गृहमन्त्रीलाई मुख्यमन्त्रीको सुझाव : ठूला दललाई पाखा लगाउने सोच त्यागियोस्

गृहमन्त्रीलाई मुख्यमन्त्रीको सुझाव : ठूला दललाई पाखा लगाउने सोच त्यागियोस्

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले तोकिएको मितिमा निर्वाचन गराउन प्रमुख राजनीतिक दललाई पाखा राख्ने सोच त्याग्न गृहमन्त्रीलाई सुझाव दिएका छन् । प्रदेश राजधानी वीरेन्द्रनगरमा सुरु भएको कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले दलीय सहमति बिना निर्वाचनको वातावरण नबन्ने धारणा राखेका छन् ।

गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यमा आयोजित गोष्ठीमा बोल्दै मुख्यमन्त्री कडेलले सुरक्षाकर्मीमा मनोवैज्ञानिक त्रास कायमै रहेको, भयरहित वातावरणको अभाव, आगजनी र तोडफोडमा संलग्नमाथि प्रभावकारी कारबाही नहुनाले पनि सर्वत्र त्रास रहेको बताए । उनले भने, ‘पूर्वाधारको अभावका कारण निर्वाचन प्रक्रिया थप अन्यौलमा छ । दलीय सहमति र सघन संवादविना निर्वाचन सम्भव छैन ।’

गृहमन्त्री अर्यालले भने आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउनु वर्तमान सरकारको मुख्य कार्यभार रहेको बताएका छन्। तोकिएको मितिमै निर्वाचन सम्पन्न गर्न सरकार गृहकार्यमा जुटेको जानकारी दिँदै मन्त्रीले भने, ‘हाम्रो मूल रणनीति कुनै पनि अवस्थामा द्वन्द्व हुन नदिनु हो । मुलुकको सङ्कटपूर्ण अवस्थालाई सामान्यीकरण गर्दै शान्तिपूर्ण राजनीतिक वातावरणमा स्वच्छ र निर्भय प्रतिस्पर्धाका लागि निर्वाचनको तयारी गरिरहेका छौं।’ 

संसद् विघटनको छ महिनाभित्र निर्वाचन गर्नैपर्ने संवैधानिक दायित्व भएकाले सुरक्षा चुनौतीलाई सुदृढ गर्दै चुनाव सम्पन्न गराउन सरकार तयार रहेको मन्त्रीको भनाइ छ ।

टिप्पणीहरू