रवि र रास्वपा इमान्दार नभएको कुलमानको आरोप
रवि लामिछाने नेतृत्वको रास्वपा र उज्यालो नेपाल पार्टीबीच दुई साताअघि भएको भनिएको एकता चकनाचुर अवस्थामा पुगेको छ । पार्टी राजनीतिमा आबद्धताको आरोप लागेपछि उनेपाका संरक्षक र रास्वपामा उपसभापति रहेका ऊर्जामन्त्री कुलमान घिसिङले केही दिनअघि राजीनामा दिएका थिए।
आज अपरान्ह रास्वपाले सहमति कार्यान्वयन नगरेको बताउँदै कुलमान यसअघि आवद्ध रहेको पार्टी उनेपा छुट्टिएको छ । पहिले संरक्षक रहेका घिसिङ पार्टी अध्यक्ष र पहिलेका अध्यक्ष अनुप उपाध्याय संरक्षक बसेका छन् ।
उता रविहरुको रास्वपाले पनि कुलमानसँगको सहमति भाँडिएको जनाउँदै आजै केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलायो । तर, रविसँग कुलमानभन्दा अगाडि सहमति गरेका काठमाडौंका मेयर बालेन साहको टिमका कतिपयले आजको भर्चुअल बैठकमा भाग नलिएको बताइन्छ ।
यसअघि समानुपातिक उम्मेदवारहरुको बन्द सूचीका लागि उज्यालोले पठाएको १८ जनाको नाम कटौती गरिएको र अधिकांशलाई सूचीको पछिल्तिर राखेपछि कुलमानका मानिसहरु झस्किएका थिए । त्यसपछि नेउपाले हालको संविधान, संघीय व्यवस्था र वर्तमान निर्वाचन प्रणालीबारे स्पष्ट र लिखित प्रतिबद्धता मागिरहँदा रविले विषयान्तर गरेको बताइन्छ ।
आजको पत्रकार सम्मेलनमा पनि कुलमानले उक्त विषयबारे कूटनीतिक भाषामा संकेत गरेका छन् । उनले भने, ‘संघीयता र समावेशीताबारे पूरक सम्झौता गर्नुपर्ने मागमा रास्वपाको स्पष्ट धारणा आएन ।’
२०७९ को स्थानीय निर्वाचनमा बालेनले पनि संघीयतामाथि चर्को विरोध जनाएका थिए भने सोही वर्षको असारमा खुलेको रास्वपा र उनका नेता रविले लगातार प्रदेश र संघीयताको विरोध गरेका हुन् । त्यो वर्षको मंसिरमा भएको आमनिर्वाचनमा रास्वपाले प्रदेश चुनावमा भाग लिएको थिएन । जबकी संघीयताको तीन तहमध्ये एक रहेको स्थानीय तहको निर्वाचनमा विजयी साहले समेत आजसम्म उक्त वास्तविकतालाई आत्मसात् गर्न सकेको देखिँदैन ।
टिप्पणीहरू