नेपाल विश्व शक्तिसंघर्षको चेपुवामा पर्दै गएको छ । शैक्षिक अवसर र सूचना प्रविधिको कारण सामाजिक चेतना व्यापक स्तरमा उठेको छ तर विभ्रम पनि त्यत्तिकै छ र त्यसखाले भ्रमको खेतीलाई सूचना प्रतिक्रान्ति पनि भन्ने गरिएको छ ।
१. कम्युनिष्ट एकता
देशको आवश्यकता र जनअपेक्षा कम्युनिष्ट पार्टी र समूहहरुबीच एकता र सहकार्य हो । त्यसकारण नेकपा (माओवादी) कम्युनिष्ट एकताको पक्षमा छ । सबैजसो घटकसँग धेरथोर एकता अथवा सहकार्यको बहस चल्दै आएको छ । पूर्वमाओवादी केन्द्रको प्रमुख नेतृत्वले ‘विचार र राजनीति मिलेकै छ, संगठनमा मिलाउन बाँकी हो, त्यो पनि सकिन्छ’ भनेकै थियो । दोस्रो, तेस्रो तहका नेताहरुले ‘वैचारिक, राजनीतिक विषयमा प्रवेश ग¥यो भने एकता नै हुँदैन, महाधिवेशनमा फैसला गर्ने गरी एकता गरौं’ भनिरहेका हुन्छन् । पहिलो प्रवृत्ति इमान्दार होइन किनकि हाम्रा सोचहरु गलत हुन सक्लान् तर बहस नै अस्वीकार गर्नु भगुवा र उपभोक्तावादी–पुँजीवादी प्रवृत्ति हो । विचार र राजनीतिमा संस्थागत छलफलसम्म भएको छैन । कम्युनिष्ट पार्टीमा ‘बा प्रवृत्ति’ ले काम गर्दैन ।
सबैलाई पद, पैसा र विदेशी धम्की प्रयोग गरेर किन्न सकिन्न । दोस्रो प्रवृत्ति सापेक्षिक इमान्दार प्रवृत्ति हो तर महाधिवेशनमा जान आधारभूत विषय मिल्नुपर्छ । राप्रपा, कांग्रेससँग महाधिवेशनमा फैसला गरौं भन्न सकिन्न । यो प्रवृत्ति नेकपा (माओवादी) लाई विघटन गराउने रणनीतिमा रहेको धारा हो । एकता भन्ने, विघटनको अपेक्षा गर्ने सोच हो । पूर्व माओवादी केन्द्रका नेताहरु विप्लव र नेकपा (माओवादी) को विकासमा आफ्नो नैतिक पराजय र मृत्यु देख्छन् । त्यो पार्टीमा रक्तचन्दन तस्कर, सुन तस्कर, विदेशी मुद्रा तस्कर, भन्सार तस्कर (जालिम मियाँको सल्लाह हाललाई नभए पनि), विदेशी एजेण्ट (कुलमानले लत्याए पनि) र भ्रष्टाचारीहरुको बर्चश्व छ । तसर्थ त्यो पार्टी नभएर ‘आर्थिक स्वार्थ समूहको संयुक्त मोर्चा’ हो । त्यसैले त हामीले पहिला पार्टी त बनाउनुस् भन्दै आएका थियौं । विप्लव र प्रचण्ड प्रवृत्तिबीचमा दुई विश्व दृष्टिकोण टक्करमा छन् । विचार र राजनीतिबीचको बहसलाई गल्लावालको तराजुमा झार्नु अवसरवादको विशेषता नै हो ।
उत्तर र दक्षिण दुवै शक्तिहरु चकित । शक्तिकेन्द्रको त त्यो हालत भयो भने हाम्रा शासकको बेहाल हुनु स्वभाविक नै हो । हेलीमा भाग्ने र मोटरमा भाग्नेबीचमा के फरक हुन्छ ?
आहुति, जनार्दन शर्मा, घनश्याम, विप्लव र नारायणकाजी श्रेष्ठबीच एकताको चर्चाहरु पनि यसबीचमा भए । त्यसका लागि नारायणकाजी र आहुतिले प्रयास पनि गरे होलान् । त्यो प्रयास एकदमै मनोगत र सिद्धान्तहीन थियो । तीमध्ये कति भ्रष्टाचारमा डुबेका, कति माक्र्सवादको आधारभूत सिद्धान्त नमान्ने र कति अनैतिक–अराजनीतिक प्रवृत्तिका थिए । नारायणकाजीलाई प्रचण्डसँग सौदाबाजी गर्नु थियो भनिन्छ भने आहुतिले जनताले पत्याउने, अपिल सुन्ने शक्तिको निर्माण गर्न सकिन्छ कि ? भन्ने थियो होला । तर, ती व्यक्ति र पार्टीबीचको एकता विसर्जनको यात्रा हुन्थ्यो । हामी त्यसप्रकारको धु्रवीकरणमा सहमत भएनौं । अन्य व्यक्ति र घटकबीच पनि बहस जारी छ तर तत्काल पार्टी एकता सम्भव देखिन्न । कम्युनिष्ट केन्द्रको आवश्यकता झन् बढेर गएको छ । क्रान्तिकारी र दक्षिणपन्थी दुई केन्द्र बन्नैपर्छ तर त्यो एकता होइन कि धु्रवीकरणको प्रक्रियाबाट बन्न सक्छ ।
२. प्रचण्ड–माधव मोर्चा
नेपालमा भूराजनीतिक हस्तक्षेपले आन्तरिक राजनीतिक सन्तुलनमा मुख्य भूमिका खेल्न थालेको छ । अमेरिकाको हस्तक्षेप र दशक लामो तयारीपछि जेनजी विद्रोह भयो । उत्तर र दक्षिण दुवै शक्तिहरु चकित । शक्तिकेन्द्रको त त्यो हालत भयो भने हाम्रा शासकको बेहाल हुनु स्वभाविक नै हो । चीन, भारत, रसिया एकातिर र अमेरिकासहित पश्चिमाहरु अर्को खेमामा देखिए । यो शक्ति सन्तुलन कहाँ गएर टुंगो लाग्छ र कस्तो हुन्छ भन्न सकिन्न । त्यसैले क्रान्तिकारी धारा निर्माण गरेर आवश्यक परे बलिदान हुन तयार हुने कि कुनै शक्ति केन्द्रको सहयोग लिएर बाँच्ने ? यो आजको आधारभूत प्रश्न हो । यसमा पूर्वमाओवादी केन्द्र दक्षिण ढल्केको छ र सहजकर्ताको रुपमा माधव नेपाललाई रोजिएको छ । माधव निर्णायक भएका कारण पूर्वमाओवादी केन्द्रले नाम, चुनाव चिह्न, विचारधारा सबै छोड्नुपर्ने भयो । माधव नेपालनिकट जगन्नाथ खतिवडालगायतले ‘प्रचण्डको नेतृत्व, माधवको विचार’ भएको धारणा सार्वजनिक गरिसकेका छन् ।
३. केपी ओली–माधव चर्चा
वार्षिक १ खर्ब २० अर्ब आम्दानी हुने लोभ देखाएबापत महाकाली सन्धिसँग जोडेर केपी ओलीको नाम चर्चामा आए पनि राष्ट्रघाती महाकाली सन्धि गर्ने बेला माधवकुमार नेपाल नेतृत्वमा थिए । त्यसैले बिहार, बैरगनियामा जन्मेका माधव नेपाल पनि महाकाली सन्धिका दोषी हुन् । यसबेला महाकाली सुम्पने माधव नेपाल र एमसिसी पारित गर्ने प्रचण्डबीच गठजोड बन्न गएको छ । महाकाली र एमसिसीमा केपी ओली पनि दोषी छन् । प्रचण्डको दोस्रो तहका धेरै नेता भ्रष्टाचार र तस्करीको छानबिनमा छन् । माधव नेपाल तारेख खेपिरहेका छन् ।
एमाले र ओलीको आन्तरिक राजनीतिक सन्दर्भमा हाम्रो भन्नु धेरै छैन । त्यो उनीहरुको आन्तरिक मामिला होला । महाकाली सन्धिमा माधव नेपाल पहिलो र ओली दोस्रो नम्बरका दोषी हुन् । एमसिसीमा उनी प्रचण्ड र माधवजत्तिकै दोषी छन् । भारतको नाकाबन्दीविरुद्ध अडान, चीनको सैन्य परेडमा उपस्थिति, चुच्चे नक्सा संसदबाट पारित गराउनु ओलीका सकारात्मक कार्यहरु हुन् । भारत र अमेरिका दुवै ओलीलाई समाप्त गर्न चाहने तर जनसमर्थन तथा वैकल्पिक विश्व शक्तिको समर्थन पनि कमजोर हुँदा केपी ओली चौतर्फी प्रहारको निशानामा परे । त्यो कारण नेपाली जनमत पनि प्रभावित छ र बंगलादेशको दिशामा गएको छ । केपी ओली बालुवाटारबाट हेलिकप्टर चढेर भाग्दा माधव र प्रचण्ड सेनाको सवारी साधनमा सिंहदरबारबाट शीतलनिवास जानुपरेको हो । हेलीमा भाग्ने र मोटरमा भाग्नेबीचमा के फरक हुन्छ ? प्रचण्ड–माधवको कार्यालय र निवासमा आगो लागेन ? प्रचण्ड समूहका कतिपय मित्रले विप्लवसँग अपेक्षा रहेकाले आलोचना गरेको भन्ने गर्छन् । एउटा पार्टीमा बस्ने, अर्को पार्टीको नेताप्रति अपेक्षा गर्ने कुरा अनैतिक हो । काइते प्रवृत्ति हो । जहाँ शरीर, त्यहीँ मन हुनुपर्दछ । साखुल्ले पल्टनु दलाल प्रवृत्ति हो ।
४. भू–राजनीतिक प्रभाव
चीन र भारतले कूटनीतिक कामलाई तीव्र पारेकै छन् । अर्कोतिर सैन्य सतर्कता बढाएका छन् । भदौ २४ गते प्रधानमन्त्री बन्ने दौडमा बालेन्द्र साह, रवि लामिछाने, कल्याण श्रेष्ठलगायतको सुलसुले चर्चा थियो । एक जना गृहमन्त्री तथा उपप्रधानमन्त्रीसमेत रहिसकेका नेताका अनुसार चिनियाँ कूटनीतिज्ञले नेपाली सेना प्रमुख सिग्देललाई ‘हामीले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनौं भन्नुको अर्थ विदेशीहरुले जे गरे पनि सहिन्छ भन्ने होइन’ भनेको बताएका छन् । त्यसैबीच दिल्लीले बेइजिङसमेतको सहमतिमा मुभ बढाएपछि सुशीला र रामचन्द्रको ‘तालुमा आलु फलेको’ विप्लव सिको कथा प्रारम्भ हुन्छ । आजसम्म आइपुग्दा अमेरिकीहरु सुशीला कार्की नेतृत्वको सरकार हटाएर आफू समर्थक सरकार गठन गर्न चाहन्छन् । भारत–चीन पक्ष सर्वदलीय–सर्वपक्षीय सरकारको नाममा पुरानै संसदीय व्यवस्थालाई प्राण भर्न चाहन्छन् । एमाले–कांग्रेस बौरिन नपाउँदै चुनावमा जाने चाहना प्रचण्ड–माधव समूहको हुन सक्छ ।
प्रधानमन्त्री र गृहमन्त्रीलाई कारवाही गर्ने कि नगर्ने भन्नेमा शक्तिकेन्द्रहरु टक्करमा छन् । दुर्गा प्रसाइँ, हर्क साम्पाङहरुले कट्टर अमेरिकापरस्तको भण्डाफोर गरिरहेका छन् । त्यसलाई पनि अन्तर्राष्ट्रिय टक्करको अभिव्यक्ति मान्नैपर्छ । पश्चिमाहरु भारत र बंगलादेशलाई पनि ‘दलाल बन अन्यथा विभाजन झेल्न तयार होऊ’ भन्दैछन् । त्यसको संकेत ‘चिकेन नेक’ र आसपासमा प्रष्ट देख्न सकिन्छ । यस खाले तानातानको प्रभाव नेपालभित्र परिरहेको छ । राजनीतिक पार्टीहरु, सुरक्षा निकाय, कर्मचारीतन्त्र सबै शक्ति केन्द्रको दबाबमा छन् । भूराजनीतिक दबाब सबैभन्दा धेरै अर्थतन्त्रमा परेको छ । जनता उद्वेलित छन् । नेपाली समाज विघटनको संघारमा छ र ‘तावाबाट हाम्फालेको माछा भुङ्ग्रोमा’ उखान बन्ने–बनाइने खतरा उत्तिकै छ । तर, यथास्थिति वा प्रतिगमन आजको राजनीतिक समस्याको समाधान होइन । नेपाली विशेषताको समाजवाद त्यसको विकल्प हुन सक्छ । जसको लागि देशभक्त र कम्युनिष्टबीचमा सहकार्य वा मोर्चाबन्दी आवश्यक छ ।
५. नेपाली राष्ट्रवाद
नेपाली राष्ट्रवाद पृथ्वीनारायण शाहको एकीकरण अभियान र भारत वर्षमा ब्रिटिश साम्राज्यको प्रवेशसँगै उत्कर्षमा पुग्यो र सुगौली सन्धि तथा भीमसेन थापाको हत्यासँगै दलाल धाराको उदय भएको हो । ब्रिटेनको स्थानमा भारत र अमेरिका छन् । पछिल्लो अवस्थामा अमेरिका मुख्य खेलाडी बनेको छ र भारतलाई पछुवा बनाउन चाहन्छ । तसर्थ एमसिसी र अमेरिकी हस्तक्षेप नेपाली राष्ट्रवादको एक मात्र पूर्वशर्त हो । विदेशी हस्तक्षेपविरुद्ध नलड्नेहरु देशभक्त हुन सक्दैनन् । देशभक्त र कम्युनिष्टबीच एकता कायम गरेर जाने नीति र नेतृत्व आजको आवश्यकता हो ।
६. प्रचण्ड–विप्लव बहस
प्रचण्ड, किरण, बाबुराम वा अरु कोही नेता र नीतिविरुद्ध वा जनयुद्धविरुद्ध आक्रमण हुँदा त्यसको विपक्षमा उभिनु जनयुद्धको रक्षार्थ उभिनु हो । जसरी हामीले झापा विद्रोहको रक्षा गथ्र्यौं र गर्छौं । त्यसरी नै जनयुद्ध एउटा वर्गसंघर्ष भएको कारण हरेक कम्युनिष्ट जनयुद्धको पक्षमा उभिनुपर्दछ । जनयुद्धबाट आएका नेताहरुले गर्ने विकृतिप्रति हाम्रो सरोकार छैन । त्यसैगरी जनयुद्धप्रति प्रचण्डले गरेको धोका र गल्ती स्वीकार गर्नुपर्दछ । सेक्टर काण्डमा गल्ती गरेका कारण क. किरणले नैतिकताको आधारमा राजीनामा गरेर नेतृत्व हस्तान्तरण गरेका थिए । प्रचण्डले गल्ती स्वीकार गरेर नेतृत्व छाड्नुपर्छ । यो ‘ओपन सेक्रेट सत्य’ भएको कारण प्रचण्ड विप्लवको उदयमा आफ्नो मृत्यु देख्छन् ।
जनयुद्ध र क्रान्तिकारी शक्ति छ भन्ने देख्नुपर्दा आफ्नो औचित्यमा प्रश्न उठेको ठान्छन् र वर्गशत्रुकै स्तरमा झर्छन् । हार्दै गरेको, डराएको जवानले जथाभावी गोली चलाउँछ । माओवादसमेत छोड्न तयार उनीहरुको वैचारिक पतन कुन स्तरमा स्खलित रहेछ भनिरहनुपर्दैन । प्रचण्ड र केपी ओलीबीच सैद्धान्तिक अन्तर केही रहेन । त्यसो त उनीहरु हिजो एउटै पार्टीमा थिए र कांग्रेससँग मोर्चाबन्दी गरेका थिए । रुखमा मतदान गर्ने, मतपत्र चपाएर पदमा पुग्नेहरुलाई अरुको आलोचनाको अर्थ हुँदैन । विप्लवलाई देखाएर गिरेको नैतिक धरातल सुधार गर्ने मनोकांक्षा पूरा नभएका कारण उनीहरु बौलाएका छन् । माओवादी केन्द्रको पछिल्लो कदमले पार्टी एकताको बहस र प्रयास नै अपरिपक्व थियो कि भन्ने प्रश्न उठेको छ ।
निश्कर्ष
नेपाल भूराजनीतिक शक्ति संघर्षको दबाबमा परेको छ । तसर्थ देशभित्र कम्युनिष्ट र देशभक्त शक्तिबीच र अन्तर्राष्ट्रिय स्तरमा अमेरिकाविरोधी शक्तिसँग सहकार्य गर्नुपर्छ । उत्तर र दक्षिणसँग ‘कार्ड कूटनीति’ होइन, विश्वासको वातावरण, खुला राजनीतिक छलफल र राष्ट्रिय सहमति कायम गर्नुपर्दछ । भारत चीनको सुरक्षा चासोमा नेपालले खेलवाड गर्नु विनाश निम्त्याउनु हुन्छ । युक्रेनबाट पाठ सिक्नुपर्छ । अर्कोतिर छिमेकीको सीमा अतिक्रमण र हस्तक्षेपविरुद्ध लड्नुपर्छ । पार्टीहरुको बीचमा बहस भए पनि सहमति कायम गर्ने इमान्दार बहस भयो भने एकदिन सार्थकता पाउन सक्दछ ।