स्वेच्छादारी आतंक बन्द गरियोस् : कर्मचारी संगठन

स्वेच्छादारी आतंक बन्द गरियोस् : कर्मचारी संगठन

एकीकृत सरकारी कर्मचारी संगठन, नेपालले कर्मचारी निकाल्ने र पुनः अर्को भर्ना गर्ने स्वेच्छादारी आतंक बन्द गर्न माग गरेको छ ।

स्थानीय सरकारले धमाधम अस्थायी, करार र ज्यालादारी कर्मचारीलाई काममा नआउन निर्देशन दिएपछि संगठनले पेशागत आन्दोलनमाथि प्रहार गर्ने खालका स्वेच्छादारी आतंक तत्काल बन्द गर्न भनेको हो ।

संगठनले विज्ञप्ति जारी गर्दै स्थानीय तहले गरेको निर्णय र गतिविधिप्रति ध्यानाकर्षण भएको जनाएको छ । कार्यालय नआउन कार्यालय प्रमुखबाट भएको ठाडो आदेश र कार्यालयहरुमा भएका अप्रिय घटनाप्रति संगठनले दुःख व्यक्त गरेको हो ।

त्यस्तै, करार सेवा निर्देशिकाविरुद्धका कार्यबाट कानूनी शासनको गम्भीर उल्लंघन भएको संगठनको ठहर छ ।

कुनै पनि रोजगार व्यक्तिसँग पूरै परिवार आश्रित रहेको उल्लेख गर्दै संगठनले कर्मचारीहरुको गाँस, बास र कपास नखोस्न सरकारसँग अपिल गरेको छ । साथै, वार्ता, संवाद र छलफलका माध्यमबाट समस्याको समाधान खोज्न सुझाइएको छ ।

२०७५ भदौ १२ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अस्थायी तथा सेवा करारतर्फका जनशक्ति व्यवस्थापन गर्न सबै स्थानीय तहलाई परिपत्र गरेको थियो । तर, हालै निर्वाचित जनप्रतिनिधिहरुले करारका कर्मचारीलाई काममा नआउन निर्देशन दिएपछि उनीहरु अप्ठेरोमा परेका हुन् ।

टिप्पणीहरू