हुम्लाको नाम्खा–६ लिमी उपत्यकामा जन्मिएकी टासी ल्हाजोमलाई दोस्रो झड्का लागेको छ । सुधन गुरुङको जोडबलमा सुशीला कार्की सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्ने तय भइसकेको थियो । सोही समय उनको नागरिकता र फ्रि तिब्बत मुभमेन्टसँग जोडिएकालगायत विषय उठे । राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीदेखि जेनजी कर्णाली अध्यक्ष सुप्रिया शाहीसम्मले टासी फ्रि तिब्बत अभियानमा संलग्न रहेको पोल लगाएसँगै मन्त्री बन्ने च्याप्टर क्लोज भयो । रास्वपामा प्रवेश गरेर प्राइमरी इलेक्सनमार्फत लोकप्रिय मत ल्याइन् । पार्टीले समानुपातिकको बन्दसूचीमा आदिवासी जनजाति महिलातर्फ पहिलो नम्बरमा राखेको थियो तर हठात् निकालियो । टासीलगायत हुम्लाबासीले यसमा असन्तुष्टि जनाउँदै गत शुक्रवारदेखि घण्टीघरमा धर्ना दिन थाले । टासी २९ कात्तिक २०५६ लिमीमा जन्मिएकी हुन् । उनको परिवार हालको मितिसम्म पनि सोही ठाउँको स्थायीवासी हो । १६ वर्षको उमेरमा एउटा संस्थाको सहारामा गाउँका अरू बालबालिकासँगै पढ्नका लागि काठमाडौँ आइन् । आठ कक्षादेखि छात्रवृत्तिमा अध्ययन गर्न भारत पुगिन् र स्नातक तहको अध्ययन दिल्ली विश्वविद्यालयको हिन्दु कलेजमा गर्न थालिन् । उक्त कलेजमा राजनीतिशास्त्र पढेकी उनले छोटो समय नेपालस्थित अमेरिकी दूतावासमा पनि काम गरिन् । दूतावासमा उनको जिम्मेवारी राजनीति र अर्थ मामिला थियो । जेनजी मुभमेन्टपछि ‘इण्डिजिनियस जेनजी कलेक्टिभ्सको ‘संस्थापक भएकी छन् ।
– हरि गजुरेल
० पहिलो पटक महिला मन्त्री बन्नै लाग्दा शपथ रोकियो । दोस्रो पटक, आदिवासी जनजाति क्लष्टरबाट पहिलो नम्बरमा रहेको नाम काटियो । मुखैमा आएको गाँस किन खोसिएको होला ?
– मलाई कसैले दाइजोमा दिएको होइन । रास्वपा आन्तरिक निर्वाचन लडेर, १३ हजारभन्दा बढी मत ल्याएर छानिएको हुँ । मतमा अगाडि, क्षमतामा म कमजोर छैन । मभन्दा अघि उत्तम गुरुङ, गायिका सत्यकला राईहरू थिए । आदिवासी जनजाति सूचीको तेस्रोमा रहेकी मलाई पछि बन्द सूचीमा पहिलो नम्बरमा राखिएको थियो तर न त मैले समानुपातिक सूचीबाट नाम फिर्ता लिएको छु । न फिर्ता हुने प्रक्रियामा सहभागी नै भएकी छु ।
० नाम किन काटिएको होला ?
– मैले पनि यो प्रश्न धेरै पटक सोधेकी छु, मेरो नाम किन र के कारणले काटियो ? कसैले भन्छन्, भूराजनीतिक कन्सर्न हो, फेरि केही नेता भन्छन्, यो कारण हुँदै होइन । समानुपातिकतर्फ सयौंले उम्मेदवारी दिएका छन् । सबैको मिलाउँदा तपाईंको नाम काटिन पुगेको हो । यदि भूराजनीतिक कारण हो भने प्रमाणित गर्नुपर्यो । होइन भने खुलाउनुपर्यो । स्पष्टीकरण चाहियो । त्यही कारण शुक्रबारदेखि धर्नामा छौं । जवाफदेहिता स्ट्रोङ हुनुपर्छ । राष्ट्रिय स्वतन्त्र पार्टी पुराना दलभन्दा नयाँ ढंगबाट राजनीति गर्छु भनेर आएको हो । नयाँ ढंगले राजनीति गर्नुपर्छ भन्छौं भने सुशासन र पारदर्शिताका कुरा बाहिर मात्र चर्काे स्वरमा गरेर हुँदैन नि ! पार्टीभित्र पनि सुशासन र जवाफदेहिता हुनुपर्छ ।
० पार्टीको प्रतिक्रिया के छ त ?
– नेतालाई स्पष्टसँग भनेकी छु, यदि भूराजनीतिक कारण हो भने प्रमाणित गरेर देखाउनुहोस् । यदि, तपाईंहरूबाट गल्ती भएको हो भने स्वीकार्नुहोस् । प्रश्न सोध्ने हाम्रो कर्तव्य हो, जवाफ दिने उहाँहरूको दायित्व । पुराना पार्टीले त कर्णालीलाई राजधानीबाट दूर बनाएकै थिए । कम्तीमा नयाँ पार्टी रास्वपाले त्यस्तो नगरोस् भन्ने हाम्रो अपेक्षा थियो । हामी (डोल्पा) दुर्गम होइन, काठमाडौं हामीबाट दुर्गम हो । शक्तिशाली मान्छे हामीबाट दूर भइरहेका छन् । उठ्दै लड्दै अगाडि बढ्न खोज्दा हामीलाई साइड लगाइएको छ । हामी पनि यो देशको नागरिक हो । संविधानले सबैलाई समानता भन्छ तर सत्ताले कर्णाली र सुदूरपश्चिमलाई सदैव दूर नै राख्दो रहेछ भन्ने भोग्दै छु ।
० सुप्रिया शाही र ज्ञानेन्द्र शाहीले लगाएका आरोपबारे के भन्नुहुन्छ ?
– उहाँहरूले मेरो नाम मन्त्रिमण्डलमा सिफारिस हुँदै गर्दा विज्ञप्ति निकाल्नुभएको थियो । जेनजी आन्दोलनमा मेरो भूमिकाबारे प्रश्न उठाएकी रहिछन्, सुप्रियाले । उनलाई थाहा नहुँदैमा मैले केही नगरेको भन्ने हुन्छ र ? इण्डिजिनियस जेनजी कलेक्टिभ्सको संस्थापक प्रमुखको रूपमा काम गरेको छु । यसका अलावा हुम्ला, जुम्लाका युवालाई जेनजीमा सहभागिता गराउन ठूलो भूमिका खेलेकी छु । यदि म उठिन भने मेरो समुदाय र मेरा मान्छे पछाडि पर्छन् भन्ने डर छ । परिवर्तन सबैभन्दा धेरै सीमान्तकृत समुदायले खोजिरहेका छन् । मेरो नागरिकतामाथि प्रश्न उठाएका छन्, साथीहरूले । नेपालमै जन्मिएको, हुर्किएको हुँदा वंशजका आधारमा नागरिकता प्राप्त भएको छ मलाई । जिल्ला प्रशासन कार्यालय हुम्लाले ५९–०१–७४–०१०४२ नम्बरको नागरिकता दिएको छ । नाम्खा गाउँपालिका–६ को कार्यालयले त्यहीँकी बासिन्दा हुन् भनेर सिफारिस नै गरेको छ ।
तर, यो राज्य र यहाँका मान्छेहरूलाई म नेपाली हुँ भन्दै पहिचान खुलाउँदै हिँड्नुपरेको छ । मेरो नाम टासी घिमिरे, पौडेल, थापा भएको भए सायद यस्तो कुरा उठ्दैनथ्यो होला तर म टासी ल्हाजोम भएँ ।सीमान्तकृत समुदायको परें । धेरैजसो नेपालीले नसुनेको ठाउँ लिमी भ्यालीबाट आएँ । चिम्से आँखा, थेप्चे नाक, गोरो वर्ण र भोटे लामा भाषा बोलेकै कारण नेपालको उत्तरी सीमा रक्षक भएर बस्नेलाई सधैं तिब्बतीयन देखिँदो रहेछ । ज्ञानेन्द्र शाहीसँग मेरो नराम्रो केही छैन तर कर्णालीकै नेताले कर्णालीभित्रैको सीमान्तकृत जातिलाई माथि ल्याउन कोसिस पो गर्नुपर्ने हो । यहाँ माथि बढ्न खोज्दा खुट्टा तानिँदो रहेछ । हिमाली भेगमा बस्नेलाई तिब्बती अनि तराई भेगकालाई भारतीय देख्नेहरुसँग सोध्न मन लागेको छ– नेपाली हुनका लागि कस्तो देखिनुपर्छ ? नश्लीय राष्ट्रवादी चिन्तन बोक्नेहरूको कारण नै मुलुक यो अवस्थामा पुगेको हो ।
० ब्वाइफ्रेण्डको विवाद के हो ?
– म तिब्बती होइन । न ब्वाइफ्रेण्ड नै तिब्बती हुन् । के आँखा सानो हुँदैमा मलाई नेपाली होइन भन्न पाइन्छ ? प्रष्ट नेपाली बोल्न आउँदैन भन्दैमा म नेपाली हुँदिनँ ? फ्रि तिब्बत मुभमेन्टसँग कहीँ–कतैबाट संलग्नताबारे प्रमाण भेटेको दाबी कसैले गर्छ भने सार्वजनिक गर्न चुनौती दिएकी छु । आफ्नो संवैधानिक अधिकार हनन गर्ने वा आफूलाई रोक्न खोज्ने जोकोहीविरुद्ध कानुनी उपचारमा जानेछु ।
० तपाईंको टिओबीसँग कुनै कनेक्सन छैन त, उसोभए ?
– केही सम्बन्ध छैन । म सिंगो नेपालको नागरिक । अरू देशको इस्युलाई किन केयर गर्नु ?
० मन्त्रीका रूपमा तपाईंको नाम कसरी र कसले प्रस्ताव ग¥यो ? फेरि कसको दवावमा हटाइयो ?
– मैले आफ्नो नाम कहिल्यै प्रमोट गरेको थिइनँ । म त अरू साथीलाई पठाउन चाहन्थेँ । यहाँ मन्त्रीका रूपमा नाम सिफारिस हुँदा भारतमा थिएँ, तीन महिनाअगाडि नै निम्तो पाएको कार्यक्रममा भाग लिन गएकी । युनिभर्सिटी अफ अक्सफोर्डको रिजनल वर्कसपमा भाग लिन पुगेका बेला साथीबाट यो कुरा थाहा पाएँ । त्यही बेला केही साथीले आदिवासीको प्रतिनिधित्व कुलमान घिसिङले गरिरहेका छन्, कति जना आदिवासी चाहियो पनि भनेका थिए ।
० मन्त्री बन्न नपाएपछि प्रधानमन्त्री सुशीला कार्कीसँग भेटघाट भयो कि भएन ?
– अप्रत्यक्ष रूपमा कुराकानी भइरहेको छ । हिमाली मान्छेहरू सगरमाथा चढ्दा देशका लागि ठूलो गर्व हुने अनि राजनीतिको सगरमाथा चढ्दा नेपाली नै होइन भन्ने आरोप सुन्नुपर्ने ?
० जेनजी आन्दोलनमा कसरी जोडिनुभयो ?
– जेनजी आन्दोलनमा सक्रिय भएर लागिन भने आगामी दिनमा हाम्रो सहभागिता हुँदैन भन्ने लागेरै जोडिएको हुँ । मसहितका साथीले इण्डिजिनियस जेनजी कलेक्टिभ्स शुरु गरेर ८ सेप्टेम्बरको दिनभर आन्दोलनमा सहभागी भएको हुँ । सीमान्तकृत ठाउँका युवाको कुरा छुट्छ कि भनेर वार्ता टोलीमा पनि सहभागी रहेँ । जेनजी भनेको कुनै एकल जाति वा समुदायको कुरा हैन । जेनजीभित्र पनि विविधता हुन्छ । आदिवासी जेनजी हुन्छ । हिमाली जेनजी हुन्छ । मधेशी जेनजी हुन्छ । दलित र मुस्लिम जेनजी हुन्छ । त्यही क्रममा इण्डिजिनियसन जेनजी कलेक्टिभ्स बनेको हो ।
० रास्वपाबाहेक अरू पार्टीले पनि बोलाएनन् ?
– जेनजी आन्दोलनले मलाई देशभरि चिनाइदियो । पुराना दल एमाले, कांग्रेस, माओवादीका अलावा नयाँ पार्टीका नेताहरुले पनि मलाई प्रस्ताव गर्नुभयो ।
० जेनजी मुभमेन्टपछि राजनीति कोर्समै छ कि आउट अफ ट्रयाक ?
– जेनजीपछि बनेको सरकार, जेनजीको मागलाई प्राथमिकता राख्नुपर्ने हो । तर, बाध्यताले चुनावलाई प्राथमिकता दिनुपर्ने भएको छ ।