चौतारी अध्यक्षलाई हटाउन २३ नेत्रीको ओलीसमक्ष निवेदन
दोहोरो अश्लील अडियोका कारण लामो समयपछि अप्ठ्यारोमा पारिएका एमालेनिकट पत्रकार संगठन प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेलाई पदमुक्त गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष लिखित निवेदन दिइएको बुझिएको छ ।
केन्द्रीय कमिटीमा रहेका २३ जनाले हस्ताक्षरसहित ओलीसमक्ष निवेदन दिएका हुन् । साथै उनीहरूले तत्काल बैठक डाक्न पनि संगठनका महासचिव हीरामान लामासमक्ष माग गरेका छन् ।
स्रोतका अनुसार ओलीलाई बुझाइएको अनुरोधपत्रमा उपाध्यक्ष एवं केन्द्रीय महिला विभाग प्रमुख कृपा भण्डारी, बागमती इन्चार्ज प्रतिमा सिलवाल, महिला विभाग उपप्रमुख रेनु पराजुलीलगायत केन्द्रीय कमिटीमा रहेका २३ जनाको हस्ताक्षर छ ।
पाण्डेले फेसबुकमा कहिले एआईको प्रयोग,कहिले मैले बोलेको भनेर स्वीकार गरेको उल्लेख गर्दै निवेदनमा यसले संगठनको गरिमामा आँच पुर्याएको महसुस गरेको उल्लेख गरिएको छ । सामाजिक सञ्जालमा पटकपटक व्यक्त गरेका र पुस ४ मा लेखेका स्टाटसले अध्यक्ष ओली र अन्य नेतालाई समेत मुछेर बदनाम गराइएको उनीहरूको निचोड छ ।
ओलीलाई बुझाइएको निवेदनमा भनिएको छ, 'लज्जास्पद अभिव्यक्तिका विषयमा उठेका आवाजलाई सम्बोधन गरी आत्मालोचना गर्नुको सट्टा संगठनका महिला सदस्यलाई व्यक्तिगत सम्पर्क गरी जिम्मेवारीबाट मुक्त गर्छु, भन्ने जस्ता थप व्यवहार संगठनका अध्यक्षबाट आएकोप्रति हामीलाई थप संवेदनशील बनाएको छ ।'

टिप्पणीहरू