प्रचण्डको कटाक्ष गर्दै गोकुलको ट्वीट, ‘पाइजामा भेटबाट आरम्भ भ्रमणको क्लाइमेक्स कोल्याप्स’
नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पछिल्लो भारत भ्रमणप्रति कटाक्ष गर्नुभएको छ । उहाँले उत्तरी छिमेकीसँग लञ्च खाएको चिसो हात नसुक्दै प्रचण्ड राजनीतिक भिक्षा माग्न नयाँ दिल्ली पुगेको आरोप लगाउनुभएको हो ।
गत साता नेपालको चार दिने भ्रमणमा आएको चिनियाँ कम्युनिष्ट पार्टीको आधा दर्जन सदस्य सम्मिलित टोलीसँग एमाले अध्यक्ष केपी शर्मा ओलीले तेस्रो दिन आफ्नै निवास बालकोटमा भेट्नुभएको थियो ।
उहाँले बिहान साढे १० बजेदेखि दिउँसो १ बजेसम्मका निम्ति निर्धारित समय लम्ब्याएर ३ बजेसम्म चिनियाँहरुसँग कुराकानी गर्नुभयो । झण्डै डेढ घण्टा ओलीले प्रतिनिधिमण्डलका नेता तथा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखसँग ‘वान टु वान’ भेटवार्ता गर्नुभएको थियो ।
अघिल्लो दिन दिउँसो अध्यक्ष प्रचण्डले निवासमा उक्त टोलीसँग भेटवार्ता गर्नुभयो । प्रमुखसँग वहाँले पनि ४५ मीनेट ‘वान टु वान’ भेटवार्ता गर्नुभएको बताइन्छ । त्यसपछि गत सोमबार साँझ चिनियाँ पाहुनाहरुसँग माओवादी अध्यक्ष र नेताहरुले सोल्टी होटलमा रात्रिभोज अर्थात् डिनर खानुभयो ।
त्यहि सन्दर्भलाई जोडेर बाँस्कोटाले ट्वीटरमा लेख्नुभएको छ, ‘उत्तरी छिमेकीसँग डिनर खाएको चिसो हात पनि सुक्न नपाउँदै राजनीतिक भिक्षा माग्न दक्षिणी छिमेक पुगेका पूर्वप्रम पुष्पकमल दाहालले पाइजामा भेटबाट आरम्भ गरेको दौडको क्लाइमेक्स भेट बाटोमै कोल्याप्स भए पनि सफल रहेकोमा शंका रहेन । उनकै आग्रहमा भएको भ्रमणको तालिका गडबड हुनु खासमा अपमान होइन !,’
भारतको तीन दिने भ्रमण सम्पन्न गरी प्रचण्ड हिजो अपरान्ह स्वदेश फर्कनुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ताको समय नमिलेपछि प्रचण्ड त्यत्तिकै फर्कनुभएको हो । तर भारतीय विदेशमन्त्री,सुरक्षा सल्लाहकार र भारतीय जनता पार्टीका अध्यक्षसँग उहाँको भेट भएको थियो ।
उहाँले आफ्नो भारत भ्रमण सफल भएको बताए पनि बाँस्कोटाले असफल भएको अर्थ लगाउनुभएको छ । उहाँको ट्वीटमा विदेशमन्त्री एस जयशंकरलाई भेट्न जाँदा अध्यक्ष प्रचण्ड टाई सुटमा देखिए पनि जयशंकरले पाइजामा लगाएको विषयलाई पनि उल्लेख गरिएको हो ।
टिप्पणीहरू