प्रधानमन्त्रीको हप्की खाएका सागर ढकालले भने ‘म प्रधानमन्त्रीसँग चुनाव भिड्छु’

प्रधानमन्त्रीको हप्की खाएका सागर ढकालले भने ‘म प्रधानमन्त्रीसँग चुनाव भिड्छु’

झण्डै पाँच वर्षअघि प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिभिजन कार्यक्रममा प्रश्न सोधेर चर्चामा आएका सागर ढकालले आगामी निर्वाचनमा आफूले उहाँसँगै चुनाव भिड्ने बताएका छन् ।

बीबीसीको साझा सवाल कार्यक्रममा प्रधानमन्त्री देउवालाई निकै चर्को प्रश्न गरेपछि सञ्चार माध्यममा चर्चामा आएका गुल्मीका युवा ढकालले प्रधानमन्त्रीसँगै डडेलधुराबाट चुनाव लड्ने बताएका हुन् । संयोगले अहिले पनि मुलुकको प्रधानमन्त्री देउवा नै हुनुहुन्छ ।

उनले त्यतिबेला प्रधानमन्त्री देउवालाई, ‘ली क्वानलाई सिंगापुरको जिम्मेवारी दिँदा ढुंगालाई उनले हीरा बनाए । तर, तपाईंलाई नेपाल दिँदा हिरा दिइएको थियो, तपाईंले ढुंगा बनाउनुभयो । यस्तोमा कसलाई कारबाही गर्ने ?’ भनेर सोधेका थिए।

जवाफमा प्रधानमन्त्री देउवाले, ‘तपाईं बढ्ता बोल्दै हुनुहुन्छ, नेपालमा जुन विश्वविद्यालय छ, त्यहिँ पढ्ने हो नि । यहाँ मैले अक्स्फोर्ड विश्वविद्यालय कताबाट ल्याउने ?’ मलाई जनताले चुन्या होइन ? म प्रधानमन्त्री नभए को बन्ने, तपाईं बन्ने ?,’ भनी जवाफ फर्काउनुभएको थियो । त्यतिबेला प्रधानमन्त्रीको आक्रोशपूर्ण उक्त जवाफ सामाजिक सञ्जालमा ट्रोल बनेको थियो ।

इन्जिनियरिङ पढ्दै गरेका ढकाललाई प्रधानमन्त्री देउवाको जवाफले रातारात चर्चित बनाइदियो । धेरै सञ्चारमाध्यमले उनलाई पछ्याए ।

अहिले उनै युवाले आगामी संघीय निर्वाचनमा प्रधानमन्त्रीको गृहजिल्लाबाट उम्मेदवारी दिने बताएका हुन् । ढकालले पुलचोक इन्जिनियरिङ कलेजबाट स्नातक र विश्वकै प्रख्यात अक्स्फोर्ड विश्वविद्यालयबाट मास्टर्स गरेका छन् ।

टिप्पणीहरू