म राष्ट्रपति बन्न गएको भए हुने रहेछ
साढे चार दशक कांग्रेसको राजनीतिमा रहँदा महन्थ ठाकुर पटक–पटक सांसद, मन्त्री हुँदै उपसभामुखसम्म भए । ०१६ सालदेखि नेविसंघबाट राजनीतिक यात्रा प्रारम्भ गरेका ठाकुर ०४८ र ०५१ सालमा सांसद निर्वाचित भए । गिरिजाप्रसाद कोइरालाको विश्वासपात्र उनी कृषिमन्त्री, कानुनमन्त्री, विज्ञान तथा प्रविधिमन्त्री मात्र होइन, उपसभामुखसम्म बने । मन्त्रीसहित पार्टी कोषाध्यक्षको जिम्मेवारीमा रहँदारहँदै ०६४ सालमा मधेशकेन्द्रित राजनीतितिर लागेको पनि दुई दशक पुग्नै लाग्यो । तर, यो बीचमा पुराना सारथिहरू राजेन्द्र महतो, हृदयेश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ला, वृषेशचन्द्र लाल, डा. विजयकुमार सिंह, रामचन्द्र कुशवाहा, अनिश अन्सारी, जयप्रकाश गुप्ता कोही पनि उनीसँग टिकेनन् न त रह्यो हिजो आफैंले जन्माएको तमलोपा । कांग्रेस छाडेर बनाएको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) को प्रभाव कमजोर भएपछि राष्ट्रिय जनता पार्टी (राजपा) बनाएर त्यसको संयोजक भए केही समय । त्यहाँ पनि जम्न सकेनन् र कम्युनिष्ट स्कुलिङबाट उदाएका उपेन्द्र यादवसँग एकता गरेर जनता समाजवादी पार्टी (जसपा) बनाए । त्यो साथ पनि वर्ष दिनभन्दा टिकेन । सन्त, त्यागी, बेदाग उपनाम जोडिने महन्थले सम्धी उमाकान्त झालाई मन्त्री, सम्धिनी इन्द्री झालाई सांसद र छोरीलाई उत्तराधिकारी बनाउँदाको परिणामस्वरुप महन्थको राजनीतिक यात्रा टाकुराबाट खसेर भीरमा अड्किरहेको टिप्पणी गर्छन् पूर्व सहकर्मीहरू ।
– हरि गजुरेल
० गत हप्ता कुन विषयमा भेट्नुभएको थियो प्रधानमन्त्रीलाई ?
– मधेशको राजनीतिक अवस्था कस्तो छ ? निर्वाचनमा भाग लिनुहुन्छ कि लिनुहुन्न ? भनेर सोध्नुभयो । आफू समय समयमा मधेश झरिरहेको र वर्तमान संकटको एउटै निकास निर्वाचन भएको जवाफ दिएँ । यस्तै, तराईको विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्ने महत्वपूर्ण परियोजनालाई गति दिन आग्रह पनि राखें ।
० २१ फागुनमा निर्वाचन होला त ?
– बोर्डर इलाका सुरक्षाको हिसाबले बढी संवेदनशील क्षेत्र हुन् । भदौ २३ र २४ को जेनजी विद्रोहपछि देशभर सुरक्षा चिन्ता बढेको छ । त्यसबेला अन्यत्रझैँ तराई मधेशका नेताहरूको घर पनि तोडफोड भए, सरकारी कार्यालयदेखि सवारी साधनहरूमा आगजनी गरिए । घोषित मितिमा निर्वाचनमा जान प्रायः सबै दल तयार छन् भन्ने त दल दर्ताको सक्रियताबाटै थाहा हुन्छ । लुटिएका हजारौं अत्याधुनिक हतियार, ४८ सयभन्दा बढी फरार कैदीहरू । यसर्थ दलहरू बिना डर मतदाताकहाँ पुग्न सक्ने स्थिति देखिरहेका छैनौं ।
निर्वाचन सत्ता परिवर्तनसँग जोडिन्छ । सबैको प्रश्न छ, यस्तो अवस्थामा चुनाव हुन्छ त ? प्रतिनिधिसभा विघटनविरुद्ध ठूला दल सर्वाेच्च अदालत पुगेका छन् । नजिर हेर्ने हो भने सर्वाेच्चले पटक पटक संसद विघटनलाई बदर गरेको छ । वर्तमान सरकारका अधिकांश निर्णयमाथि अदालतले प्रश्न उठाइरहेकै छ । संसद विघटन असंवैधानिक हो तर चुनावका लागिमात्र हामीले यो सरकारलाई मानेका हौं ।
० फागुन २१ पछि चाहिँ के होला त ?
– जेनजीहरू टुक्राटुक्रा छन् । उनीहरूको धेरै ग्रुप छ तर पार्टी छैन । पुराना दलसँग कार्यकर्ता छन् । ती दललाई निषेध लगाए पनि पार्टी पंक्ति र कार्यकर्ताले काम गरिरहेका छन् । अहिलेकै संविधानअनुसार जाने हो भने कसैको स्पष्ट बहुमत आउँदैन । वर्तमान संविधान नै राजनीतिक अस्थिरताको कारक हो भन्ने त प्रष्टै छ ।
० मधेश आन्दोलनताकाको तपाइँको धार किन भुत्ते हुँदै गयो ?
– मधेशमा दर्जनौं पार्टी जन्मिएका छन् तर पनि हाम्रो जनमत हिजोको भन्दा घटेको छैन ।
० हिजो जन्माउनुभएको तमलोपा आज तपाइँसँग छैन । राजेन्द्र महतो, हृदयेश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ला, वृषेशचन्द्र लाल, डा. विजयकुमार सिंह, रामचन्द्र कुशवाहा, अनिश अन्सारी, जयप्रकाश गुप्ता पनि छिन्नभिन्न हुने स्थिति किन आयो ?
– प्रजातन्त्रमा कुनै पद स्थायी हुँदैन । हाम्रोमा एक पटक अध्यक्ष भएपछि आजीवन त्यही पद चाहिन्छ । त्यस कारण टुट्छन्, फुट्छन् । साथीहरू जो जहाँ पुगे पनि मधेशका मुद्दा कसैले छोडेका छैनन् । काम गर्ने तौरतरिका केही फरक छन् ।
० कांग्रेस छाडेयता दुई दशकको राजनीतिक जीवन अत्यन्त अस्थिर रह्यो । तमलोपा, राजपा, जसपा हुँदै अहिले लोसपामा हुनुहुन्छ । पार्टी परिवर्तन भइरहँदा खुशी लाग्छ ?
– जहाँ रहे पनि सक्रिय राजनीति छाडेको छैन ।
० अवसरजति सम्धी, सम्धीना, छोरीहरूलाई दिनुभयो । लोसपालाई त पारिवारिक क्लब नै बनाउनुभयो भन्ने आरोप छ । यसबारे के भन्नुहुन्छ ?
– हामी जेलमा हुँदा हाम्रो राजनीतिक यात्रा सफल पार्न परिवारका सदस्यहरूको कुनै योगदान र त्याग छैन ? कतिको जग्गा जमिन सकियो । योग्यता र क्षमताअनुसार केही जिम्मेवारी दिँदा नातावाद, कृपावादको आरोप किन लगाइन्छ ? हिजो शैलजालाई मन्त्री पद दिँदा उसैगरी हिलो छ्यापिएको थियो । राजनीतिमा उनको त्याग किन हेरिएन ?
० लोसपाको महाधिवेशन वैशाख, साउन हुँदै चैत्रमा पु¥याइएको छ । चैतमा महाधिवेशन हुन्छ कि फेरि सार्नुहुन्छ ?
– ०८२ चैत्र ६–७ गते महाधिवेशन गर्ने निर्णय पहिले नै थियो तर निर्वाचनको मिति घोषणा भैदियो । साउन मसान्तभित्र महाधिवेशन गर्ने तयारी थियो तर प्राविधिक तथा नीतिगत तयारी नपुग्दा, केही स्थानीय, जिल्ला तथा प्रदेशहरूको अधिवेशन बाँकी रहेका कारण महाधिवेशन सरेको हो । पार्टी गठनको चार वर्ष पूरा भइसक्यो । पाँच वर्षभित्र महाधिवेशन गर्ने विधानमा उल्लेख छ ।
० सातमध्ये एउटा मधेश प्रदेशमा मात्रै तपाइँहरूको सरकार बन्छ र पनि अत्यन्त अस्थिर रहन्छ । किन होला ?
– अन्तरिम संविधानलाई छोड्नु हुँदैन थियो । हामीले संविधान संशोधनको मुद्दा बोकेर हिँड्दा मधेशमा धेरै क्षति भयो । आन्दोलनमा होमिएका साथीहरूले जन्मकैदको सजायँ पाएर कष्ट भोगिरहेका छन् । जबकि अन्य आन्दोलनमा लागेकाहरूलाई कहिल्यै जन्मकैद सुनाइएको छैन । कानुनको परिवन्दमा परेपछि कानुनले नै काट्ने हो । हाम्रा प्रदेश सांसद, जलेश्वरका मेयर रामशंकर मिश्र, जलेश्वर अस्पतालका अध्यक्ष, ग्रामीण नेता गरी चार जनालाई जन्मकैदको सजायँ सुनाइएको छ । १७ गतेलाई पेशी तोकिएको छ ।
० कांग्रेसले के दिएको थिएन र पार्टी त्याग्नुभएको ?
– झापा महाधिवेशनमा गिरिजा कोइरालासँग पटक पटक मधेशका भावनालाई समेटौं भनेको हुँ किनकि मधेशको जनसंख्याका आधारमा प्रतिनिधित्व भएन । रोजगारी तथा नियुक्तिमा पकड भएन । सेना, प्रहरीमा समेत मधेशीहरूका लागि कोटा छुट्टाइएन । विगतदेखि नै जाति, धर्म, भाषा, संस्कृति, श्रमका आधारमा विभेद हुँदै आए । मधेशी जनताको चाह मधेशलाई केन्द्रमा राखेर राजनीति गर्नुहोस् भन्ने रह्यो र मधेशी राजनीतिमा लागेका हुँ । संघीय व्यवस्था ल्याएर त्यो विभेद अन्त्य गर्ने भनियो । संविधानमा लेखियो पनि तर पूर्ण कार्यान्वयन अझै हुन सकेको छैन ।
० मधेशी दलहरु मुद्दामा होइन, सत्तामा रमाएको स्वीकार्नुहुन्छ ?
– राजनीति गर्नुको उद्देश्य नै सत्तामा गएर जनताको सेवा गर्ने हो । यो कुनै एनजिओ चलाएको त होइन नि ! मधेशीहरू राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री बन्नै हुँदैन ? कांग्रेस, एमाले, माओवादीमाथि किन लाग्दैन सत्तालिप्सा भएको आरोप ? मधेशकेन्द्रित दलका एक–दुई जना मन्त्री बन्छन् । तिनैमाथि सत्ताकेन्द्रित राजनीति गरेको आरोप लाग्छ । जति पनि ठुल्ठूला काण्ड छन्, तिनमा ठूला दलका नेता नै संलग्न छन् तैपनि हामीलाई भनिन्छ– मधेशी दलहरू सत्तामुखी भएर बिग्रिए ।
० जेनजी विद्रोहपछि मधेशी दललाई ध्रुवीकृत गर्ने कुनै गृहकार्य भएको छ कि छैन ?
– आठ दलीय मोर्चा बनाएका छौं । ‘घर फर्क’ अभियान पनि छ । छुटेर गएका कतिपयसँग एकीकरणको वार्ता भइरहेको छ । चुनावी तालमेल गर्ने कुरा पनि छ ।
० खासमा मधेशको खास मसिहा को हो ?
– मसिहा हाम्रो शब्द होइन, यहुदी शब्द हो । इशा मसिह भन्छन् । मधेशको काम गर्ने सबै मधेशका दूत हुन् ।
० तपाइँले छाडेको २० वर्षको अन्तरालमा कस्तो देख्नुभयो कांग्रेस पार्टी ?
– जब–जब कांग्रेस कमजोर भएको छ तबतब यहाँको लोकतन्त्र कमजोर भएको छ । हिजो छातीमा राजा बोकेर हिँड्यो । अहिले राजाको जरुर छैन । सबै नेताको घर जल्यो । निर्मल निवासमा केही भएन ।
० यहाँले समयमा निर्णय नगर्दा राष्ट्रपति हुने अवसर गुमाउनुपरेकोमा कत्तिको पछुतो लाग्छ ?
– त्यसबेला त्यस्तै भैदियो । राष्ट्रपति बनाउनमा गिरिजाबाबुले बोलाउनुभएको पनि हो । भर्खरै पार्टी खोलेको थिएँ । म गएको भए पार्टी समाप्त हुन्थ्यो भनेर गइनँ । जानेर बुझेर नै नगएको हो । अहिले लाग्छ, गएको भए पनि हुने रहेछ । राष्ट्रपति भएर पछि पनि त सक्रिय राजनीतिमा आउन सकिने रहेछ ।
० मधेशको मुद्दा सम्बोधनको मामलामा प्रचण्ड, ओली, देउवालाई कस्तो पाउनुहुन्छ ?
– मधेशमाथि विभेद भइरहेको सबैले स्वीकार गर्दछन् तर माग कसैले संबोधन गर्दैनन् । विपी कोइरालाले पहाडको भन्दा बढी राष्ट्रियता मधेशका नागरिकमा छ भन्नुभएको थियो ।
टिप्पणीहरू