरे मात्रै यी नेताहरू सुध्रिनेछन् । होइन भने देश खत्तम । अहिले नेपाल पनि श्रीलंकाजस्तो होला भनिरहेका नेताहरूको आशय त यही होला नि होइन र ?
टिप्पणीहरू