प्रश्नपत्रबारे निष्पक्ष छानबिन नभए आन्दोलनमा जाने विद्यार्थीहरुको चेतावनी

प्रश्नपत्रबारे निष्पक्ष छानबिन नभए आन्दोलनमा जाने विद्यार्थीहरुको चेतावनी

त्रिभुवन विश्वविद्यालयले विगत र यो वर्ष लिएको परीक्षामा प्रश्नपत्र दोहोरिएपछि निष्पक्ष छानबिन गर्न सात विद्यार्थी संगठनले माग गरेको छ । अर्थशास्त्र र व्यवस्थापन संकायको प्रश्नपत्र हुबहु मिलेपछि संगठनले सत्यतथ्य बाहिर ल्याउन माग गरेको हो ।

आज संयुक्त विज्ञप्ति जारी गर्दै संगठनले उक्त कार्यमा त्रिभुवन विश्वविद्यालयको चरम लापरवाही भएको उल्लेख गरेको छ । अवकाश प्राप्त प्राध्यापकको नेतृत्वमा उच्चस्तरीय छानबिन कमिटी गठन गरी सत्यतथ्य बाहिर ल्याउन जोड दिइएको छ ।

उनीहरुले भनेका छन्, ‘विश्वविद्यालयका साझा मुद्दालाई त्रिवि प्रशासनले सरोकारवाला सबै पक्षसँग छलफल गरी उचित निकास निकाल्न पहल गरोस् अन्यथा संयुक्त विद्यार्थी संगठन कडा आन्दोलनमा जान बाध्य हुने छौं ।’

विज्ञप्ति जारी गर्नेमा नेपाल विद्यार्थी संगठन (नेविसंघ) का अध्यक्ष दुजाङ शेर्पा, अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंह, समाजवादी विद्यार्थी यूनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाही, अखिल छैठौंका अध्यक्ष देवेन्द्र कुँवर, अखिल नेपाल विद्यार्थी यूनियनका संयोजक मनिष भट्टराई हुन् ।यसअघि व्यवस्थापन संकायको प्रश्नपत्र निजी कलेजको प्रश्नपत्रसँग हुबहु मिलेपछि विद्यार्थीहरुले विरोध जनाएका थिए । त्रिविमा भएको बेतिथिको विरोधमा नेकपा एकीकृत समाजवादी अनेरास्ववियूका विद्यार्थी नेताहरु छ दिनदेखि आमरण अनशनमा छन् ।

टिप्पणीहरू