एम्बुलेन्स चालकले डाक्टर कुटे, बिरामी अलपत्र
सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकास्थित नवलपुर प्राथमिक अस्पतालका चिकित्सकलाई पहिलेका एम्बुलेन्स चालकले कुटपिट गरेपछि सेवा बन्द भएको छ ।
चालकले डाक्टरलाई अस्पतालभित्रै हातपात गरेपछि हिजोदेखि अनिश्चितकालको निम्ति सेवा बन्द गरिएको हो ।
बिरामी जाँच्दै गरेका अस्पताल प्रमुख धर्मेन्द्र पाण्डेयलाई चालक चुनबहादुर रानामगरले गालीगलौज गर्दै हातपात गरेका हुन् ।
‘यसअघि करारमा कार्यरत चालक रानामगरले एक्कासी अस्पतालभित्र छिरेर गालीगलौज गर्दै हातपात गरे’, प्रमुख पाण्डेयले भने ।
उनकाअनुसार दोषी व्यक्तिलाई कारबाही गरी छानबिन नगरेसम्म अस्पतालको आकस्मिकबाहेक सम्पूर्ण सेवा बन्द रहनेछन् ।
हाल उनले रानामगरविरुद्ध इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन् । फरार रानामगरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू