इक्यानमा कसले मार्ला बाजी ?

इक्यानमा कसले मार्ला बाजी ?

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श दिने व्यवसायीहरूको सबैभन्दा ठूलो छाता संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को नयाँ नेतृत्व चयनका लागि यही पुस २८ गते काठमाडौंमा निर्वाचन हुँदैछ। निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरू प्यानलसहित चुनावी दौडधुपमा व्यस्त छन्।

यस पटकको निर्वाचनमा मुख्यतः दुई वटा प्यानलबीच कडा प्रतिस्पर्धा हुने अवस्था छ। दिपकराज भुसाल र लक्ष्मण पौडेल ‘एन्ड्रयु’को नेतृत्वमा दुई प्यानल मैदानमा उत्रिएका छन्। भुसाल निवर्तमान महासचिव हुन् भने पौडेल निवर्तमान प्रथम उपाध्यक्ष हुन्।

भुसाल नेतृत्वको प्यानललाई इक्यानको ‘संस्थापन पक्ष’का रूपमा हेरिएको छ। उक्त प्यानललाई वर्तमान अध्यक्ष शेषराज भट्टराई र निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले खुलेर समर्थन गरेका छन्। लामो समयदेखि इक्यानको विभिन्न तहमा रहेर दुईपटक महासचिवको जिम्मेवारी सम्हालेका भुसाललाई कार्यसमितिका अधिकांश पदाधिकारीको साथ रहेको बताइन्छ।

त्यसैगरी वामपन्थीनिकट व्यवसायी तथा संगठनका नेताहरूले समेत भुसाल प्यानललाई पूर्ण समर्थन जनाउँदै उम्मेदवारी दिएका छन्, जसले उनको प्यानललाई थप बलियो बनाएको विश्लेषण गरिँदै आएको छ।

भुसाल प्यानलबाट उपाध्यक्ष पदका लागि रत्नबहादुर भट्टराई, विकल्पराज पोखरेल र मञ्जित ढकाल, महासचिवमा भवनाथ हुमागाईं, सचिवमा अशिक कार्की र सुरज सिलवाल उम्मेदवार छन्। त्यस्तै कोषाध्यक्षमा उमा खड्का पाठक र सह–कोषाध्यक्षमा गोविन्द खनालले उम्मेदवारी दिएका छन्।

सदस्यमा अनन्तराज घिमिरे, अशोककुमार हाथी, विवेक बस्नेत, दामोदर शर्मा न्यौपाने, सञ्जिव पाण्डे, नवराज नेपाल, उद्धव वन, कमलप्रसाद तिमल्सिना र वसन्त पाण्डे चुनावी मैदानमा छन्।

उता लक्ष्मण पौडेल ‘एन्ड्रयु’ नेतृत्वको प्यानलले पनि तीव्र रूपमा चुनावी अभियान सञ्चालन गरिरहेको छ। पौडेल प्यानलले संस्थागत सुधार, पारदर्शिता र परिवर्तनको नारालाई मुख्य एजेन्डा बनाएको छ। नेतृत्वमा नयाँ सोच र कार्यशैली आवश्यक रहेको दाबी गर्दै उनीहरू मतदाता सदस्यहरूसँग सक्रिय संवादमा जुटिरहेका छन्।

निर्वाचन नजिकिँदै जाँदा इक्यानको आगामी नेतृत्व कसको हातमा जाने भन्ने चासो व्यवसायिक वृत्तमा बढ्दै गएको छ।

टिप्पणीहरू