कुलमानलाई उचाल्न रातिराति छिर्ने को हो ?

कुलमानलाई उचाल्न रातिराति छिर्ने को हो ?

नपाली राजनीतिमा चाकडीको संस्कार नयाँ होइन । सत्तामा बस्नेहरूलाई रिझाएर काम हात पार्न सकिन्छ भन्ने मनोविज्ञानले समाजमा गहिरोसँग जरा गाडेको छ । राणाकालमा श्री ३  को हवेलीमा पुगेर हात पसार्दै टोपी फुकाली पाउमा राख्नेहरूको लाइन लाग्ने गथ्र्यो । मौसुफ सरकारको जयजयकार गर्दै दरबारमा चाकडीको गीत गाउने चलन शाहवंशीय राजाको पालामा पनि निरन्तर रह्यो । सामन्तवादी संस्कृतिबाट आएको नेपाली समाजमा सत्ताको दलाली गर्ने प्रवृत्ति गणतन्त्रमा पनि उस्तै छ । 

विगतमा प्रधानमन्त्री फेरिनेबित्तिक्कै ‘कोशेली’ बोकेर सिंहदरबार र बालुवाटार परिक्रमा गर्नेहरूको दौडादौड चल्थ्यो । बिचौलिया दिपक भट्टहरूले प्रधानमन्त्रीको ओछ्यानसम्मै पहुँच बनाएका थिए । तर, विडम्बना ! यस्तै कुसंस्कृतिका विरुद्ध उठेको भनिएको जेन आन्दोलनपछि पनि चाकडी प्रथा अन्त्य भएको छैन । प्रधानमन्त्री र मन्त्रीहरू बिचौलियाको घेराबन्दीमा परेको गुनासो जेनजीहरूले नै गरिरहेका छन् । 

यो मामिलामा तीन वटा विकासे मन्त्रालयको नेतृत्व गरिरहेका कुलमान घिसिङ सबैभन्दा अगाडि देखिन्छन् । चुनाव गराउने म्याण्डेटप्राप्त सरकारको महत्वपूर्ण मन्त्री उनी पार्टी खोलेर राजनीतिमा लागेसँगै मन्त्रालयदेखि निवाससम्म भेट्न जानेहरूको ताँती लागिरहेको छ ।  विद्युत प्राधिकरणमा हुँदा कमाएको लोकप्रियताको आडमा ‘उज्यालो नेपाल पार्टी’ गठन गरेका कुलमानको दैलोमा पार्टीका नेतादेखि स्वतन्त्र भनिएका पात्रहरू ‘हात मुसार्दै’ पुग्ने गरेका छन् । जानकारहरूले सुनाएअनुसार यसरी भेट्न जानेहरूले ’अबको प्रधानमन्त्री हजुर नै हो’ भन्दै हौस्याउने गरेका छन् ।  

कुलमानलाई फुक्र्याउन जानेहरूमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे, पूर्व पञ्च प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर, पद्मसुन्दर लावतीका छोरा महेन्द्र, इ–भोटिङ मेसिन बनाउने राम–लक्ष्मण, कृष्ण पाउरोटीका मालिक घनश्याम राजकर्णिकारका सन्तानसम्म छन् । स्रोतका अनुसार राष्ट्रपतिको सल्लाहकारसमेत रहेका कांग्रेस नेता सुनिल पारिवारिक स्रोतबाट कुलमानसँग जोडिएका हुन् । अमेरिकी स्टेट डिपार्टमेन्टमा कार्यरत फुपुका छोरा प्रद्युम्नबिक्रम थापामार्फत उनी कुलमानसँग जोडिएको बताइन्छ । 

ओलीको भान्सामा पुगेर ‘के हामी साथी बन सक्छौँ’ भन्दै भ्लग बनाउने कलाकार रिमा विश्वकर्मा कुलमानकहाँ नियमित देखिने अर्की पात्र हुन् । कुनै समय ‘ओली बा’ को फ्यान बनेर बालकोट धाएकी उनी अहिले उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्य छिन् । उनी कुलमानतिर लाग्नुमा एक दूतावासको भूमिका छ, भनिन्छ । दूतावासले नै उनलाई कुलमानसँग जोडिदिएको दावी गर्नेहरू भन्छन्, ‘रिमा धेरैजसो त्यतै देखिन्छिन् ।’  

स्रोतका अनुसार, केही समयअगाडि कृष्ण पाउरोटीका युवा मालिक युवा तथा खेलकुदमन्त्रीको आशा लिएर कुलमानकहाँ पुगेका थिए । प्रधानमन्त्री सुशीला कार्कीलाई भनेर मन्त्री बनाइदिन आग्रह गर्न पुगेका उनले पनि ‘अबको प्रधानमन्त्री हजुर नै हो’ भनेर फुक्र्याउन भ्याए । नयाँ पार्टीहरुलाई मिलाउन लागिपरेकी सुमना श्रेष्ठदेखि काठमाडौँ महानगरका मेयर बालेन्द्र साहका मान्छेहरू त झन लाइन लाग्ने नै भए ।    

यसरी भेट्न जानेहरूले सुशीला कार्कीले चुनाव गराउन नसक्ने भएकाले कुलमानको पालो आउने विश्वास दिलाउने गर्ने गरेको बताइन्छ । तर,यो सरकार असफल भयो भने मुलुकको राजनीति कहाँ पुग्छ भन्नेतिर चाहिँ फुक्र्याउन जानेहरूले सोचेको देखिंदैन । 

यी र यस्तै पात्र पहिले रविकोमा पनि यसैगरी पुग्थे । र, तपाईं नै हो अबको प्रधानमन्त्री भनेर उकास्थे । ०६४ पछि माओवादी शक्तिमा हुँदा प्रचण्डलाई यसैगरी हौस्याइन्थ्यो । त्यतिबेला बैंकर अनिलकेशरी शाहदेखि अवकाशप्राप्त जर्नेलहरू, कलाकार निर शाह, रेखा थापाहरू प्रचण्ड निवासमा देखिन्थे । आफूलाई प्रचण्डको ‘फ्यान’ भन्दै हजारौँ मान्छे माओवादी बनेका थिए । तर, अहिले न तिनीहरू माओवादीमा छन् न प्रचण्डको शक्ति पहिलाजस्तो छ । रविको हकमा उनी कसरी पछारिए भन्नै परेन ।

नेपालको परराष्ट्र मामिला र राष्ट्रियतासँग जोडिएको एमसीसी पास गर्न कुलमानको भूमिकालाई जोडेर चर्चा हुने गरेको छ । एमसीसी सम्झौतालाई लिएर सिंगो देश दुई खेमामा विभाजित भएका बेला उनैले प्रचण्डलाई सम्झाइबुझाई गरेको चर्चा थियो । अहिले उनी मन्त्री हुनुमा त्यतिखेरको  भूमिकालाई जोडेर पनि कतिपयले विश्लेषण गरेको पाइन्छ । 

टिप्पणीहरू