पूर्व न्यायाधीशको टिप्पणी ‘यो कस्तो लोकतन्त्र ?’

पूर्व न्यायाधीशको टिप्पणी ‘यो कस्तो लोकतन्त्र ?’

सर्वोच्च अदालतका पूर्व न्यायाधीश ईश्वर खतिवडाले नेपाली कांग्रेसमा विधिसम्मत रूपमा विशेष महाधिवेशनको माग भइसकेपछि त्यसको आयोजना हुनु आवश्यक र अनिवार्य रहेको धारणा व्यक्त गरेका छन्। आफू कुनै राजनीतिक नेता वा राजनीतिक दलको कार्यकर्ता नभएको स्पष्ट पार्दै विधिसम्मत रूपमा विशेष महाधिवेशनको माग भएपछि त्यसको आयोजना हुनु आवश्यक र अनिवार्य रहेको उनको ठहर छ।

खतिवडाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संस्थापन समूहको स्वार्थ, अहंकार र फरक विचारलाई दबाउने तथा दमन गर्ने अलोकतान्त्रिक हठका कारण विशेष महाधिवेशनलाई छल्न र विथोल्न खोजिएको छ ।’ यस्ता अभ्यासलाई आम जनताले लोकतन्त्रका रूपमा कसरी बुझ्ने भन्ने गम्भीर प्रश्नसमेत उनले उठाएका छन्। यस्तै प्रवृत्तिका कारण पार्टीभित्र ‘झोले र चम्चे’ निर्माण भएको हुनसक्ने अनुमान पनि खतिवडाको छ ।

अगाडि लेखिएको छ, ‘यो भाँडतन्त्र होइन र ? यस्तै शैली र पृष्ठभूमिमा “झोले र चम्चे” भन्ने भाष्य निर्माण भएको होइन र ? यी र यस्तै अन्य प्रश्नहरूका बीच म मेरो देशको राजनीतिक भविष्य नियाल्दै छु।’

न्यायालयमा चार दशकभन्दा बढी समय बिताएका खतिवडा स्वच्छ, निष्पक्ष र निष्ठामा दृढ अडान राख्ने न्यायमूर्तिका रूपमा परिचय बनाएर अवकाश भएका हुन् । संविधान, कानुन र राजनीतिशास्त्रका अध्येता नेपाली नागरिकका रूपमा मुलुकको राजनीतिक प्रणाली र गतिविधिप्रति चासो राख्नु स्वाभाविक भएको उनले बताएका छन्। 

नेपाली कांग्रेसले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका महाधिवेशन प्रतिनिधिहरूलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गर्ने निर्णय गरेको सन्दर्भ उल्लेख गर्दै पूर्वन्यायाधीश खतिवडाले लेखेका छन्, ‘यो खबर सुनेर अचम्म लाग्यो। विधिसम्मत रूपमा हुनुपर्ने महाधिवेशन हुन नदिने गरी सुरुदेखि गरिएका गतिविधि लोकतान्त्रिक मूल्य–मान्यताविपरीत छन्। अहिले आएर हस्ताक्षर फिर्ता लिन लगाउने निर्णय महाधिवेशन प्रतिनिधि र आम कार्यकर्तामाथि दिइएको अनुचित दबाब र धम्की पनि हो।’

उनले ‘यो कस्तो लोकतन्त्र ?’ भन्ने प्रश्नसमेत उठाएका छन्।

टिप्पणीहरू