गोविन्दराज जोशीले आँखा चिम्लिँदा बालेन
बालेन्द्र साह एक चम्किलो भ्रम हो । भीड सधैँ चमकदार नयाँ परिदृश्यमा आकृष्ट हुन्छ । तीन वर्षअघि नेपालको स्थानीय चुनाव हुनुपहिले कसले चिनेको थियो बालेन्द्र साहलाई ? र्याप संगीतका पारखी शहरिया युवा जमातबाहेक आम जनतालाई उनको अस्तित्वको आभाषसमेत थिएन । कस्ता गीत गाउँथे उनी ? ‘तिम्रो छाती आइमाईको जस्तो गिलोे गिलोे !’ २०७९ सालको स्थानीय चुनावमा राजधानी महानगरपालिकाको मेयर पदमा उठेपछि एउटा पुरानो गीतमा आधुनिक संगीत दिएर बालेन साहले नयाँ छवि प्रस्तुत गरे । गीतको बोल थियो, ‘गरीबको चमेली बोल्दिने कोई छैन!’
यो गीत उनको आफ्नो थिएन । बालेन साहको सामाजिक सञ्जालमा ‘सिंहदरबार जलाइदिने’ स्टाटसलाई साकार रूप दिने जेन जी आन्दोलनकारीलाई थाहा छैन, यो गीत बालेन साहको होइन । २०२३ सालमा क्रान्तिकारी चेतसहित युवाको एक समूह संगीत क्षेत्रबाट जुर्मुरायो । नाम थियो– ‘राल्फा !’ मेघराज शर्मा (मञ्जुल), हरि श्रेष्ठ (नोरेम), खगेन्द्र बस्नेत (सिमोस), निरञ्जन चापागाईं (निनु), नारायणभक्त श्रेष्ठ (रायन), रामेश्वर श्रेष्ठ (रामेश), अरुण, ऋषि, मनोज (अरिम) आदिले शंखनाद गरेको अभियानको गीत थियो यो । यो समूहले त्यो बेला ‘गाउँ गाउँबाट उठ, बस्ती बस्ती बाट उठ’ भन्ने भोजपुरका श्याम तमोट लिखित गीत चार भाषामा अनुवाद गरेर भुइँ मान्छेको चेतना जगाउन जे गरेको थियो, अहिलेको जेन जीलाई यसको जानकारी त टाढाको कुरा, आभाष पनि छैन ।
त्यो बेला यो गीत गाएकै कारण पञ्चायती सरकारले राजकाज मुद्दा ठोकेर महिनौँ जेल चलान गर्नु सामान्य हुन्थ्यो । त्यो बेला भ्रष्टाचार र सुशासन मात्र होइन, सवाल राजाको रैती हुने कि नागरिक भन्ने थियो । ०४६ सालपछि जन्मिएको नेपाली पुस्ताका निम्ति प्रजातन्त्र शब्द सस्तो मात्र होइन, एक अभिशाप भएको छ । यो कालखण्डपछि सत्तामा आएका राज्य सञ्चालकहरू नयाँ पुस्तालाई प्रजातन्त्रको सुन्दर पक्षको चित्रण गर्न असफल ठहरिएका छन् ।
०२८ सालमा नयाँ शिक्षा प्रणाली लागू भयो । राजा वीरेन्द्र नयाँ थिए । दरबार पुरातनीको कब्जामा थियो । यो प्रणाली सन् १८३५ मा बेलायती सम्भ्रान्त सर थोमस मकोलेले भारतमा लागु गरेको शिक्षा नीतिबाट दुरुस्त सापट लिईएको थियो । मकोलेको धारणा थियो– भारतीय परम्परागत शिक्षा प्रणाली व्यक्तिको स्वतन्त्रतालाई प्रोत्साहित गर्ने आशयले बनेको छ । उनले तत्कालीन बेलायती शासकलाई लेखेको रिपोर्टमा भनिएको छ, ‘यो शैक्षिक प्रणाली अन्तर्गत हामी भारतमाथि मनोवैज्ञानिक कब्जा गर्न सक्दैनौं । आगामी पुस्ताको मनोभाव परिवर्तन गर्नु जरुरी छ । अब स्थानीय भाषामा पढाइने शैक्षिक सामग्रीको साटो अंग्रेजीलाई प्राथमिक भाषामा स्थापित गर्नु आवश्यक छ । हाम्रो सोचअनुसार पढेका नयाँ पुस्ता हामीलाई कर्मचारीका रूपमा उपलब्ध हुनेछन् । तर, स्वतन्त्रताजस्ता जटिल विषयमा उनीहरूको सोच संकीर्ण हुनेछ । यो हाम्रो उपलब्धि हो ।’
मेरो पुस्ताले पढेको र नपढी ‘पास’ नहुने विषय थियो, ‘महेन्द्र माला, ’ अनि ‘पञ्चायत, ’ यी दुवै अनिवार्य विषय थिए । जीवनको पाँचौ दशक पुरा गर्दैछु । त्यो बेला पढेका कुरा मलाई आजपर्यन्त कहीं कतै काम लागेको छैन । ०४८ सालमा शिक्षा मन्त्री भएका गोविन्दराज जोशीलाई सोधेको थिएँ, ‘यो एउटा पुरानो युगको अन्त्य र नयाँ युगको शुरुवात हो । पञ्चायतकालीन शिक्षा पद्धतिलाई परिमार्जन गरेर समयसापेक्ष शिक्षा नीति तर्जुमा गर्नेबारे तपाईंको सोच के छ ?’ जोशी आफै शिक्षक हुन् वा थिए । उनले एक मिनेट आँखा चिम्लेर भने, ‘अहिले हामीलाई प्रजातन्त्र संस्थागत गर्ने चुनौती छ, शिक्षा नीतिबारे सोच्नलाई समय छैन र ?’ गोविन्दराज जोशीले आँखा चिम्लिएको परिणामका उपज हुन् बालेन्द्र साहहरू !
लहडीको बिगबिगी
बालेन साह सन् २०२४ को जुन महिनामा ब्राजिल गए । साओ पाउलोमा भएको ‘मेट्रोपोलिस बोर्ड अफ डिरेक्टर्स’ नामक बैठकमा भने, ‘मेरो देशमा पनि समस्या छ । राजधानी बाहिरका आर्थिक आप्रवासीले शहरको फुटपाथ कब्जा गरेका छन् ।’ उनले यसो भन्दा महानगरपालिकाका कामु एसएसपी राजु पाण्डेको निर्देशनमा सडक व्यापारीमाथि लाठीमुंग्री हुँदै थियो । राजधानीको सडकमा इमान्दार जीवनयापन गर्नेहरूको अधिकारमाथि निर्दयी कुठाराघात भएको दृश्य सामाजिक सञ्जालमा छरपष्ट भयो । गरिबको चमेलीका लागि बोलिदिने मान्छे त्यहाँ कोही भएनन् । पढाइको हिसाबले बालेन साह सिभिल इञ्जिनियर हुन् । अलि सम्मानजनक रूपले यसलाई ‘स्ट्रक्चरल इञ्जिनियर’ भन्नु अर्कै कुरा हो । यी इञ्जिनियरले चुनाव जित्नेबित्तिकै खोतलेको टुकुचाको अवस्था के छ ? स्थानीय निकाय नियमावलीअनुसार उनले गर्न सक्ने कुरा धेरै थिए । के भयो, के भएन ? उनले कति समय पुरानालाई गाली गर्न सामाजिक सञ्जालमा समय खर्च गरे ? कति समय राजधानी उपत्यकाका महामेयरको रूपमा कानुनले दिएको अधिकार सदुपयोग गरे ? फल्चा बनाउन ? दरबारमार्गमा चिप्लो बाटो बनाउन ? जो आफ्नै मातहतको शहर सुन्दर बनाउने नाममा नागरिकको आजीविका हरण गर्दा खुशी हुन्छ, कसरी होला त्यो राष्ट्रिय नेता ?
बालेन साहलाई कुनै शक्तिले प्रयोग गर्दै छ । जसरी थुनामा रहेका रास्वपाका सभापतिलाई सुदन गुरुङले कानमा केही फुस्स भनेको छ । जसरी पार्टी सभापति र चौध जना समानुपातिक सांसद पहिलो प्राथमिकतामा हुनुपर्ने अडान लिएर बसेका कुलमान घिसिङ मध्यरात सुदन गुरुङको हात समातेर रास्वपाको उपसभापति हुन लाचार भए, जसरी अन्तिम समयमा पूर्वजर्नेल बालानन्द शर्मा परराष्ट्रमन्त्री नियुक्त भए, जसरी प्रधानमन्त्री सुशीला कार्की बेतुकको अनशन बस्ने एउटा नटुवालाई जुस पिलाएर जनतामा एउटा ‘अप्टिक’ सिर्जना गर्ने भूमिकामा सीमित छन्, यी परिदृश्यले भन्दै छन्, नेपालको आगामी मार्गचित्र नेपालीको हातमा छैन । सेनापति अशोक सिग्देललाई नेपालीले शक्तिशाली देख्नु अर्कै कुरा, तर उनको हात चल्दैन । उनको शक्तिको सीमा भूराजनीतिक माकुरे जालोमा अल्झिएको छ ।
सुशीला कार्कीको कुरै नगरुँ । शेखर कोइरालाले गगन थापालाई साथ नदिनुको कारण आन्तरिकभन्दा बाह्य दवाव हो । केपी ओली निभ्न लागेका बत्ती मात्रै हुन् । यो स्थितिमा कालो चश्मा र नीलो स्यालको नाटकीय उदय भूराजनीतिक चलखेलको भुंग्रोमाथि उम्लिएको क्षणिक फोका मात्रै हो । यिनलाई आफू कसरी बन्ने र जोगिने चिन्ता छ, देश कसरी बन्ने होला र ? देश गौतम बुद्धको माटोको मूर्ति होइन, बनाउने र भत्काउने ! जसको न अडेस लाग्ने आड छ, न समाउने हाँगो, उनीहरू नै देश ‘बनाउने’ कुरा गर्दै छन् । र, हामीले पत्याइदिनुपर्ने बाध्यता छ ।
(जनआस्था साप्ताहिकको पुस २३ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू