एमाले उपमहासचिवको गभर्नर, दीपक भट्ट र जनार्दन शर्माबारे निचोड
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कालो धनलाई सेतो बनाउन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि सत्ता पक्षबाटै बारम्बार हमला भएकोे बताउनुभएको छ ।
आज राजधानीमा पार्टीको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘कालो धनलाई सेतो बनाउन गभर्नर अधिकारीमाथि बारम्बार लाञ्छना लगाइएको छ । पछिल्लो लाञ्छना पनि बहाना मात्रै हो ।’
ज्ञवालीले राज्य डरलाग्दो रुपमा बिचौलियाहरुको नियन्त्रणमा गएको दाबी गर्नुभएको छ । उहाँले सरकारले खरिद गर्न लागेको हतियारसम्बन्धी विषयमा सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा सुनिएका वाक्य र बिचौलियाको दुस्साहसबाट अहिलेको गठबन्धनको असली स्वरुप देखिएको उल्लेख गर्नुभयो ।
उहाँले नाम उल्लेख नगरे पनि बिचौलिया दीपक भट्टको भिडियोको सन्दर्भलाई जोडेर उक्त धारणा राख्नुभएको हो ।
एक अर्को प्रसंगमा उहाँले चालु आर्थिक वर्ष २०७९-०८० को बजेट तर्जुमाको क्रममा पूर्वअर्थमन्त्री जनार्दन शर्माले असम्बन्धित व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करका दर हेरफेर गरेको र सिसिटिभी रेकर्ड मेटाएको विषयमा गहिराइमा पुगेर सत्यतथ्य छानिबन गर्ने प्रतिबद्धता जनानुभएको छ । ज्ञवालीले भन्नुभयो, ‘घटनालाई तोडमोड गर्न कुनै हालतमा दिँदैनौं ।’
ज्ञवाली शर्मामाथि छानबिन गर्न बनेको विशेष समितिको सदस्य हुनुहुन्छ ।
टिप्पणीहरू