गरिखानेभन्दा ठगीखानेको झुण्ड बढेपछि...
पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवाको संख्या क्रमशः बढ्दो क्रममा छ ।
दैनिक साढे दुई हजारको हाराहारीमा युवाहरुले मुलुक छाडिरहेका छन् । एकातिर युवाहरु धमाधम विदेश पलायन हुँदा अर्कोतिर राष्ट्रमाथि ऋणको भार पनि थपिइरहेको अवस्था छ । यसो हुनुको पछाडि मुख्य पाँच कारण रहेको बताइन्छ ।
१) गरिखानेभन्दा ठगीखानेहरुको झुण्ड वर्षैपिच्छे बढ्दै जानु ।
२) राजनीतिको नाममा गाउँकै बाठाहरुले बरालेरै दैनिक कर्मक्षेत्रबाट पलायन हुनु ।
३) हैसियतभन्दा ज्यादा देखासिकी फेसनको जञ्जालमा फस्नु ।
४) मनोरञ्जन र खेल भन्दै धनी साथीहरुको लहैलहैमा फसेर आफैंलाई बिर्सिनु ।
५) राजनीतिक नेताहरुले उनीहरुको श्रम र समयको शोषण गरेर बानी बिगार्नु ।
हाम्रा गाउँघरको बस्ती खाली हुँदै गएको छ । गाउँघरको जमिन बाँझै छ । मान्छेहरु बिलासी र देखासिकीमा फसेका छन् । अरुको जस्तै जीवनशैली जिउनुपर्ने होडबाजीमा लागेका छन् । नागरिक फेसन र व्यसनको शिकार बन्दा राष्ट्रिय ऋण बढ्दै र जनशक्ति घट्दै गएको छ । बेरोजगारहरु नेता बन्दै हिँडेका छन् । दलालहरुले विदेश पठाइदिने आश्वासन बाँडेर नक्कली कागजपत्र बनाएर गाउँका युवाहरुलाई फसाइरहेका छन् ।
हरेक टोल–टोलमा दलालहरु सल्बलाएका छन् । त्यस्ता व्यक्तिहरुलाई नेतादेखि प्रशासनसम्मले पुल्पुलाइरहेको अवस्था छ । जसको जल्दोबल्दो उदाहरण भिजिट भिसा हो । सो प्रकरणमा मुलुकको भूपूगृहमन्त्रीसमेत जोडिएका छन् । करोडौं असुलेर नेपालीलाई भिजिट भिसामा विदेश पठाइन्थ्यो भन्ने विषय छर्लङ्ग बाहिर आइसकेको छ ।
प्रश्न उठ्छ–आजको युगमा हरेक जिल्लामा स्कुल–कलेज छन् । सबैले पढ्न–लेख्न जानेका छन् । पढेकै व्यक्तिहरु ठगीमा परिरहेका छन्, तर कसरी ? यसको उत्तर दिन झनै कठिन छ । पहिले हाम्रो देशमा धेरै पढेलेखेका व्यक्तिहरु थिएनन् । एकाधले मात्र अक्षर चिन्थें । विदेशबाट लाहुरे छोराले पठाएको चिठी पढ्ने मानिस भेट्न मुश्किल थियो । थरीबा, जिम्वालबा, पुरेतबाले चिठी पढेर सुनाइदिनुपथ्र्यो ।
म आफैंले २००३ सालमा निलो मसिले राम्रो अक्षरमा लेख्ने लाहुरे काका जगरबहादुर थापाको चिठी पढ्थें । त्यति जान्ने हुँदा के–के न आउँछ ? जस्तो महशुस हुन्थ्यो । तर, आजका ९० प्रतिशतले अक्षर चिन्छन् । तैपनि, उनीहरु ठगिएका छन् । त्यो बेलाका निरक्षर आमा र बुवाहरुले बालकै उमेरमा आफ्नो पेशा सिकाउँथे । केही गलत कार्य गर्यो भने गाली गर्थें । अहिलेका बालबालिकालाई बाबुआमा नैतिकताको पाठ सिकाउन चुकेका छन् ।
जसका कारण समाजमा मानवताको खडेरी लागेको छ । एउटाले अर्कोलाई ठगेर मोटाइरहेका छन् । यता, राज्य पनि विलासिताको बाटोमा गइरहेको छ । ‘ऋण लिएर घ्यु खाने प्रवृत्ति’ सरकारमासमेत देखिएको छ ।
टिप्पणीहरू