‘अहिलेको सरकारमा कुनै दम छैन’

गुप्तचर निकायको सूचनालाई आधार मान्ने हो भने गत भदौ २३ गतेको जेन जी प्रदर्शन र २४ गतेको विध्वंशपछि मुलुकमा ४० भन्दा बढी फरक फरक जेन जी समूह गठन भएका छन् । तीमध्ये अधिकांश समूह क्षणिक खालका एजेण्डा लिएर सरकारसँग हिमचिम बढाइरहेका छन् ।

यो भीडमा ‘रेड फोर्स’ नामक जेन जी समूह अरुभन्दा फरक र दीर्घकालिन योजनासहित कम्युनिष्ट विचारलाई आत्मसात् गर्दै अघि बढेको देखिन्छ । सोही संगठनकी संयोजक स्मृति तिमिल्सनाले जनआस्थासँगको कुराकानीमा आस्थाको पार्टी, संगठन स्थापना, आगामी योजना र चुनावबारे खुलेर आफ्नो धारणा राखेकी छन् । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः

भदौ २३ गतेको प्रदर्शनमा कहाँ हुनुहुन्थ्यो ?

म बानेश्वरमै थिएँ । प्रदर्शनको कारण गाडीहरुलाई कोटेश्वरमै रोकेर डाइभर्ट गरिएको थियो । कोटेश्वरबाट हिँड्दै नयाँ बानेश्वरसम्म पुग्दा बिहानको ११ जति बजेको थियो । त्यतिबेलासम्म ८ हजारभन्दा बढी युवाहरु जम्मा भइसकेका थिए ।

तत्कालीन सरकारविरुद्ध युवाहरु सडकमा आउनुको मुख्य कारण के थियो ?

कारण धेरै छन् । भूराजनीति प्रभावबारे छुट्टै चर्चा गर्न सकिन्छ । तर तत्कालीन वस्तुगत कारण भने केपी शर्मा ओली नेतृत्वको सरकार नै हो । त्यतिबेला सरकारले समाजिक सञ्जाल बन्द गरेपछि युवाहरु फ्रस्टेड थिए । त्यहिबेला एमालेका एक प्रदेशस्तरका नेताले गोदावारीमा सानी बालिकालाई ठक्कर दिएर भागे । यसले आगोमा घिउ थप्ने काम गर्यो ।

घटनापछि सबै नेताहरु गुप्तवासमा रहेको बेला तपाईंले जेनजी रेड फोर्स घोषणा गर्नुभयो, त्यसको पृष्ठभूमि के थियो ?

म सानैदेखि राजनीतिमा चासो राख्दै आएको व्यक्ति हुँ । समसामायिक घटनाक्रममाथि आफ्नो टिप्पणी भिडियो बनाएर फेसबुकमा राख्थे। जेन जी विद्रोहपछि एक दिन साँझ मैले सामान्य तरिकाले पोस्ट गरेको थिएँ । बिहान उठेर हेर्दा व्यापक भइसकेछ । धेरै साथीहरुले सम्पर्क गरेर म पनि तपाईको अभियानमा जोडिन चाहन्छु भन्नुभयो । युवा साथीहरुको साथ र ऊर्जाले जेनजी रेड फोर्स जन्मियो ।

त्यतिबेला पार्टीका नेताहरु र द्वन्द्व पीडितहरुले पनि फोन गरेका थिए ?

पार्टीका नेता भन्नाले तत्कालीन माओवादी केन्द्रका बागमती प्रदेश सभा सदस्य सरल सहयात्रीले फोन गर्नुभएको थियो । उहाँले फोनमा ‘अहिले अवस्थामा निकै राम्रो साहस गयौँ, म पनि तिमिहरुकै साथमा छु’ भनेपछि मनोबल बढ्यो । त्यसपछि विस्तारै मिडियामा देखिएपछि सुप्रिमो (प्रचण्ड) र अरु नेताहरुले पनि फोन गर्नुभयो ।

माओवादी विचारधारालाई प्राथमिकतामा राखेर रेड फोर्स गठन भएको र विस्तार गरेको भन्नुहुन्छ, तर तपाईंकै सुप्रिमोले त माओवाद त्यागिसक्नुभयो नि ?

यसमा के छ भने तत्कालीन माओवादी र एकीकृत समाजवादीसहितका दल मिलेर नेपाली कम्युनिष्ट बन्दैमा हामीले माओवाद त्यागेको अर्थ लगाउनु हुँदैन । हामी पनि विस्तारै नेकपाको एउटा भातृ संगठनको रुपमा परिणत बनौँला, तर माओवाद विचारधारा त्याग्दैनौँ ।

नेकपाले आधिकारिक रुपमै रेड फोर्सलाई भ्रातृ संगठन घोषणा गर्न लागेको हो ?

यसबारे छलफल भइरहेको छ । हामीले सुप्रिमो र सहसंयोजक माधव नेपाल कमरेडसँग पनि भेट गर्यौ । पार्टीले अपनत्व लिने कुरा भएको छ । अहिलेसम्म हामी नेकपाको शुभचिन्तक संगठन मात्रै थियौ । तर अब चाँडै पार्टीको आधिकारिक भ्रातृ संगठन बन्छौ होला । माधव कमरेडको सल्लाह लिएर संगठन विस्तारका रणनीतिहरु बनाएका छौँ । एमाले अहिले पनि किन बलियो पार्टी छ भन्दा माधव कमरेड जस्ता व्यक्तिहरुको योगदानले यहाँसम्म आएको रहेछ । उहाँको संगठन विस्तार गर्ने तरिकाहरु निकै स्मार्ट छन् ।

स्मार्ट तरिका के के रहेछन् ?

उहाँ निकै भलाद्मी हुनुहुन्छ । हामीसँगको भेटमा शालिन रुपमा संगठन विस्तार गर्ने तरिकाहरु सिकाउनुभयो । केही समयअघि मैले पनि उहाँको बारेमा केही टिप्पणी गरेको थिएँ । तर भेटेपछि उहाँको शैली मन पर्यो ।

मिठो बोल्ने त नेताहरुको बानी नै हो भनिन्छ नि त ?

त्यस्तो होइन । नेताहरु जनतासँग पो मिठो बोल्लान्, कार्यकर्तालाई त वास्तविकता थाहा भइहाल्छ नि ।

प्रचण्ड र माधवलाई भेटेपछि कस्तो महशुस गर्नुभयो ?

उहाँहरु दुवै जना सोझो हुनुहुँदो रहेछ । त्यसैले पनि होला, केपी ओलीले एकएक पटक घुमाए ।

नेकपा नै आस्थाको पार्टी किन ?

यो प्रश्न धेरै आएका छन्, तर उत्तर पहिलोपल्ट यहीँबाट दिन चाहन्छु । हामीले प्रचण्डलाई मात्रै हेरेर नेकपाको संगठन बन्न लागेका हैनौँ । हामीले उठाएको एजेण्डा नेकपाले पनि उठाएको छ । हामीले पनि कसैलाई अभिभावक त मान्नुपथ्र्यो नै । हाम्रो एजेण्डा पहिले नै प्रचण्डले उठाइसकेको कारण विचारले एकताबद्ध भएका हौँ । हामीलाई अन्य दलबाट प्रस्ताव नआएको पनि होइन, हामी सुदन गुरुङजस्तो संविधान च्यात्ने कि राख्ने दुविधा पाल्न पनि चाहन्नौँ । त्यसकारण हामीलाई सबैभन्दा बढी सुरक्षित अभिभावकत्व कसले दिनसक्छ त भन्दा नेकपाले दिनसक्छ भनेर अघि बढेका हौँ ।

हालै सरकार र विभिन्न जेनजी बीच १० बुँदे सम्झौता भयो । मस्यौदा तयारीमा तपाईंको समूह सहभागी भयो कि भएन ?

हामी भएनौँ । प्रधानमन्त्रीज्यूबाट बोलावट भएको हो, तर हामी गएनौँ । किनकि, हामीलाई थाहा छ कि सुशीला कार्की नेतृत्वको सरकारसँग कुनै दम नै छैन । यो शक्तिहीन सरकार हो । सम्झौताका कुनै पनि एजेण्डा यो सरकारले पूरा गर्न सक्दैन भन्ने हाम्रो निष्कर्ष छ ।

के कारण यो सरकारले जेनजीको माग सम्बोधन गर्न सक्दैन ?

हामीलाई राम्ररी थाहा छ नि । सरकार मात्रै जेन जी र सुशीलाको भएर हुन्छ ? न्यायालय र ब्युरोक्रेसीमा अहिले पनि कांग्रेस र एमालेको कब्जामा छन् । सबै दलका मान्छे छन् । अहिलेका प्रधानन्यायाधीश नै हेर्ने हो भने उहाँ कांग्रेसको प्रखर कार्यकर्ता हो । सबै ठाउँ दलहरुकै दबदबा छ भन्ने थाहा हुँदाहुँदै, जेनजीको माग पूरा हुँदैन भन्ने थाहा हुँदाहुँदै पनि हामी किन जानु र । यो लेखेर राख्नुस्, आगामी निर्वाचनपछि पनि प्रधानमन्त्री बन्ने यी दुई पार्टीमध्येबाटै हो ।

त्यसो भए, आगामी निर्वाचनमा सबैभन्दा ठूलो पार्टी कुन बन्ला त ?

तथ्य र वास्तविकतालाई केलाउने हो भने नेपाली कांग्रेस नै पहिलो पार्टी बन्छ । किनकि यो सबैभन्दा पुरानो पार्टी हो । अलिकति मत तलमाथि भए पनि खासै फरक हुँदैन । एमालेको संगठन पनि बलियो छ । जति विरोध गरे पनि ओली तेस्रो पटक कसरी अध्यक्ष चयन भए, हामीले देखिसकेका छौँ । प्रचण्डको पार्टी पनि लामो जनयुद्धपछि स्थापित भएको पार्टी हो, संगठन बलियो नै छ । त्यसकारण यी तीन पार्टीले पाउने मतमा खासै फरक हुँदैन । दुई चार मत तलमाथि हुनु स्वाभाविक हो ।

जेन जीका कतिपय समूह त फेरि चुनावको बहिष्कारमा उत्रिएको देखिन्छ, के उनीहरु गलत दिशामा गएका हुन् त ?

तपाईंले मिराज ढुंगानाहरुको समूह भन्नुभएको होला । उहाँहरु अहिले गलत दिशामा हुनुहुन्छ । भदौ २३ गते मिराज स्वयम् सडकमा थिएनन् । घटना भइसकेपछि जब उनी देखिए, तब दलहरुमाथि घृणाभाव फैलाउन थाले । यो मुलुकमा दलप्रति आस्था नराख्ने नागरिक को हुन्छ भन्या ? र, बाँकी रह्यो चुनाव बहिष्कारको कुरा । चुनाव त जसरी पनि हुनुपर्छ । बरु मिराजजीहरुको समूहले घाइते र पीडित परिवारलाई प्रयोग गरेर नयाँ स्टन्ट देखाउन खोजिरहनुभएको छ ।

कस्तो स्टण्ट ?

सुरुका दिनमा सहकार्यको लागि हाम्रो समूहसँग पनि कुराकानी भएको थियो । तर उहाँहरुले हामीसँग यति घाइते र पीडित परिवारको साथ छ, समर्थन छ भनेर हाम्रो वैचारिक एकताको प्रयासलाई रुचाउनुभएन । घाइतेको संख्या देखाएर सरकारसँग बार्गेनिङ गर्ने काम गरिरहनुभएको छ । पीडितलाई तासको पत्ता जस्तै बनाउनुभएको छ । अहिले सहकार्य नगरेर राम्रै भएछ भन्ने भएको छ । उहाँको समूहभन्दा हाम्रो संगठनमा युवा आकर्षण बढी देखिएको छ ।

अरु जेन जी समूहभन्दा रेड फोर्स किन फरक ?

तपाईंलाई एउटा घटना सम्झाउँछु । कुनैबेला बालेनभन्दा रवि लामिछाने लोकप्रिय थिए । २१ सिटसहित संसद छिरेका रविलाई त दुई दलले घुमाइघुमाइ जेल हाले । भोलि फेरि यी दलकै सरकार बन्यो भने अहिलेका जेनजीलाई बाँकी छाड्लान् ? छानी छानी मुद्दा चलाउनेवाला छन् । तर यसो भन्दै गर्दा हामी मात्रै अलग छौँ भनेका हैनौँ । जेनजी आफैंमा अपरिपक्व पुस्ता हो । यो पुस्तालाई दिशा निर्देश र अभिभावकत्व त चाहिन्छ नै । देउवा दम्पत्तिलाई लखेटी लखेटी कुटिएको छ, भोलि उनीहरु सरकारमा गए भने कुटपिट गर्ने ती युवाहरु बाँकी रहलान् त ? खोजी खोजी निकाल्छन् ।

रेड फोर्समा अहिलेसम्म कति युवा जोडिए ?

अहिलेसम्म २५ हजारभन्दा बढी युवाहरु संगठित भइसक्नुभएको छ । यो तीन महिनाभित्रको कुरा हो । गण्डकीका केही जिल्लामा संगठन विस्तार गर्न बाँकी छ । अन्य प्रदेशका सबै जिल्लामा कार्यसमिति गठन भइसकेको छ । हामी त निकै उत्साहित छौ । अब लेवी उठाएर भए पनि संगठनको गतिविधिलाई तिव्रता दिने तयारी गरिरहेका छौँ । र भन्नैपर्ने के छ भने, हामीले अरु समूहजस्तो आवेग वा कुनै घटना केन्द्रीत भएर संगठन बनाएका हैनौ । हामी एउटा विचारधाराबाट प्रभावित र निर्देशित भएर संगठित भएका हौँ । क्षणिक एजेण्डाले कहिल्यै संगठनको लामो यात्रा तय गर्दैन ।

पुस तेस्रो साता पाँच हजार जेनजी युवा राजधानीमा उतार्ने तयारी गरिहनुभएको छ, यो शक्ति प्रदर्शन मात्रै हो कि कुनै उद्देश्य पनि छ ?

हाम्रो मुख्य उद्देश्य भनेको सरकारलाई खबरदारी गर्ने हो । भदौ २३ गते बानेश्वरमा ढलेका युवाहरुको रगत सुकिसक्यो, तर सरकारले अझैसम्म घाइते र सहिद परिवारलाई पर्याप्य सम्बोधन गर्न सकेको छैन । सुशासन र माग सम्बोधनको दबाब दिन खबरदारी सभा गर्न लागेका हौँ ।

अन्त्यमा, केही पात्रको नाम लिन्छु । एक शब्दमा भन्नुहोला । रवि लामिछाने ?

उहाँलाई विचरा भन्न चाहन्छु ।

बालेन साह ?

साहस गर्नसक्ने एक युवा ।

सुदन गुरुङ ?

इडियट ।

केपी ओली ?

चतुर खेलाडी ।

शेरबहादुर देउवा

इन्नोसेन्ट

अनि, प्रचण्ड ?

सुप्रिम कमाण्डर ।

टिप्पणीहरू