अर्थमन्त्री, आइजिपी र सुधनबीच के भयो सल्लाह ?
आफूलाई जेनजी नेता दाबी गर्ने ‘हामी नेपाल’ नामक एनजिओका संस्थापक सुधन गुरुङ्गलाई पछिल्लो समय प्रधानमन्त्री, मन्त्री र सरकारी कर्मचारीसँग भेटेर भ्याइनभ्याइ छ । विभिन्न डेलिगेशन लिएर उनी कहिले सिंहदरबार धाइरहेका हुन्छन् ।
गत मङ्गलबार बालेनका भित्री सल्लाहकार कुमार बेनको साथ लागेर प्रधानमन्त्री सुशीला कार्कीसँग भेटेका उनी अर्थमन्त्री रामेश्वर खनाललाई भेट्न २४ गते बिहिबार दिउँसो अर्थ मन्त्रालय पुगेका थिए । पौने ३ बजे त्यहाँ पुगेका उनले आफूसँगै बडिमालिकाको डेलिगेशन लगेका थिए । अर्थमन्त्री खनालसँग राउण्ड टेबल मिटिङ्ग गरिरहँदा आइजिपी दानबहादुर कार्की मन्त्रालय पुगे । स्रोतका अनुसार कार्कीले राशन भत्ताको कुरा उठाए । सबैभन्दा बढी खटिने प्रहरीलाई सशस्त्रको जति पनि राशन भत्ता नदिएको भन्दै उनले असन्तुष्टि पोखेको स्रोत बताउँछ ।
‘अर्थमन्त्री र सुधनले ल्याएको डेलिगेशनबीच कुराकानी भइरहेको थियो । त्यतिबेलै आइजिपी साहेब आइपुग्नुभयो । उहाँले भोको पेटले कसरी चुनाव गराउने ? भन्दै अर्थमन्त्रीसामुन्ने असन्तुष्टि जाहेर गर्नुभएको थियो’, स्रोतले भन्यो । दरबन्दी हेरफेरले बढुवा अड्किएको भन्दै उनले त्यसलाई पनि छिटो पार लगाइदिन आग्रह गरेको स्रोतको जिकिर छ ।
स्रोत भन्छ, ‘उहाँले दरबन्दी हेरफेर र गाडीको प्रसंग पनि निकाल्नुभएको थियो ।’ त्यसपछि सुधनले ‘मैले उहिलेदेखि भनेको, अझै राशन भत्ता बढेको छैन ?’ भन्दै क्रेडिट लिन खोजेको स्रोतले बतायो । १० मीनेटमा आफ्नो कुरा सकाएर आइजिपी निस्किएकोमा सुधन भने त्यहीँ थिए ।
उनी आधा घण्टा कुराकानी गरेर मन्त्रालयबाट बाहिरिएको स्रोतको भनाइ छ ।
(जनआस्था साप्ताहिकको पुस २ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू