ठमेलमा मत गन्दा गड्बडी ? पुन: गणनाको माग
हिजो राजधानीमा सम्पन्न ठमेल पर्यटन विकास परिषद्को निर्वाचनमा धाँधली भएको आरोप लागेको छ ।
अध्यक्ष पदका उम्मेदवार ध्रुव अधिकारीले मतगणनामा धाँधली भएको उल्लेख गर्दै पुन: मतगणनाको माग गरेका छन् ।
प्रतिस्पर्धी भविश्वर शर्मा र निर्वाचन अधिकृतवीचको साँठगाँठले मतगणना प्रक्रियालाई असर पुर्याएको भन्दै उनले आज निर्वाचन समितिलाई पत्र बुझाएका हुन् ।
बेलुका साढे ८ बजेदेखि शुरु गर्ने भनिएको मतगणनालाई आलटाल पारिएको अधिकारीको जिकिर छ ।
साथै, उनले आफ्नो विपक्षी उम्मेदवार र निर्वाचन अधिकृतलाई समितिको पार्किङ एरियामा शंकास्पद ढंगबाट छलफल गरिरहेको भेटेको दाबी गरेका छन् ।
‘साढे ९ बजे निर्वाचन अधिकृत र मेरा प्रतिस्पर्धी शंकास्पद ढंगबाट निर्वाचन परिसरको पार्किङ एरियाको अन्धकार ठाँउमा भेटघाट गरी मत कार्यलाई असर पार्ने छलफल गरिरहेको अवस्थामा म स्वयमले प्रत्यक्ष भेटेको र यस निर्वाचनको मतगणना कानूनसम्मत नभएकाले पुन मतगणना गराई पाउन अनुरोध गर्दछु’, पत्रमा उल्लेख छ ।

टिप्पणीहरू