भृकुटीमण्डपमा यथास्थितिवादविरुद्ध प्रगतिशील
नेपालको राजनीतिमा गत भदौ २३ र २४ मा देखिएको ‘जेन–जी’ प्रदर्शन र विध्वंशपछि उत्पन्न राजनीतिक उभारले नेपाली काँग्रेसलाई यथास्थितिवादी र प्रगतिशील गरी दुई धारमा विभाजित गरेको छ। विश्व राजनीतिमा देखिएका परिवर्तन, छिमेकी मुलुकहरूले प्राप्त गरेका नयाँ जनादेश र अभ्यासलाई गम्भीर रूपमा अध्ययन–विश्लेषण गर्दै पार्टीभित्र प्रगतिशील विचार निर्माण गर्नुपर्ने अवस्थामा नेपाली काँग्रेस पुगेको देखिन्छ।
यस्तो दूरगामी प्रभाव पार्ने कार्यका लागि निर्णायक तहमा रहेको नेतृत्वका लागि अहिले जत्तिको उपयुक्त समय न विगतमा आएको थियो, न भविष्यमा आउने सम्भावना देखिन्छ। राजनीति र परिवर्तन शाश्वत प्रक्रिया हुन्। राजनीतिक पार्टीले परिवर्तनलाई अभ्यास र आत्मसात् गर्न सकेन भने परिवर्तन सम्भव हुँदैन। परिवर्तनका लागि कारक र कारण आवश्यक पर्छन्। कांग्रेस रूपान्तरण हुने अहिले कारण र कारक दुवै मिलेको समय हो।
तीन दशकदेखि नेपाली राजनीतिमा मौलाउँदै आएको सिद्धान्तविहीन, सत्ताकेन्द्रित र व्यक्तिवादी चरित्र बोकेको नेतृत्व—जो भ्रष्ट, स्वेच्छाचारी र असक्षम साबित हुँदै आएको छ । त्यसबाट आजका युवाहरू गहिरो वितृष्णामा पुगेका छन् । यो मनोविज्ञानलाई बुझेर राजनीतिक रूपमा सम्बोधन गर्न नसक्ने राजनीतिले विकास र समृद्धिका मुद्दामा परिणाममुखी उपलब्धि दिन सक्दैन।
असक्षम ठहरिएका पुराना नेतृत्वलाई आन्तरिक संगठनको जिम्मेवारीमा सीमित गर्दै, यथास्थितिवादी प्रवृत्तिविरुद्ध उभिएका प्रगतिशील सोच बोकेका अनुभवी नेताहरू र नयाँ पुस्ताको संयोजनबाट मात्रै ‘तन्नेरी कांग्रेस’ निर्माण गर्न सकिन्छ।
नेपाली कांग्रेसलाई समयसापेक्ष परिवर्तन गर्न केवल पुराना अनुहार पर्याप्त हुँदैनन्। असक्षम ठहरिएका पुराना नेतृत्वलाई आन्तरिक संगठनको जिम्मेवारीमा सीमित गर्दै, यथास्थितिवादी प्रवृत्तिविरुद्ध उभिएका प्रगतिशील सोच बोकेका अनुभवी नेताहरू र नयाँ पुस्ताको संयोजनबाट मात्रै ‘तन्नेरी कांग्रेस’ निर्माण गर्न सकिन्छ।
नेपाली राजनीतिको मेरुदण्डका रूपमा रहेको, लामो विरासत बोकेको नेपाली कांग्रेसभित्र अहिले भइरहेको बहस केवल नेतृत्व परिवर्तनमा सीमित छैन। यो बहस सिङ्गो नेपाली राजनीतिलाई नीति, नेतृत्व र स्पष्ट कार्यदिशा दिन सक्ने नेतृत्व खोजीको बहस हो। तर पार्टीभित्र देखिएको नेतापरक विचलनले कांग्रेस विभाजनतर्फ जानसक्ने खतरा पनि संकेत गरिरहेको छ।
कांग्रेसभित्र खतराको घण्टी कसले बजाइरहेको छ ?
कांग्रेसभित्र सतहमा देखिएजस्तो विभाजनको रेखा परेको होइन, बरु पुरातन सोच बोकेका र नूतन यात्रामा निस्किएका तरुण–तन्नेरीहरूबीचको पर्दा मात्र खुलेको हो। पुराना कांग्रेसीहरू सात सालको विरासतबाट आएको संसदीय प्रजातन्त्रको मोडल पुनरावलोकन गर्नसमेत तयार छैनन्।
आर्थिक नीतिमा उनीहरू अझै नवउदारवादलाई अन्तिम विकल्प ठान्छन्। यस्तो कांग्रेसलाई आजको युवा पुस्ताले कसरी बोक्न सक्छ ? सक्दैन। ‘टेस्टेड एण्ड फेल’ नेतृत्व, संवैधानिक राजतन्त्रसँग जोडिएको प्रजातन्त्रको भाष्य बोकेर अबको जेन–जी कांग्रेस अघि बढ्न तयार छैन।
लोकतान्त्रिक पार्टी वैचारिक रूपमा कहिल्यै पूर्णतः एकरूप हुन सक्दैन। हिजो प्रदीप गिरी सधैँ पार्टीभित्र फरक मतसहित उभिएका थिए। आज गगन थापा र विश्वप्रकाश शर्माले पार्टीलाई उन्नत, गतिशील र प्रगतिशील धारमा डो¥याउने प्रयास गरिरहेका छन्। तर यथास्थितिवादी सोच बोकेका कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र शेखर कोइरालाजस्ता नेताहरूका कारण कांग्रेसभित्रको लोकतन्त्र कमजोर बन्दै गएको अनुभूति गलत हुँदैन।
देउवा पक्षधरहरूको मूल द्वन्द्व पार्टी रोज्ने कि व्यक्ति रोज्ने भन्नेमा केन्द्रित देखिन्छ। टिकट बाँड्ने, पद लम्ब्याउने र सत्तामा टिकिरहने प्रवृत्तिले पार्टी जकडिएको छ। पार्टीलाई प्रधान बनाइयो भने समाधान सम्भव छ, तर व्यक्ति प्रधान बनाइयो भने कांग्रेस फुटको खतराको घण्टी स्वयं देउवाकै हातमा हुने छ ।
अबको मार्ग : उन्नत लोकतान्त्रिक र प्रगतिशील धार
नेपाली राजनीतिप्रति बढेको निराशा चिर्ने प्रयासमा गगन थापा र विश्वप्रकाश शर्माको ध्यान विशेष महाधिवेशनतर्फ केन्द्रित छ। यो प्रयास कति सफल हुन्छ भन्ने अहिले नै ठोकुवा गर्न सकिँदैन। तर गगन थापालाई भावी सभापतिको रूपमा हेर्ने भीड पार्टीभित्र र बाहिर दुवैतर्फ अर्थपूर्ण बनेको छ।
यी नेताहरूले ‘उन्नत लोकतन्त्र’को अवधारणामात्रै अघि सारेका छैनन्, लोकतन्त्रको कोरा भाषणभन्दा व्यवहार आवश्यक छ भन्ने सन्देशसहित विद्रोहसमेत गरेका छन्। ‘समुन्नत नेपाल’लाई कांग्रेसको कार्यसूचीमा राष्ट्रिय संकल्पका रूपमा अघि सार्दै सामाजिक लोकतन्त्रलाई स्पष्ट सिद्धान्तका रूपमा प्रस्तुत गरेका छन्।
बीपी कोइरालाको भनाइ—‘देशको विषयमा द्विविधा भए मातृभूमिको माटो एउटा हातमा र छातीमा अर्को हात राखेर निर्णय गर’—को सार जनताको आवाज सुन्नु हो। गगन र विश्वप्रकाश अहिले पार्टीको पिँधमा रहेका कार्यकर्ताको आवाज सुन्दै निर्णय लिइरहेका देखिन्छन्।
नेपाली कांग्रेसले स्थापनाकालदेखि अंगीकार गरेको बहुलवादमा आधारित उदार लोकतान्त्रिक व्यवस्था आज सबै राजनीतिक शक्तिका लागि साझा यथार्थ बनेको छ। वैकल्पिक भनिएका दलहरूको वैचारिक स्रोत पनि अन्ततः कांग्रेसकै मूल्य–मान्यतामा आधारित देखिन्छ—फरक केवल प्रस्तुतिको शैलीमा हो।
तसर्थ,
विशेष महाधिवेशनले देशमा देखिएको राजनीतिक तरलतालाई सम्बोधन गर्न सकोस्। महामन्त्रीद्वयको प्रस्ताव समयमै स्वीकृत गर्दै पार्टीलाई रूपान्तरण गर्नसक्ने क्षमता भएका, लोकतान्त्रिक संस्कार र जनआकांक्षाको केन्द्रमा रहेका युवा नेतृत्वलाई अघि बढाउन पार्टी नेतृत्वले दृढता देखाओस् यही शुभेच्छा।
टिप्पणीहरू