केटी प्रयोग गरेर मान्छे फसाउने नक्कली इन्स्पेक्टर अन्ततः फन्दामा

केटी प्रयोग गरेर मान्छे फसाउने नक्कली इन्स्पेक्टर अन्ततः फन्दामा

सामाजिक सञ्जालको माध्यमबाट केटीको प्रयोग गरी पैसा असुल्ने नक्कली प्रहरी निरीक्षकसहित अन्य दुई जनालाई प्रहरीले समातेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले हनी ट्रयापमा संलग्न गिरोहलाई उपत्यकाको विभिन्न स्थानबाट हिजो पक्राउ गरेको हो । पक्राउ पर्नेमा कल्पना बस्नेत,उनको श्रीमान कृष्णहरी खड्का र प्रहरी निरीक्षक भनिने सन्जय कार्की रहेका छन् ।

उनीहरुले केटीको प्रयोग गरी पुरुषहरुलाई खाजा खाने बहानामा होटल बोलाएर झुठा मुद्दामा फसाइदिन्छु भन्दै पैसा असुल्ने गरेको प्रहरीले जनाएको छ । पीडितलाई डरधम्की देखाई ठूलो रकम माग्ने र नदिएको खण्डमा नक्कली प्रहरी निरीक्षक खडा गरी हैरानी दिने प्रहरीको भनाइ छ ।

प्रहरीकाअनुसार उनीहरुले पीडितको परिवार र आफन्तलाई सामाजिक सञ्जालमार्फत साथी बनाई प्रहरीमा निवेदन दिएको भन्दै नक्कली निरीक्षकको कुरा राखेको रेकर्ड पठाएर धम्काउने गर्दथे ।

गैरकानूनी धन्दा चलाउँदै आएको खबर प्राप्त भएपछि प्रहरीले खोजतलास शुरु गरेको थियो । हाल उनीहरुलाई अपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको छ ।

टिप्पणीहरू