ओली बोल्दा बोल्दै किन रोकिन् लिलीले ?

ओली बोल्दा बोल्दै किन रोकिन् लिलीले ?

चिसो पुसको दिन, २० गते आइतवार एकाएक मौसम गर्मायो । ‘बरु गोली ठोक, बयान दिन जान्न ।’ भन्दै आएका एमाले अध्यक्ष केपी ओली उपस्थित भएर तीन घण्टा मानवअधिकार आयोगमा बयान दिए । शुरुमा एक बजे आउने सूचना पठाएका उनले पिए राजेश बज्राचार्यमार्फत आधा घण्टा ढिलो हुने खबर दिएका थिए । 

दोस्रो निर्धारित समयमा पनि ओली आयोगमा देखा परेनन् । बरु लिली थापालाई फोन गयो, ‘अध्यक्षज्यू आउन अलि ढिला हुने भयो, चार बजे आइपुग्नुहुन्छ ।’ त्यसो भनेका उनी सात बजे मात्र आयोगबाट निस्किए । जेनजी आन्दोलनमा भएको दमनबारे मानवअधिकार आयोगले असोज पहिलो साता नै प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिसकेको छ । आन्दोलनकारीहरूमाथि अत्यधिक बल प्रयोग भएको उतिबेलै आयोगको ठहर छ । यही ठहरलाई बल पुग्ने गरी सुरक्षा निकायसहित काठमाडौं महानगरका मेयर बालेन्द्र साहसँग समेत बयान लिने काम भएको छ ।     

तत्कालीन गृहमन्त्री रमेश लेखकसमेत त्यस दिन हरिहरभवनस्थित आयोगको कार्यालय पुगेका थिए । मानवअधिकार आयोगको गतिविधि नियालिरहेका ओलीले उसको टोलीलाई गुण्डु बोलाए । यसबीच, अध्यक्ष तपबहादुर मगर र सदस्य लिलीले गुण्डु गएर भने, ‘आयोगले हजुरलाई बोलाउनुपर्ने हुन्छ, यसैले समय बताइदिनुस्, त्यहीअनुसार चिठी पठाउन लगाउँछौँ ।’

मगर र थापाले ओलीसँग भएको भेटबारे सचिव मुरारी खरेल र केही सहसचिवलाई जानकारी गराए । त्यहीअनुसार अनुसन्धान टोलीले प्रश्नपत्र तयार गर्‍यो । लिली संयोजक रहेको टोलीमा सहसचिवद्वय यज्ञबहादुर थापा, प्रकाशदत्त भट्ट र उपसचिव गीता दाहाल सदस्य छन् । लिली थापाले अह्राएअनुसार गीताले पहिलो चरणको प्रश्न तयार पारेकी थिइन् । यसलाई यज्ञ थापा र लिलीले छाँटकाँट गरेको आयोग स्रोतले बताएको छ ।‘शुरुमा अलि कडा प्रश्न तयार भएका थिए ।’ आयोगका एक सहसचिवले भने, ‘गुण्डु गएर आएपछि लिली म्याडम अलि नरम सुनिनुभयो, जसकारण प्रश्नहरू सामान्य खालका तयार भए, ३० देखि ३५ वटासम्म प्रश्न राखियो ।’  

‘गौरीबहादुर कार्कीको छानबिन आयोगले डामे पनि मानवअधिकार आयोगमार्फत निर्दोष देखिने सोच बनेको रहेछ ।’ आयोगका अर्का सहसचिव भन्छन्, ‘लिली म्याडमले जति बल गरे पनि ओलीलाई सफाइ दिन आयोगलाई गाह्रै पर्ला ।’ आयोगको सिफारिस र प्रतिवेदनलाई नेपालमा भन्दा विदेशमा महत्वसाथ हेरिन्छ । उसका अनुसार ओली शुरुमा आएर बयान दिन तयार भएका थिएनन् । नआए प्रतिवेदनमै किटान गरेर दोषी लेखिने र भोलि कर्णेल कुमार लामाजस्तो विदेश जाँदा पक्राउ पर्न सक्ने खबर गएपछि विश्वासपात्रहरूसँग छलफल गरेर बल्ल बयान दिन तयार भएका हुन्। 
‘सोधिने प्रश्नहरू पहिला पठाइदिनू, म लिखित धारणा राख्छु,’ ओलीले लिली थापालाई भनेका थिए, ‘लिखित भएपछि आयोगलाई पनि सजिलो होला ।’ ओलीको प्रस्ताव लिलीले आयोगको टोलीलाई सुनाएकी थिइन् । ‘कर्मचारीहरूले यसमा आपत्ति जनाएपछि लिखित प्रश्न पठाउने काम रोकियो,’ छलफलमा सहभागी एक सहसचिव भन्छन्, ‘फाइनल हुनुभन्दा अघिका प्रश्नहरू म्याडमले पठाउनुभएको भए उहाँ नै जान्नु होला तर अन्तिम प्रश्नावली ओलीको हातमा परेको थिएन ।’ ओली आउने कन्फर्म भएपछि मात्र प्रश्नावली प्रिन्ट गरिएको उनले जानकारी दिए । 

‘आफैँले नियुक्त गरेको पदाधिकारीबाट असहयोग हुन्छ भन्ने मलाई लागेको छैन ।’ ओलीले बयान शुरु नहुँदै यस्तो बोलेपछि एकछिन सबै जना मुखामुख भए । चिया, कफी सोधेर लिली थापाले बयानतिर ओलीको ध्यान तानेकी थिइन् । प्रश्नहरूमा ओली लामो बोल्न थालेका थिए । ‘आयोगको टोलीले केही जानेको छैनजस्तो गरी व्याख्यात्मक शैलीमा प्रस्तुत हुनुभएको थियो,’ बयानमा संलग्न एक सदस्य भन्छन्, ‘यति धेरै जनासँग बयान लिइयो तर यस्तो ज्याद्रो र दम्भी मानिस अहिलेसम्म देखेको थिइन ।’ बेला–बेला ओली लिली थापाको अनुहार हेर्दै बोल्थे । कता–कता आफैँले नियुक्ति दिएकाहरूसँग बयान दिनुपरेकोमा ग्लानि भएको हाउभाउ देखाएका थिए । 

‘मानवअधिकार उल्लंघन भएकोमा के भन्नुहुन्छ ?’ भन्ने प्रश्नमा ओलीले म्याग्नाकार्टादेखि नेपालमा मानवअधिकार आयोग स्थापनासम्म आफूले खेलेको भूमिकाबारे लामो व्याख्या गर्दा लिली थापाले बीचैमा रोकेर, ‘हजुरको योगदानबारे आयोग जानकार छ’ भन्नुपरेको थियो । आयोगसँग विश्वास, भरोसा र सहकार्य सधैँ रहने अन्तिम भनाइ राखी ओली बाहिरिएको एक सदस्यले जानकारी दिए । उनका अनुसार कठपुतली सरकारले बनाएको गौरीबहादुर कार्की आयोगको प्रतिवेदनलाई संवैधानिक रुपमा गठित मानवअधिकार आयोगको प्रतिवेदनले काउण्टर देओस् र आफूलाई बचाओस् भन्ने ओलीको अपेक्षा थियो । संविधान र व्यवस्थालाई सही गन्तव्यमा फर्काउन आयोगको महत्वपूर्ण भूमिका हुने र त्यही कारण आफू आयोगमा सशरीर उपस्थित भएको ओलीले बयान सकिने क्रममा बताएको उनले जानकारी दिए । 

(जनआस्था साप्ताहिकको पुस २३ गते बुधबारको अंकमा प्रकाशित)   

टिप्पणीहरू