विप्लवलाई प्रश्न- बन्दुक समाएको हातले गुलाब समात्नुपर्ने परिस्थिति कसरी आयाे ?

विप्लवलाई प्रश्न- बन्दुक समाएको हातले गुलाब समात्नुपर्ने परिस्थिति कसरी आयाे ?

कुनै समय संसदवादकाविरुद्ध बन्दुक र बारुद पड्काउने नेत्रविक्रम चन्द विप्लव समूह घुमिफिरी रुम्जाटार भनेझैँ संसदीय व्यवस्थाअन्तर्गत हुन लागेको चुनावमा भाग लिन तयार भएको छ । निर्वाचन आयोगमा नेकपा (माओवादी) नामक दल दर्ता गरी ‘गुलाब’ चिन्ह पाएको यो समूह आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रतिष्पर्धा गर्दैछ । 

यतिबेला धमाधम उम्मेदवार छनोट गरिरहेको माओवादीका महासचिव विप्लव रोल्पाबाट चुनाव लड्ने तयारीमा छन् । अहिले कपिलवस्तु बस्दै आएका उनी किन रोल्पा जान चाहेका होलान् ? चुनावी प्रतिष्पर्धाको बाटोबाट उनले भन्ने गरेको वैज्ञानिक समाजवाद आउँछ ? यसैको सेरोफेरोमा केन्द्रित रहेर जनआस्थाका लागि दिलिप कुँवरले नेत्रविक्रम चन्द विप्लवसँग गरेको कुराकानीको सम्पादित अशंः 

पहिलोपल्ट निर्वाचनमा भाग लिँदै हुनुहुन्छ, कस्तो अनुभूति भइरहेको छ ?
 
चुनाव लागेको छ । छलफल र भेटघाट बढेको छ । दिनभर व्यस्त हुन थालेको छु ।  

बन्दुक समाएको तपाईंका हातले गुलाब समात्नुपर्ने परिस्थिति कसरी आयाे ?

संविधान बन्दै गर्दा केही प्रस्ताव अघि सारेका थियौँ- राज्य कस्तो हुनुपर्छ, संरचना कस्तो हुनुपर्छ भनेर । तर त्यो प्रस्तावलाई सुनिएन । त्यसपछि हामीले हाम्रो माग पूरा गर्न अलग बाटो रोज्यौँ । यसबीचमा हामीलाई धेरै कुराको बोध भयो । बन्दुक समाएका हातले गुलाब समात्नुहुँदैन भन्ने छैन । विगतमा चुनावलाई जसरी हेरे पनि अहिले जनताबाट अनुमोदन हुने र समाजवादी व्यवस्थाको आधार तयार पार्ने सुन्दर अवसरको रुपमा लिएका छौँ । फेरि गुलाब प्रेम र सद्भावको प्रतिक पनि हो । बगैँचामा सबैभन्दा धेरै रुचाइने फूलसमेत गुलाब नै हाे । त्यसैले चुनाव चिन्ह बनायौँ । 

संसदीय निर्वाचनबाट समाजवाद सम्भव छ त ?

सम्भव देखेरै हामी निर्वाचनमा होमिएका छाैँ । समाजवाद जटिल र असम्भव विषय पनि होइन । यो एउटा राज्यको संरचना न हो । जनताले राम्ररी बुझेका छन् जस्तो लाग्छ । समाजभित्र हामी छौँ । हामी भनेको मजदुर, किसान, महिला, विभिन्न लिंग, पिछडिएको वर्ग, शिक्षक, वैज्ञानिक सबै हो । उनीहरू सबैको दायित्व हुने र अपनत्व हुने राज्य प्रणाली नै समाजवाद हो । जेनजी युवाहरूको माग पनि समाजवादभित्रैका माग हुन् । 

उन्नत समाजवादको परिकल्पना गरेर तपाईंहरूले समाजवादी मोर्चा पनि बनाउनुभएको थियो, अहिले किन कोल्याप्स भयाे त ?

त्यतिबेला हामीले समाजवादको लागि सम्भव भएसम्मको सहकार्य गरौँ भनेर मोर्चा बनाएका थियौँ । पार्टी एकता गर्ने तयारी पनि गरेका थियौँ । तर, तत्कालीन नेकपा माओवादी केन्द्रसँग हामीले राखेका केही विषयमा सहमति जुट्न सकेन । त्यसैले हामी एकतामा जानबाट रोकिएका हौँ । मोर्चाबाट अलग भएका हौँ । 

अरू कम्युनिष्ट पार्टीले पनि समाजवादलाई केन्द्रमा राखेको देखिन्छ, तर बाटो चाहिँ अलग-अलग भयाे, किन हाेला ? 

मोर्चामा हुँदै गर्दा वामपन्थी विचारधारका पार्टीहरूसँग गहन छलफल गरेका थियौँ । यसबीचमा राजनीतिक, सामाजिक र सांस्कृतिक कतिपय विषयमा हाम्रो मत मिलेन । हामीले खोजेको व्यवस्था एउटै भए पनि त्यहाँसम्म पुग्ने बाटो अलग रोज्नुपर्यो । 

आगामी निर्वाचनको सन्दर्भ जोड्न चाहन्छु, कहाँबाट चुनाव लड्नुहुन्छ ?

साथीहरूले तीन-चार वटा निर्वाचन क्षेत्रबाट सिफारिस गर्नुभएको छ । कसैले दाङबाट लड्नुस् भनिरहनुभएकाे छ, कतिपयले कपिलवस्तुबाटै उम्मेदवार बन्नुस् भन्नुभएको छ । रोल्पाबाट पनि सिफारिस गर्नुभएको छ । तर, मैलेचाहिँ अहिले नै यो ठाउँबाट लड्छु भनेर तय गरिसकेको छैन, रोल्पा जाने बढी सम्भावना चाहिँ छ । छलफल गरिरहेका छौँ, चाँडै टुंगो लाग्छ । 

तपाईंको परिवार जनयुद्धअघि नै रोल्पाबाट कपिलवस्तु झरेको थियो, अहिले किन रोल्पा जान मन लागेको ?

रोल्पा जान मन लागेको भन्दा पनि म जानुपर्छ भन्ने हो । मेरो परिवार कपिलवस्तु झरे पनि जनयुद्धको बेला ०५८ सालदखि ०६४ सम्म म रोल्पामै थिएँ । रोल्पाबाटै प्रचण्ड र बाबुराम कमरेडहरूसँगको सहकार्य शुरु भएको थियो । हामीले त्यहाँ हस्पिटल बनायौँ, क्याम्सप बनायौँ, बैंकको शाखा खोल्यौँ । पछिल्लो समय पनि हामीले थवाङमा विशाल कम्युन भवन बनाएका छौँ । त्यहाँ उत्पादन पनि गरिरहेका छौँ । 

यो त विगत भइहाल्यो, नयाँ एजेण्डा चाहिँ के हो त ? रोल्पाली जनताले तपाईलाई किन भोट दिने ?

योचाहिँ महत्वपूर्ण विषय हो । वास्तवमा रोल्पा एउटा परिवर्तनको केन्द्रविन्दु हो । हामीले जनयुद्ध शुरु गर्दैगर्दा जनतासँग जुन वाचा र प्रस्ताव राखेका थियौँ, ती अझै पूरा भइसकेका छैनन् । ती अधुरा वाचा पूरा गर्न एउटा बुलुन्द आवाज चाहिन्छ । मलाई विश्वास छ- रोल्पाली जनताले मलाई त्यो आवाज बनाउनेछन् । रोल्पासँग मेरो राजनीतिक सम्बन्ध मात्रै होइन, भावनात्मक सम्बन्ध पनि छ । रोल्पाकै माटो खेलाएर हुर्किएको हो, त्यहीबाट विद्यार्थी राजनीतिमा लागेँ । त्यहाँ मेरो रगत र पसिना बगेको छ । त्यसैले रोल्पासँग मेरो एउटा न्यानो सम्बन्ध छ जस्तो लाग्छ । 

चुनाव जित्नको लागि भावनात्मक सम्बन्ध भन्दा पनि मतको अंकगणितले अर्थ राख्छ । रोल्पामा तपाईंकै पूर्व सहयोद्धा वर्षमान पुनलाई बलियो उम्मेदवारको रुपमा हेरिएको छ, चुनौती होला नि ? 

त्यो पनि एउटा स्पष्ट हुनुपर्ने विषय हो । यसबारे मैले अनन्त कमरेडसँग पनि निरन्तर संवाद गरिरहेको छु । भेटेर र फोनमै पनि कुराकानी भइरहेको छ । स्वभाविक ढंगले रोल्पासँग उहाँको सम्बन्ध छ । तर, जनताको मत सधैँ एउटामात्र हुँदैन । जनतासँग विभिन्न विकल्प छन् । जनताले उहाँ र मलाई राम्रोसँग नजिकबाट चिनेकै छन् । हामी दुवै रोल्पाका छोरा हौँ । एउटै आँगनमा खेलेका हौँ । कुन छोरा कस्तो, त्यो पक्कै जनताले छुट्याउलान् । हाम्रो एजेण्डा हेर्लान्, हाम्रो प्रस्ताव र नीति हेर्लान् नि !

पूरा अन्तर्वार्ता हेर्न लिंकमा क्लिक गर्नुहाेस्ः
 

टिप्पणीहरू