‘दिनमा १९ घण्टा काम गर्ने ओली नै जननेता’

‘दिनमा १९ घण्टा काम गर्ने ओली नै जननेता’

नेकपा (एमाले)को जारी ११औँ राष्ट्रिय महाधिवेशनमा मनोनीत युवा प्रतिनिधि हुन्, डा. सुजन कडारिया । अनेरास्ववियुका पूर्व अध्यक्षसमेत रहेका कडारिया भदौ २४ गते देशभर हिंसा फैलिएको बेला फेसबुकमार्फत् राजीनामा घोषणा गरेपछि विवादमा परेका थिए। हाल पार्टी अध्यक्ष केपी शर्मा ओलीको चाहनामा महाधिवेशन प्रतिनिधि बनेका उनले जनआस्थासँगको कुराकानीमा अखिल अध्यक्षबाट राजीनामा, जेन जी आन्दोलन, ओली नेतृत्व र भावी पार्टी राजनीतिबारे आफ्ना धारणा राखेका छन् । प्रस्तुत छ अन्तर्वार्ताको सम्पादित अंशः

  • तपाईँमाथि युवापंक्तिमा अनावश्यक ‘शो अप’ गर्ने गरेको आरोप छ । बा. ९१ प ८८ नम्बरको डुकाटी मोटरसाइकल तपाईंकै हो ?

म बाइक एडभेन्चर मन पराउने मान्छे हुँ, तर त्यो बाइक मेरो होइन। एक जना भाइको बाइक लिएर काम विशेषले रातो घर गएको थिएँ, कसैले भिडियो बनाएछ। मैले कहिल्यै ‘शो अप’ गरेको छैन। राजनीतिक जीवन रोजिसकेपछि सादगी नै राम्रो जीवनशैली हो भन्नेमा म दृढ छु।

  • भदौ २४ गते देशभर हिंसा भइरहँदा अखिलको अध्यक्षबाट किन राजीनामा दिनुभयो ?

सामाजिक र भौतिक परिस्थितिले मानिसको चेतना निर्धारण गर्छ। भदौ २३ गते विद्यार्थीहरू ढलेपछि मैले जिम्मेवारीबोध गर्दै नैतिक निर्णय लिएको हुँ।

  • तर फेरि ‘धम्क्याएर राजीनामा गर्न लगाइयो’ पनि भन्नुभयो नि ?

त्यो दिन कसलाई धम्की दिइएन र ? पहिलो दिनको परिस्थितिको समीक्षा गरेर राजीनामा दिएको हुँ। तर दोस्रो दिन सत्ता कब्जाको षड्यन्त्र देखिएपछि फेरि प्रतिरोध गर्नुपर्ने अवस्था आयो। नागरिकको सुरक्षा गर्न बसेका सुरक्षाकर्मी नै लखेटिनुपर्ने अवस्थामा मलाई धम्की आउनु स्वाभाविक थियो। त्यतिबेला धम्की आयो भन्नु नै साहसिक कुरा थियो।

  • धम्की कसले दियो ?

सामाजिक सञ्जालबाट पनि आयो, प्रत्यक्ष रूपमा पनि। केही समूहहरू मेरो घर नजिकै आएर आगजनीको प्रयाससम्म गरे। व्यक्तिगत पूर्वाग्रह राख्ने लोकप्रियतावादी समूह सक्रिय बनेका थिए, तर उनीहरू एमालेसँग डराएका डरपोक हुन्।

  • केही दिनमै फरक–फरक धारणा किन आयो ?

विचार निर्माण जीवनभर चल्ने प्रक्रिया हो। वस्तुगत परिस्थितिले सोचलाई निरन्तर परिवर्तन गर्दै लैजान्छ।

  • अब त ‘भगौडा अध्यक्ष’को ट्याग लाग्छ नि ?

देशभर विद्यार्थी मारिँदा अध्यक्षले नैतिक जिम्मेवारी लिएर राजीनामा दिनु भगौडापन हो कि जिम्मेवारी ? मैले पद गुमाए पनि गर्वका साथ भन्न सक्छु—मेरो नेतृत्वमा अनेरास्ववियु जीवन्त बन्यो।

  • जेन जी घटनामा पार्टी नेतृत्व जिम्मेवारीबाट किन पन्छियो ?

तत्कालीन सरकारको नेतृत्वकर्ता भएकाले एमाले जिम्मेवार छ। तर सरकार असफल बनाउन ठूला शक्तिहरू पनि सक्रिय थिए।

  • कसले असफल बनाउन खोज्यो ?

जो हातहतियार लिएर प्रहरी, संसद, सिंहदरबार र सार्वजनिक संरचनामाथि आक्रमण गर्न गए—उनीहरू नै हुन्।

  • महाधिवेशनको प्रतिनिधि हुनुहुन्छ, तपाईंको नेता को हो ?

यसमा कुनै द्विविधा छैन। आगामी नेतृत्व केपी शर्मा ओली नै हो।

  • तर जनताले नेतृत्व परिवर्तन चाहेको देखिन्छ नि ?

एमाले र जनताको सम्बन्ध बिगार्न षड्यन्त्र भइरहेको छ। तर एमाले नै त्यो पार्टी हो जसले जनतालाई कन्भिन्स गर्न सक्छ। महाधिवेशनपछि यो अझ स्पष्ट हुनेछ।

  • ओलीलाई ‘अहंकारी’ भन्नेहरू पनि छन् ?

प्रगतिशीलहरूलाई बुर्जुवाहरूले सधैं अहंकारी नै भन्छन्।

  • गोदावरीमा पारित विधान भृकुटीमण्डपमा फेरिनु ओलीको अहंकार होइन ?

विधान संशोधन गर्नै नमिल्ने दस्तावेज होइन। यो सार्वभौम प्रतिनिधिहरूले गरेको निर्णय हो।

  • फरक मत राख्नेहरू किन किनारा लागे ?

पदको लोभमा राखिने मतलाई फरक मत भन्न मिल्दैन। पद ठूलो कि जिम्मेवारी ठूलो ?

  • ओली नै किन आवश्यक ?

आज पार्टीविरुद्ध षड्यन्त्र भइरहेको बेला एकताबद्ध नेतृत्व चाहिन्छ। ओली दिनमा चार–पाँच घण्टा मात्र सुत्नुहुन्छ, बाँकी १९ घण्टा पार्टीकै लागि काम गर्नुहुन्छ। उहाँलाई प्रधानमन्त्री बन्ने लोभ छैन।

  • सक्षम नेतृत्वका लागि के चाहिन्छ ?

दिशानिर्देश र सक्रियता दुवै। ओलीसँग चट्टानी अडान छ, त्यसैले उहाँ हाम्रा लागि जननेता हो।

  • जेन जी र एमालेको सम्बन्ध ?

जेन जी कुनै फरक समूह होइन, उमेर समूह हो। एमालेले ५ प्रतिशत युवाका लागि आरक्षण छुट्याएको छ।

  • अन्त्यमा एक वाक्यमा मूल्याङ्कन, सुशीला कार्की ?

असंवैधानिक

  • सुदन गुरुङ ?

लोकप्रियतामा रमाउँदै गएको...

  • बालेन साह ?

चुकेको मान्छे

  • रवि लामिछाने ?

व्यापारी

  • हर्क साम्पाङ ?

श्रमजीवी

  • कुलमान घिसिङ?

आशा गरिएको मान्छे

  • प्रचण्ड ?

कुनै समयका नवीन, अहिलेका पुरातन पात्र ।

टिप्पणीहरू