विश्वविद्यालयमा विद्यार्थी : राजर्षि जनकमा पौने दुई सय, त्रिविमा साढे तीन लाख बढी
नेपालमा पछिल्लो समय विश्वविद्यालय खुल्ने क्रम बढेको छ । आवश्यकता र औचित्यबारे अध्ययन नै नगरी सरकारले विश्वविद्यालय खोल्न इजाजत दिएको आरोप लाग्दै आएको छ ।
त्यहि कारण विश्वविद्यालय बेतिथिको अखडा बन्न पुगेको विज्ञहरुको भनाइ छ । अधिकांश विश्वविद्यालयमा पढाइभन्दा धेरै राजनीतिक क्रियाकलाप हुने गरेकाले शैक्षिक गुणस्तर खस्केको हो ।
हाल सञ्चालनमा रहेका विश्वविद्यालयहरुमा त्रिभुवन, नेपाल संस्कृत, काठमाडौं, पूर्वाञ्चल, पोखरा, लुम्बिनी बौद्ध, कृषि तथा वन, मध्यपश्चिमाञ्चल, सुदूर पश्चिमाञ्चल, राजर्षि जनक र नेपाल खुल्ला विश्वविद्यालय हुन् ।
तीमध्ये त्रिभुवन विश्वविद्यालय मुलुकको सबैभन्दा जेठो शैक्षिक संस्था हो । तर, त्यहाँको अवस्था झन् दयनीय हुँदै गएको छ । उक्त विश्वविद्यालयमा सातै प्रदेशका विद्यार्थी अध्ययनरत छन् । त्रिवि र मातहतका क्याम्पसमा विद्यार्थीको संख्या तीन लाख ८७ हजार ८७० रहेको बताइन्छ ।
त्यस्तै, पोखरा विश्वविद्यालयमा ३२ हजार ५८४ र पूर्वाञ्चलमा ३० हजार ५८४, काठमाडौंमा १८ हजार ६४३ रहेको तथ्याङ्क उपलब्ध गराइएको हो । सुदूर पश्चिमाञ्चलमा १० हजार ९७ र मध्यपश्चिमाञ्चलमा नौ हजार ७५४ विद्यार्थी रहेको शिक्षा मन्त्रालयले जनाएको छ ।
कृषि तथा वन विश्वविद्यालयमा चार हजार ४२८ विद्यार्थी छन् भने नेपाल संस्कृतमा दुई हजार ८२८, नेपाल खुल्लामा एक हजार १६४ र लुम्बिनी बौद्धमा ६९५ विद्यार्थी अध्ययन गर्छन् ।
सबैभन्दा कम विद्यार्थी संख्या राजर्षि जनक विश्वविद्यालयमा छ । यहाँ जम्मा १८६ जना विद्यार्थी छन् ।
टिप्पणीहरू