विदेशबाट फर्केर उद्यमी बनेकालाई पुरस्कार

विदेशबाट फर्केर उद्यमी बनेकालाई पुरस्कार

वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यमी बनेकालाई सरकारले सम्मान गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्यस्ता व्यक्तिहरुलाई राष्ट्रिय सम्मान तथा पुरस्कार दिन लागेको हो । 

त्यसका निम्ति मन्त्रालयले आवेदन मागेको छ । वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान पुर्याइरहेका उद्यमीले आवेदन दिन सक्नेछन् । 

‘विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, २०७६’ बमोजिम आवेदन दिनुपर्ने जनाइएको छ । आवेदकको न्यूनतम योग्यता श्रम भिसामा विदेश गई कम्तीमा एक वर्ष काम गरी फर्किएको र स्वदेशमा व्यवसाय सञ्चालन गरेको एक वर्ष पूरा भएको हुनुपर्ने भनिएको छ । 

त्यस्तै, पछिल्लो पाँच वर्षमा मन्त्रालयबाट सम्मान र पुरस्कार नपाएको हुनुपर्ने शर्त पनि तोकिएको छ । मन्त्रालयको सूचना प्रविधि तथा तथ्याङ्क शाखामा आवेदन पेश गर्न सकिने उल्लेख छ ।
 

टिप्पणीहरू