सडक व्यवस्थापनमा हाकिमका यस्ता संकल्प

सडक व्यवस्थापनमा हाकिमका यस्ता संकल्प

सुवोधकुमार देवकोटा सडक डिभिजन काठमाडौंका प्रमुख हुन् । गत भदौ ३० गतेदेखि जिम्मेवारी सम्हालेका उनले यसबीच थुप्रै सुधारका काम अघि बढाएका छन् । कार्यालयको खर्च कटौती, आन्तरिक सुधार, खाल्टाखुल्टीमुक्त सडक अभियान, सडक मर्मत, एम्बुलेन्स र मोबाइल एपमार्फत नागरिक प्रत्यक्ष सहभागिताजस्ता काम अघि बढाएका उनले आफ्नै कार्यकालमा सम्पन्न गर्ने लक्ष्य लिएका छन् । 

साथै, निर्माणको गुणस्तरमा गडबडी र काममा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही, अन्तरनिकाय समन्वय र ट्राफिक सुधारमा जोड दिँदै दीर्घकालिन र सुरक्षित सडक प्रणाली पनि उनको प्राथमिकतामा छ । डिभिजन प्रमुख देवकोटासँग यसै विषयमा केन्द्रित रहेर जनआस्थाले गरेको कुराकानी :

-तपाईं सडक डिभिजन काठमाडौंको डिभिजन प्रमुख बनेपछि के-कस्ता सुधारका काम भएका छन् ?
 
मैले भदौ ३० गतेदेखि डिभिजन प्रमुखको जिम्मेवारी सम्हालेको हुँ । पदभार ग्रहण गरेपछि मेरो पहिलो प्रतिबद्धता सडक डिभिजन काठमाडौंलाई सुधार, पारदर्शीता, जवाफदेहिता र परिणाममुखी कार्यसंस्कृतितर्फ स्पष्ट दिशामा लैजानु नै हो । मैले आन्तरिक व्यवस्थापन सुधारमा पनि ध्यान दिएको छु । 

-के–कस्तो आन्तरिक सुधार गर्नुभयो ?
 
विगतमा अनावश्यक ज्यालादारी कर्मचारी राखिएको थियो, राजनीतिक पहुँचका आधारमा नियुक्ति हुने र कार्यालय खर्च अस्वभाविक रुपमा बढ्दै गएको अवस्था थियो । जथाभावी कर्मचारी नियुक्ति गर्ने गलत अभ्यास तोड्न सम्पादनमा प्रत्यक्ष योगदान नदिने ५० जना ज्यालादारी कर्मचारीलाई असोज १ गतेदेखि बिदा गर्ने निर्णय भएको छ । 

यो निर्णय सजिलो थिएन, तर कार्यालयलाई व्यवसायिक र कार्यकुशल बनाउनुपर्ने कठोर कदम चाल्नैपर्ने बाध्यता थियो । म आउनेबितिक्कै तेल, मसलन्द, सवारीसाधन प्रयोग र ज्यालादारीतर्फ मासिक ५० लाखभन्दा बढी खर्च भइरहेको कुरा थाहा पाएँ । त्यसपछि आर्थिक अनुशासन कायम गर्न के गर्न सकिन्छ भन्ने छलफल हुँदा अनावश्यक कर्मचारी थुपारिएका कर्मचारी हटाउनुपर्ने विषय उठ्यो । त्यसो गर्दा कम्तीमा ५० प्रतिशत खर्च कटौती हुने अवस्था देखियो । जसबाट वार्षिक तीन करोड रुपैयाँ बचत हुने भयो । साथै, कार्यालयमा सवारीसाधन अनावश्यक रुपमा प्रयोग गर्न नपाइने निर्णय पनि यसबीच भएको छ । सबै प्रयोग दर्ता प्रणालीमार्फत नियन्त्रित गरिएको छ । 

-पछिल्लो समय काठमाडौंका सडकमा पहिलेभन्दा खाल्डाखुल्डी कम देखिन्छ, धेरैले महानगरका मेयर बालेन्द्र साहलाई यसको जस दिने गरेको पाइन्छ । यसमा डिभिजन सडक कार्यालयको भूमिका चैं कस्तो छ ?

हाम्रो प्राथमिकतामध्ये राजधानीका सडकलाई खाल्टाखुल्टीमुक्त बनाउनु पनि हो । यो सेवाग्राहीको सुविधाको कुरा मात्र नभई जनसुरक्षा र प्रतिष्ठासँग पनि जोडिएको विषय हो । डिभिजन प्रमुखको जिम्मेवारी सम्हालेलगत्तै मैले काठमाडौंभित्र रहेका खाल्टाखुल्टीको तथ्याङ्क संकलन गर्न निर्देशन दिएँ । त्यसपछि बिहान र बेलुका दुवै समय प्राविधिक टोली परिचालनगरी निरन्तर प्याच निर्माण तथा मर्मत शुरु गरियो ।
 
प्रतिकूल मौसमका बाबजुद महाराजगञ्ज, बसुन्धारा, बालाजु-बाइपास, बालुवाटार, गौरीधारा, नारायणचौर, नागपोखरी, दरबारमार्ग, रत्नपार्क, कालिमाटी, बल्खु, टौदह, चौभार, गौशाला, चावहिल, मित्रपार्क, चुच्चेपाटी, पुरानो बानेश्वर, डिल्लीबजारलगायतका मुख्य तथा सहायक सडकमा चिसो र तातो मिश्रण प्रयोगगरी मर्मत कार्य तीव्र पारिएको छ ।
 
बालुवाटार क्षेत्रमा सडक भासिएर ठूला खाल्डा बनेको घटनामा पनि तत्काल पुनःनिर्माण गरियो । यस अभियानलाई संस्थागत र दीर्घकालिन बनाउन सडक मर्मत एम्बुलेन्स सञ्चालनमा ल्याएको छु । यो राजधानीको हकमा नयाँ अभ्यास हो । सडक एम्बुलेन्स तीन सय ६५ दिन र चौबिसै घण्टा तयारी अवस्थामा रहनेछ ।
 
उपत्यकाका कुनै पनि सडकमा खाल्डो देखिएको सूचना प्राप्त हुनासाथ तालिम प्राप्त प्राविधिक टोलीसहित एम्बुलेन्स घटनास्थल पुगेर छिटोछरितो मर्मत गर्ने व्यवस्था मिलाइएको छ । कामको बेला ट्राफिक व्यवस्थापनका लागि चेतावनी बत्ति र सुरक्षा उपकरण प्रयोग गरिनेछ । जसले भीडभाडको समयमा समेत आकस्मिक मर्मत सम्भव बनाउँछ । जनगुनासोलाई प्रविधिमैत्री बनाउने उद्देश्यले मोबाइल एप र हेल्पलाइन सेवा पनि शुरु गरेका छौं ।
 
अब नागरिकले सडकको खाल्टाखुल्टी देख्नेवित्तिकै फोटो खिचेर तत्काल कार्यालयको एप्समा अपलोड गर्न सक्छन् र मर्मतपछि त्यसको अद्यावधिक विवरणसमेत प्रणालीमा देख्न सकिनेछ । यसले कार्यालयलाई नागरिकप्रति प्रत्यक्ष उत्तरदायी बनाउनेछ । ट्राफिक सुरक्षा सुधार पनि मेरो अर्को प्रमुख प्राथमिकता हो । सुरक्षित सडकबिना व्यवस्थित सडकको परिकल्पना गर्न सकिँदैन । 

जेब्राक्रसिङ्ग, रोड मार्किङ्ग र बिग्रिएका ट्राफिक लाइट तत्काल मर्मत गर्नेतर्फ पनि हामी लागिरहेका छौं । निर्माण तथा मर्मत कार्यको गुणस्तर सुनिश्चित गर्न पुरानो र गलत अभ्यासलाई अन्त्य गर्ने निर्णय पनि लिएका छौं । अबदेखि सडकको प्राविधिक परीक्षण ठेकेदारको सुविधाअनुसार होइन, सडक डिभिजन काठमाडौंकै सडक विभागको केन्द्रीय प्रयोगशाला वा पुल्चोक इन्जिनियरिङ क्याम्पसमार्फत मात्र गरिनेछ । गुणस्तरमा कुनै सम्झौता हुँदैन भन्ने सन्देश यसमार्फत स्पष्ट पारिएको छ । 

-काम अलपत्र छोड्ने ठेकेदारलाई के गरिँदैछ त ? 

लामो समयदेखि अलपत्र परेका आयोजनाको सवालमा पनि कडा निर्णय लिएका छौं । आर्थिक वर्ष २०६७–६८ देखि ०७९–८० सम्म सम्झौता भएका तर वर्षौसम्म काम अघि नबढाइएका २५ वटा रुग्ण ठेक्का सार्वजनिक खरिद ऐन, २०६३ अनुसार रद्द गरिएको छ । सम्बन्धित निर्माण व्यवसायीलाई स्पष्टीकरण माग्दा प्राप्त जवाफ सन्तोषजनक नदेखिएपछि ठेक्का तोड्ने निर्णय गरिएका छन् । अब ती परियोजनालाई नयाँ प्रक्रियाबाट अघि बढाइनेछ । र, सरकारी रकम असुलीको प्रक्रिया पनि शुरु गरिएको छ । 

-अन्त्यमा के भन्नुहुन्छ ?

समग्रमा भन्नुपर्दा सडक डिभिजन काठमाडौंलाई राजनीतिक भागबण्ड, आसेपासे, ढिला सुस्ती र अनुत्पादक खर्चको घेराबाट बाहिर निकालेर परिणाममुखी, पारदर्शी र जनउत्तरदायी संस्थाका रुपमा स्थापित गर्ने नै मेरो लक्ष्य हो । ती सुधारहरु तत्काल देखिने परिणामका लागि मात्र होइन, दीर्घकालिन रुपमा काठमाडौंको सडक व्यवस्थापन प्रणालीलाई स्वस्थ, भरपर्दो र गुणस्तरीय बनाउने दिशामा केन्द्रित छ । यदि यी निर्णयहरू व्यावहारत: लागू भयो भने राजधानीका सडकमा वर्षौदेखि जरा गाडेको अस्थव्यवस्थाता पूर्णत: अन्त्य हुने मलाई विश्वास छ । 

टिप्पणीहरू