जेलभित्रै चारपाटा मुडेर भाटे कारबाही
-अञ्जनकुमार
२५ जनाको क्षमता भएको जिल्ला कारागार लमजुङमा क्षमताभन्दा चार दोब्बर बढी बन्दी छन् । रहेका मध्ये अधिकाँश जबरजस्ती करणीका आरोपी छन् । खचाखच कैदी बन्दीका कारण सुत्न पनि पालो कुर्नु पर्ने अवस्था छ ।
२०२८ सालमा पुरानो सदरमुकाम कुन्छाबाट बेसीशहरमा अड्डासारकै बेला निर्माण गरिएको कारागारको अवस्था निकै जीर्ण मात्रै बनेको छैन ०७२ को भूकम्पले गिजोलेपछि त झन कुन दिन पर्खालले किचेर कैदीबन्दी एकै चिहान हुने हो भन्नेमा त्राहिमाम छन् । १०८ कैदी बन्दीमध्ये सबैभन्दा कान्छा हुन् सुन्दरबजार नपाका १२ कक्षामा अध्ययनरत १९ बर्षे निर्मल कँडेल ।
सानै उमेरमा ट्याक्टर चालकसंग भागेर विवाह गरेकी युवतीसंग प्रेम परेपछिको शारीरिक सम्पर्क जकमा परिणत भएवापत पुर्पक्षमा रहेका उनलाई कारागार आन्तरिक प्रशासनले चारपाटा मुण्डन गरी भाटे कारबाही चलाएको खबर बाहिरिएको छ ।
त्यस्तै प्रकृतिमा कैद भुक्तानी गर्दै गरेका सुरज गन्धर्वको १५ सय नगद हराएपछि आरोप लाग्यो निर्मललाई । सुरज भाइ नाइके अशोक दवाडीलाई सो कुरा जाहेरी गरेपछि अनुसन्धानमा तानिएका थिए निर्मल । शुरूमा आफूले पैसा नचोरेको बताएपनि अशोक,बुद्धि गुरुङ र अमर गुरुङले कडेललाई लडाएर पैतालामा भाटा हानेपछि उनले आरोप स्वीकारेका थिए । त्यसलगत्तै कडेललाई विरुप हुने गरी चारपाटा मुण्डन गरिएको थियो । केश मुण्डन मात्रै गरिएन उनीहरूले धुलाई राम्रै गरे । जसका कारण कडेलको आँखा वरिपरि नीलो डाम, शरीरमा चोट र पैतालामा हानिएको भाटाका कारण उनी चल्मलाउन सक्ने अवस्थामा थिएनन् । तर काठमाण्डौबाट गएको हप्ता भाइ भेट्न जाँदा पो उनको त्यो हालत सार्वजनिक भएको थियो ।
घटना मध्य असारको बिहान ११ बजेतिर भएपनि कारागार प्रशासनले बेलुका ४ बजेतिर मात्रै चाल पाएर घटना गुपचुपमै राख्न खोजेका थिए । हायल कायल पारेर आरोप सकार्न लगाए पनि चोरेकै हो र हराएकै हो भन्ने कुनै प्रमाण भने छैन । कारागार सुरक्षामा खटिएका प्रहरीले पनि बाह्य सुरक्षा मात्रै आफ्नो जिम्मा भएकोले भित्र के भयो जान्ने कुरा नभएको बताउँछन् भने, प्रजिअ सुशील बैध्य यस्ता सामान्य कुरालाई हाउगुजी बनाउन नहुने भन्दै पन्छिएका छन् ।
फैसला भयो भने निर्मलमाथि लागेको आरोप पुष्टि नहुने र रिहा हुने उनका वकिल विजय अधिकारीको दाबी छ । तर यसरी कारागारभित्र बिना प्रमाण कुटपिट गर्ने लागू औषध कारोबारमा कैद भुक्तान गरिरहेका अमर गुरुङ, डाँकाचोरीका बुद्धि गुरुङ र कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गर्दै अशोक दवाडीमाथि थप अनुसन्धान गरी कारबाही हुनुपर्ने कडेलका विदेशमा रहेका बाउले दबाब सिर्जना गर्न भनेको कारागार सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले सुटुक्क बताएका छन् ।
टिप्पणीहरू