पूर्वराष्ट्रपतिलाई प्रमुख अतिथि बनाएपछि पोखियो रिस

पूर्वराष्ट्रपतिलाई प्रमुख अतिथि बनाएपछि पोखियो रिस

इटहरीस्थित एक सामुदायिक विद्यालयको व्यवस्थपन समिति अध्यक्ष फेर्न खेलोफड्को शुरु भएको छ । इटहरी उपमहानगरपालिका-६ स्थित जनता माध्यामिक विद्यालयको अध्यक्षका लागि आज मनोनयन हुन लागेकोमा नेकपा (एमाले)को नगर कमिटीले विभिन्न रणनीति थालेको हो । 

त्यसो त, हालका अध्यक्ष काशिनाथ दंगाल स्वयं एमाले निकट मानिन्छन् । तर उनीप्रति एमालेको नगर कमिटीले नै किन अरुची देखाएको होला ? कारण जान्नुअघि पृष्ठभूमि जान्नुपर्ने हुन्छ । 

बताइएअनुसार ०७५ सालदेखि त्यहाँ दंगाल अध्यक्ष छन् । त्यतिबेला निजी तथा आवसीय विद्यालयमा अध्ययन गर्दै आएका आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा भर्ना गरेर कार्यकाल शुरु गरेका उनले यसबीच विद्यालय सुधारको लागि दर्जनौँ काम गरेको बताइन्छ । दंगालले कार्यकाल थाल्दा उक्त विद्यालयमा १२८४ विद्यार्थीले अध्ययन गर्दै आएकोमा अहिले झण्डै चार हजार पुगेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दंगाल स्वयंले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा भर्ना गरेपछि अन्यले पनि जनता माविमा भर्ना गर्न थालेको बताइन्छ । ‘उहाँ आएपछि बोर्डिङको पढाइ यहीँ हुन थालेको छ’, एक स्थानीय भन्छन्, ‘अंग्रेजी र नेपाली भाषामा अध्ययन गराइन्छ,बालबच्चा खुशी छन् ।’

१२ वटा कक्षाकोठामा सिमित विद्यालय दंगालकै कार्यकालमा ७६ वटासम्म विस्तार भएको छ । एक कर्मचारीका अनुसार हाल विद्यालयमा १८० जना शिक्षक छन् । ‘तीमध्ये राज्य कोषबाट सेवा सुविधा लिने ३२ जना मात्र छन्’, उनले भने, ‘अरु सबै (१४८) अभिभावक र विद्यार्थीको सहयोग रकमबाट पालिँदै आएका छन्, उहाँ (दंगाल) नभएको भए यो सम्भव हुँदैनथ्यो ।’

रमाइलो के छ भने, अध्यक्ष दंगालले गत वर्ष विद्यालयको एक कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रमुख अतिथि बनाएका थिए । भण्डारीको पार्टी सदस्यतामाथि विवाद चलिरहेको बेला प्रमुख अतिथि बनाएर विद्यालयमा लगिएपछि अध्यक्ष केपी शर्मा ओली निकट स्थानीय नेताहरु असन्तुष्ट बने । त्यसयता उनीहरुले लगातार दंगालमाथि प्रहार गर्न थालेको स्रोत बताउँछ । ‘उहाँ (दंगाल)कै नेतृत्वमा आज विद्यालय कोशी प्रदेशकै नमुना विद्यालय बनेको हो’, स्थानीय स्रोत भन्छ, ‘आगामी कार्यकाल पनि उहाँले नै नेतृत्व गर्नुपर्छ भन्ने हाम्रो चाहना हो, तर पार्टीकै केहीले हुन्न भनिरहेका छन् ।’

प्रधानाध्यापक पशुपति सिग्देलसहित विद्यालय परिवार र ९० प्रतिशत अभिभावक पनि दंगालकै नेतृत्वमा विद्यालय अघि बढोस् भन्ने पक्षमा रहेको स्थानीय स्रोतको दावी छ । ‘यहाँ दुई चार वटा बोर्डिङ स्कुलले विद्यार्थी तान्न खोजेका छन्, पार्टीका मान्छेहरुले पनि उनीहरुलाई साथ दिएका छन्’, स्रोतले थप्यो, ‘दंगाल सर नेतृत्वबाट बाहिरिनुभयो भने विद्यालयको व्यवस्थापन अहिलेजस्तो मजबुत बन्दैन, लाथालिङ्ग हुन्छ, विद्यार्थीहरु घट्दै जान्छन्,जुन हामी चाहन्नौँ ।’

टिप्पणीहरू