गोकुललाई आफ्नैबाट गाह्रो

गोकुललाई आफ्नैबाट गाह्रो

फागुन २१ गतेको निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ता गर्ने तालिका छ । त्यसअघि दलहरूले समानुपातिक सूची बुझाइसकेका छन् । निर्वाचन आयोगले निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ । दलहरू अदल बदल गर्ने क्रम चलिरहेको छ । 

एमालेभित्र महाधिवेशनको ह्याङ ओभर सकिएको छैन । कुनै बेला एमाले अध्यक्ष केपी ओलीले आफ्नै घरमा राखेर केन्द्रीय सदस्य, राज्यमन्त्री, मन्त्री हुँदै सरकारको प्रवक्ता र अझ दुई वटा मन्त्रालयको समेत जिम्मेवारी दिएका गोकुल बाँस्कोटा उनको क्याम्पमा छैनन् । २०७९ को निर्वाचनमा प्रदेश सभाको समानुपातिक सूचीमा माओवादीबाट एमालेमा अड्केकी रीता ढकाललाई नसमेटिएपछि फरक धार समाउन पुगे ।

नेताविरुद्ध विभिन्न स्थानमा बसेर षड्यन्त्र गरेको आरोप लाग्यो । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी समूहमा सक्रिय भए । त्यही कारण अध्यक्ष ओलीले पाखा लगाउन थाले । पार्टीभित्र पनि उनलाई रीता ढकाललाई मात्रैअघि बढाएको भन्दै अरु महिला नेतृहरूले आलोचना गर्न थाले । एकछत्र जिल्ला कब्जा गरेका बाँस्कोटालाई जिल्ला अधिवेशनमा फरक समूहले धक्का दियो ।

भलै उनले रुचाएका ब्यक्ति नै अध्यक्ष बने । तर उनी पनि अहिले फरक समूहमा छन् । त्यसकारण २०८४ अगावै आएको २०८२ को निर्वाचनमा सर्वसम्मत उम्मेदवार बन्न गाह्रो भयो । केही पालिका कमिटीका अध्यक्षले विज्ञप्ति नै जारी गरेर उनको सर्वसम्मतिप्रति असहमति प्रकट गरे । 

गोकुल बाँस्कोटालाई काँध थाप्ने धुलिखेलका नगर प्रमुख अशोक ब्याञ्जु प्रतिस्पर्धी भएर निस्किए । ओली समूहबाट केन्द्रीय सदस्य निर्वाचित भए । अहिले जिल्ला इञ्चार्जका रूपमा भूमिका खोजिरहेका छन् । बाँस्कोटालाई टिकट रोक्न इतर समूह सक्रिय छ । जिल्लामा भने बाँस्कोटा बाहेक अरुले नजित्ने प्रक्षेपण गरिएको छ । 

सिन्धुपाल्चोकमा पनि नेताबीच त्यस्तै देखिएको छ । दोलखामा खुल्लमखुला पार्वत गुरुङलाई रोक्न बालकृष्ण शिवाकोटीले पत्रकार सम्मेलन गरेका छन् ।

(जनआस्था साप्ताहिकको पुस २३ गते बुधबारको अंकमा प्रकाशित)   

टिप्पणीहरू